लगारताको वर्षाले मध्यपहाडी लोकमार्ग क्षतविक्षत, सडक खुलाउन अझै केही दिन लाग्ने


काठमाडौं, २९ असार ।
लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण अबरुद्ध भएका मुलुकका विभिन्न सडक खुलाउन अझै केही दिन लाग्ने भएको छ ।

सडक खुलाउने प्रयास भइरहेको भए पनि सबै सडक सुचारु गर्न अझै केही दिन लाग्ने सडक विभागले जनाएको हो ।

विभागले काठमाडौंबाट बल्खु हुँदै हेटौंडा जोड्ने सडक खुलाउन कम्तिमा चार दिन लाग्ने जनाएको छ । मकवानपुरको कुलेखानी सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेकाले पहिरो पन्छाउन समय लमग्ने जनाएको हो ।
यस्तै अवरुद्ध बीपी राजमार्ग खुलाउन पनि दुई दिन लाग्ने भएको छ । काभ्रेको रोशी गाउँपालिका–११ माम्तीमा र सिन्धुलीको सुनकोशी गाउँपालिका–१ कमेरेमा सडकमा लेदो माटो खसेर राजमार्ग अवरुद्ध बनेको छ ।

काभ्रे भिरमा चट्टान काटेर सडक बनाउनुपर्ने भएकाले अझै केही दिन लाग्न सक्ने विभागले जनाएको छ । त्यसैगरी मुस्ताङको थामाङ गाउँपालिका–४ घोप्टेभीरमा कालीगण्डकी नदीमा पानीको वहाव बढेर बेनी जोमसोङ जाने सडकखण्ड अवरुद्ध भएको छ ।

त्यस्तै अबरुद्ध भएको उदयपुरको घुर्मी–कटारी सडकखण्ड सञ्चालनमा आउन पनि केही दिन लाग्ने भएको छ । सिद्धिचरण राजमार्ग सञ्चालनमा आउन भने कम्तिमा ३ दिन लाग्ने विभागले जनाएको छ ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा पहिरो खसेर राजमार्ग अबरुद्ध बनेको हो । यस्तै हिजोदेखि अवरुद्ध सिद्वार्थ राजमार्ग खुलाउने प्रयास जारी छ ।

राजमार्गमा पहिरो जाँदा ठूला ढुंगा खसेकाले पन्छाउन समय लाग्दा सञ्चालनमा ल्याउन ढिलाइ भएको प्रहरीले जनाएको छ । सडक विभागले अत्यावश्यक अवस्थाबाहेक क्षति पुगेका वा संवेदनशील देखिएका सडक प्रयोग नगर्न आग्रह गरेको छ ।

यता, भारी वर्षाले बाग्लुङका विभिन्न स्थानमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गका अधिकांश खण्ड क्षतविक्षत बनेको छ । सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर खण्ड स्तरोन्नति गरिएको छैन ।

उक्त खण्डमा हिलाम्य छ भने अन्य कालोपत्रे गरिएको खण्डको दर्जनौं स्थानमा खसेको पहिरोले सडकमा दुर्घटनाको जोखिम बढेको छ ।

दुदिलाभाटीको झाँक्रीस्थान, काफलठुटा, मल्मको आँगखेत र छिस, रिघा फेदीका विभिन्न स्थान, ग्वालीचौर, भीमगिठेलगायतका स्थानमा पहिरो खसेको छ । बडिगाड क्षेत्रमा यो क्रम अझै बढी छ । बडिगाड खोलाले पक्की सडक पनि भासिएको छ । निरन्तर पानी परिरहेकाले खोला बढेर अझै भत्किने खतरा भएको स्थानीयले बताएका छन् ।

आइत, असार २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया