६५ वर्ष पुगेकालाई ज्येष्ठ नागरिक तोक्न प्रतिपक्षीकोे माग


काठमाडौं असार २९ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दवाव दिन सुरु गरेको छ ।

आज संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै कांग्रेस सचेतक पुष्पा भुसालले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राख्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने अडान राख्नुभयो ।

उहाँले भौगोलिक कारणले पनि सरकारले ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई सेवा, सुविधा उपलब्ध गराउनुपर्ने तर्क पनि गर्नुभयो । सांसद भुसालले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा पनि असन्तुष्टि जनाउँदै ज्येष्ठ नागरिकको बर्गीकरण गर्न नहुने बताउनुभयो ।

सत्तारुढ नेकपाकी सांसद विनुकुमारी श्रेष्ठले पनि ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्ने काम नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । उहाँले ८० वर्ष पूरा भएका नागरिकलाई विशेष सुविधाको व्यवस्था गर्न हुने तर ज्येष्ठ नागरिकहरुमाथि नै विभेद हुने गरी अति ज्येष्ठ नागरिक भन्ने प्रावधान भने राख्न नहुने बताउनुभयो ।

सरकारले समितिमा पेश गरेको विधेयकमा ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई अति ज्येष्ठ नागरिकको मान्यता दिने प्रावधान राखिएको छ । त्यसप्रति सत्तारुढ नेकपाकै सांसद श्रेष्ठको असहमति छ ।

आइत, असार २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter