कुलेखानीको बाँध तत्कालल नखोलिने !


काठमाडौं असार ३० ।
कुलेखानी जलविद्युत आयोजनाको सरोवरको बाँध तत्काल नखोलिने भएको छ । ईन्द्र सरोवरमा पानी अत्यधिक भएपछि बाँध खोलेर बाहिर निकाल्ने तयारी भए पनि पानी बढ्ने दर घटेकाले बाँध तत्काल नखोलिने भएको हो ।

नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम कार्यालय प्रमुख रामकुमार यादवले अहिले ड्याममा पानीको सतह खतराको तहभन्दा कम हुँदै गएकाले तत्काल बाँध खोलिहाल्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो । बाँधमा पानीको सतह १५ सय २७ घनमिटर पुग्यो भने खतरा मानिन्छ ।

तर, अहिले खतराभन्दा ७५ सेन्टीमिटर कम पानी रहेको बताइएको छ । यदि, पानीको बहाव बढेर खतराको सूचकमा पुगे बाँधका केही ढोका मात्र खोलिने समेत उहाँले जानकारी दिनुभयो । पानी पनि वाग्मती नदीमा गएर मिसिने हुँदा खासै प्रभाव नपर्ने बताइएको छ ।

तर, गएको शुक्रबारको जस्तो वर्षा भएको खन्डमा भने बाँधले नधान्ने बताउदै उहाँले यस्तो अवस्थामा सबै ढोका खोलिने बताउनुभयो । गृह मन्त्रालयअन्तर्गत्को राष्ट्रिय आपत्कालीन कार्यसन्चालन केन्द्रले भने बाँधमा अहिले पानी बढ्ने दर घटेकाले ‘टर्वाइन’बाटै नियन्त्रित निकास भइरहेको जनाएको छ ।

बाँध खोलेको अवस्थामा मकवानपुरका भीमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीका विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिक सचेत हुनुपर्छ । कुलेखानीको ड्याम्प खोल्दा तल्लो तटीय क्षेत्रमा खतरा हुनसक्ने भन्दै प्राधिकरणले सुरक्षित रहन आग्रह गरेको छ ।

सोम, असार ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया