ट्रक ठाेक्किएर अरुणखोलाकाे पुल भाँचियाेः राजमार्ग अवरुद्ध,पूर्व-पश्चिमबाट आएका सवारीलाई उतै फर्काइयाे


नवलपरासी, साउन २९ । ट्रक ठाेकिएर नवलपरासीको अरुणखोलाकाे पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिकाअन्तर्गत अरुणखोलामा आज बिहान ४ बजे ट्रक ठोक्किदा पुलमा क्षति पुगेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलको एक स्थानमा क्षति पुगेर करीब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरी निरीक्षक अधिकारीले बताएका छन् ।

ट्रकसमेत पुलको फलाममा अड्किएकाले  निकाल्ने काम भइरहेको जनाउदै प्रहरीले  ट्रक निकाले पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या हुने बताएकाे छ। बिहान पुलमा क्षति पुगेपछि अहिले  यात्रुवाहक बससमेत रोकिएका छन् ।

प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारेर पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालनका लागि भनिएको छ ।

बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा सवारी रोकिएर लाम लागेको छ । साना सवारीलाई भने एकतर्फी रूपमा सञ्चालन गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

बुध, साउन २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter