बाढी पहिरोमा परी हालसम्म ५० जनाको मृत्यु, सिन्धुलीमा बाढी र पहिरोमा हराएका तीन शव भेटिए


काठमाडौं, असार २९ ।
अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ५० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले साढे १२ बजे अपडेट गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २२ महिला र २८ पुरुषको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयकाअनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३३ जना बेपत्ता भएका छन्। अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १ मा १७, प्रदेश नं २ मा सात, प्रदेश ३ मा १२, प्रदेश ५ र ६ मा दुई­दुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ५० जनाको ज्यान गएको हो। उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन्।

यसैबीच अविरल वर्षासंगै आएको बाढी पहिरोका कारण विभिन्न खालका स्वास्थ्य संक्रमण हुन सक्ने भन्दै चिकित्सकले सर्वसाधारणलाई सावधानी अपनाउन सुझाव दिएका छन् । पानीजन्य रोगहरुको संक्रमण बढ्ने भएकाले यो बेला विशेष गरी शुद्द पानी पिउन चिकित्सकले सुझाव दिएका हुन् ।

राहत वितरण गर्दा वितरणकर्ताले राहत सामग्रीमा पानीलाई प्राथमिकतामा राख्नु पर्ने उनीहरुकोे सुझाव छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनका अनुसार झाडापखाला, ठाइफाइड, हेपाटाइटिस लगायतका सरुवा रोग फैलन सक्ने हुन्छ । यसका लागि सर्वसाधारणलाई शुद्द पानी पिउन उहाँको सुझाव छ ।

बेपत्ता भएका ३ जनाको शव भेटियो

सिन्धुलीमा बाढी र पहिरोले बगाउँदा बेपत्ता भएका ३ जनाको शव भेटिएको छ। चारजना अझै वेपत्ता छन्। पहिरोले घरसहित बगाउँदा शनिबार वेपत्ता भएका दुधौली नगरपालिका १२ स्थित जिनाखु बुढीटारीका हिराबहादुर पौडेलकी श्रीमती र छोरीको शव आइतबार भेटिएको प्रहरीले जनाएको छ।

शनिबार घरसहित पहिरोले बगाउँदा वेपत्ता भएकी पौडेलकी श्रीमती ३० वर्षीय सुनिता पौडेल र उनकी छोरी १० वर्षीया सविता पौडेलको शव दुधौली नगरपालिका ११ र १२ को सिमाना सिसेन र ठाकुरखोलाको दोभानमा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जनाए ।

श्रीमती र छोरीसँगै शनिबार वेपत्ता पौडलका छोरा सागर पौडल भने अझै वेपत्ता छन्। उनको खोजिकार्य जारी रहेको सिंहले बताए। उता आइतबार सिन्धुलीकै सुनकोसी गाउँपालिका र काभ्रेको रोसी गाउँपालिकाको सिमानामा अन्दाजी २५-३० वर्षका एक पुरुषको रोसीले बगाएर ल्याएको अवस्थामा शव भेटिएको छ। उनको पहिचान हुन नसकेको स्थानीय प्रगतीशिल माविका प्रधानाध्यापक चक्रबहादुर श्रेष्ठले जानकारी दिए।

यसैबीच शुक्रबार राति कमला नदीले घरसहित बगाउँदा वेपत्ता दुधौली नगरपालिका ४ बस्ने रेणु कापरी, उनका ७ वर्षीय छोरा आधिं कापरी, १ वर्षीय छोरा सार्गन कापरी र उनकी आमाजु ६० वर्षीया मरणी कापरी अझै फेला पर्न सकेका छैनन्। ‘उनीहरुको आइतबार बिहानैदेखि खोजतलास गरिरहेको भएपनि फेला पार्न सकिएको छैन,’ सिंहले भने।

आइत, असार २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter