विदेश जाने र फर्कने यात्रुले ल्याउन/लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक: यी वस्तुमा पूर्ण भन्सार छूट


३० असार, काठमाडौं । सरकारले २५ जेठ ०७३ को सूची विस्थापित गर्दै विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ ।

भन्सार ऐन २०६४ को प्रावधानअनुसार यस्तो सूची सार्वजनिक गर्ने प्रचलन रहेको  अर्थ मन्त्रालयले जनाएको छ । आगामी आवको बजेटले घोषणा गरेका केही प्रावधान भने १५ जेठबाटै कार्यान्वयनमा आइसकेको छ ।

लुगाफाटो, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान, ५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया, ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेनड्राइभ एक/एक थान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक-एक थान, पेशागत यात्रुले प्रयोग गरी ल्याएको एक/एक उपकरण/वस्तु, सात किलोसम्म खाद्य परिकार, मदिरा एक लिटरसम्म सामानमा भने  विदेशबाट नेपाल ल्याउदा पुर्ण भन्सार छूट हुने  छ ।

यस्तै, बजेटबाट सरकारले विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुन भन्सार महसुल तिरेर पास गराउन पाउने व्यवस्था गरेको छ । ५० ग्रामसम्म सुनको गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया भने पूर्ण भन्सार छुटमा ल्याउन पाइने अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

विदेशमा बसेका नेपाली यात्रुले दुई सय खिल्लीसम्म चुरोट भन्सार दरबन्दी बमोजिम लाग्ने महसुल तिरेर ल्याउन पाउने सुविधा दिइएको छ । त्योभन्दा बढी परिमाणको चुरोट ल्याएमा दोब्बर थप भन्सार लाग्ने मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय सेना प्रहरीबाट सेवा निवृत्त भई निवृत्तिभरण पाउने गरी स्वदेश फर्कँदा निवृत्त भएको कागजात पेश गर्दा एक पटकका लागि ५० हजारसम्मका निजी प्रयोगका सामानमा पूर्ण भन्सार छुट दिइएको छ ।

कुनै नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भए निज र निजको परिवारका पुराना सबै किसिमका सामान (सवारी साधनबाहेक) स्वदेश ल्याउँदा पूर्ण भन्सार छुट हुने भएको छ । विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएका सामान अन्य व्यक्तिका नाममा जम्मा वा नामसारी गरी छुटाउन भने नपाउने व्यवस्था गरिएको छ ।
नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट दिइएको छ।
सरकारले तोकेको परिणामभन्दा बढी सामान लुकाई छिपाई ल्याउन खोजेमा त्यस्तो सामान जफत हुने र कारवाही प्रक्रियामा जाने जानकारी अर्थ मन्त्रालयले गराएको छ ।

यस्तै , विमानको चालक दलका सदस्यले आफ्नो निजी प्रयोजनमा प्रयोग हुने सामान बाहेक कुनै पनि सामान ल्याउन नपाउने व्यवस्था सरकारले गरेको छ ।

सीमानामा ओहोर दोहोर गरिरहने व्यक्तिका लागि भने यी छुट र सहुलियतका कुनै पनि प्रावधान लागु नहुने मन्त्रालयले स्पष्ट पारेको छ । तर, भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीका लागि भने साथमा लगेको वा ल्याएको एक थान ल्यापटप वा कम्प्युटरमा भने महसुल नलाग्ने उल्लेख गरिएको छ ।

सोम, असार ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार