गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो


७ साउन, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । भने २ जना अझैं बेपत्ता छन् ।

सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा ११ जनाको मृत्यु भएको हो । वडानम्बर ४ मा पर्ने लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ भने वडानम्बर ३ को ठूलो लुम्पेकमा ३ जनाको मृत्यु भएको छ ।

लिम्घामा मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको प्रहरीले जनाएको छ । अन्य २ जनाको शव निकाल्ने काम भइरहेको बताइएको छ ।

मृत्यु हुनेमा लिम्घाका एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीय शिवानी बिक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काका अनुसार वडानम्बर ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको छ ।

पहिरोमा परेका ८ वर्षीया तारा बिक र ६ वर्षीय सुमन बिकको शव भने निकाल्ने कार्य भईरहेको छ । ठूलो लुम्पेमै रुद्र बिकको घर पनि पहिरोले पुरेकोे छ । पहिरोमा परी ४० वर्षीया मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । अन्य २ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा सत्यवति ४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनि त्रामु रहेको प्रहरीले जानकारी दिएको छ ।

पहिरोका कारण ठूलो लुम्पेकको सिङ्गो गाउँ नै पहिरोको जोखिममा रहेको बताइएको छ । घरहरु जोखिममा रहेकाले स्थानीय विद्यालयमा बसिरहेका छन् ।

मङ्ल, साउन ७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार