टी ट्वान्टी सिरिजः नेपाल ७ विकेटले विजयी, पारसको अर्धशतक


काठमाडौं, २८ असार ।
टी ट्वान्टी सिरिज अन्तर्गत मलेसियाविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । आज बिहान क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

१२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेटायो । नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक बनाए । ५० बल सामना गरेका उनले ८ चौका र ५ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए । त्यस्तै शरद भेषाकरले १६, ज्ञानेन्द्र मल्लले ७, प्रदीप ऐरीले ८ र रोहित कुमार पौड्यालले ५ रन बनाए । बलिङतर्फ मलेसियाका अनुवर रहमानले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने गरेको मलेसियाले ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । मलेसियाका लागि भिरन्दीपले ५७ रन बनाए । ४९ बल सामना गरेका उनले ७ चौका र १ छक्का प्राहार गरेका थिए । यसैगरी कप्तान फाइजले ४५ रन योगदान गरे । बलिङतर्फ नेपालका करन केसीले तीन विकेट लिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

शनि, असार २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया