विदेशमन्त्री स्तरीय बैठक चलिरहेकाबेला बैंककमा शृङ्खलाबद्ध बम विस्फोट


एजेन्सी, साउन १७ ।
दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को विदेशमन्त्री स्तरीय बैठक चलिरहेकाबेला थाइल्यान्डको राजधानी बैंककमा आज बिहान शृङ्खलाबद्ध बम विस्फोट भएका छन । कम क्षमताका पछिल्ला विस्फोटमा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ समेत सहभागी रहेको आसियान बैठकमा सदस्य राष्ट्रका विदेश मन्त्रीहरु सहभागी रहेका छन् । हिंसात्मक राजनीतिक इतिहास रहेको थाइल्यान्डमा गएको मार्चमा सम्पन्न विवादास्पद आम निर्वाचनबाट त्यहाँको समाज विभाजित छ।

थाइल्यान्डका प्रधानमन्त्री प्रायुत चान ओचाले बम विस्फोटको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न आदेश दिनुभएको छ। प्रधानमन्त्रीकी प्रवक्ता नारुमोन पिन्योसिनवातले देशको सुरक्षा व्यवस्था कडा बनाइएको र सर्वसाधारणलाई नडराउन आग्रह गर्नु भएको छ ।

टेबल टेनिसको बल जत्रा साना विस्फोटक वस्तु राजधानीका विभिन्न स्थानमा एकै पल्ट विस्फोट भएका थिए। यी विस्फोटहरु धनजनको क्षति र्पुयाउन नभएर थाई सरकारविरुद्ध सांकेतिक विरोध गर्न गराइएको सरकारी अधिकारीले अनुमान छ ।

थाई सरकारले बम आक्रमण किन गराइएको हो जथाभावी अड्कल नकाट्न सबैसँग आग्रह गरेको छ । उपप्रधानमन्त्री प्रवित वोङसुवोनले पत्रकारहरुसँग बम विस्फोटमा संलग्नहरुबारे अझै जानकारी प्राप्त भइनसकेको बताउनु भयो ।

शुक्र, साउन १७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया