उद्धार र राहतको उचित व्यवस्था गर्न संसदीय समितिको निर्देशन


काठमाडौं असार २९ ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

अविरल वर्षाका कारण पीडित भएकाहरुको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले बताउनुभयो । बैठकले बाढी, पहिरो र डुबानबाट विस्थापित भएकाहरुको पुनर्बासको तत्काल व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ ।

त्यसैगरी वेपत्ता नागरिकहरुको खोजी तीब्र पार्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबानमा परी ज्यान जानेहरुको संख्या पेश गरेका थिए । गृहमन्त्री थापाले घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचारको व्यवस्था मिलाइएको पनि बताए ।

यसैबीच तीन दिनयता आएको लगातारको वर्षाका कारण आएको बाढी पहिरोका कारण मुलुकभर हालसम्म ६० जनाको मृत्यु भएको पुष्टी भएको छ । प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार २४ महिला र ३६ जना पुरुषको मृत्यु भएको हो ।

विभिन्न स्थानमा २६ जना बेपत्ता भएका छन् भने ३८ जना घाइते भएका छन् । १ हजार ४ सय ४४ जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । सेना, प्रहरी परिचालन गरेर विभिन्न स्थानमा उद्दार कार्य जारी राखेको सह प्रवक्ता रमेश थापाले बताउनुभयो ।

यस्तै अविरल वर्षासंगै आएको बाढी पहिरोका कारण विभिन्न खालका स्वास्थ्य संक्रमण हुन सक्ने भन्दै चिकित्सकले सर्वसाधारणलाई सावधानी अपनाउन सुझाव दिएका छन् । पानीजन्य रोगहरुको संक्रमण बढ्ने भएकाले यो बेला विशेष गरी शुद्द पानी पिउन चिकित्सकले सुझाव दिएका हुन् ।

आइत, असार २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter