चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने अमेरिकाको घोषणा


एजेन्सी, साउन १७ ।
अमेरीकाले चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गर्नु भएको हो । चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गर्नु भएको हो ।

राष्ट्रपति ट्रम्पले चीनले तत्काल कुनै कदम नचाले १० प्रतिशत करवृद्धिलाई अझ बढाउने चेतावनी दिनुभयो । अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीच भइरहेको करिब ६६० अर्ब अमेरिकी डलर बराबरका आयात–निर्यातमा करवृद्धि भएको छ ।

यो निर्णयबाट दुवै देशबीचको सम्पूर्ण कारोबारमा अब करवृद्धि हुनेछ । यसअघि नै अमेरिकाले करिब २५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरिसकेको छ । राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुराकानी गर्दै १० प्रतिशतको करवृद्धि छोटो अवधिका लागि रहेको र यो बढ्ने वा घट्ने कुरा चीनमा निर्भर रहेको बताउनु भयो ।

विश्वसनीय सम्झौता नभए यसलाई २५ प्रतिशतसम्म बढाउने तयारी रहेको ट्रम्पले बताउनु भयो । चीन र अमेरिकाबीच यसै साता सांघाइमा प्रत्यक्ष व्यापार वार्ता पुनः सुरु भएको छ । अर्को चरणको वार्ता वासिङ्टनमा सेप्टेम्बरको पहिलो साता हुनेछ ।

शुक्र, साउन १७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया