बाढीपहिरो र डुबानले ३० जनाको मृत्यु, १३३ जनाको सकुशल उद्धार: स्थानीय सरकारमार्फत राहत वितरण गर्ने निर्णय


असार २८, काठमाडौँ ।
अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ। स्थानीय प्रहरी कार्यालय र विपद व्यवस्थापन महाशाखाबाट परिचालित टोलीले संयुक्त उद्धार गरेको थियो। बाढीपहिरोबाट धनमाल समेत क्षति भएको छ।
मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १र१ जना गरी १२ जना घाइते भएका हुन्।

सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १र१ जना गरी १८ जना बेपत्ता भएका छन्।

दिउँसो २ बजेसम्म बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाण्डौ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि २७,३८० प्रहरी कर्मचारीहरु परिचालित छन।

विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ। यसै गरि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल समेत अवरोध हटाई हिजो साँझ ७ बजे बाट सुचारु गरिएको त्रि.अ विमानस्थल सुरक्षा गार्ड प्रहरीले जनाएको छ।

स्थानीय सरकारमार्फत राहत वितरण गर्ने सरकारको निर्णय

सरकारले अबिरल बर्षासँगै आएको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकारमार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ । शनिबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकले प्रदेश सरकारसँग समन्वयन गरी जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहबाटै सम्पूर्ण राहत वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन संघको सहयोग र प्रदेश सरकारको समन्वय रहने गरी स्थानीय सरकारबाटै राहत वितरण गर्ने निर्णय गरेको गृहसचिव प्रेम कुमार राईले जानकारी दिए ।

बैठकले बर्षा नरोकिए अझै क्षति पुग्न सक्नेतर्फ आवश्यक सजगता अपनाउन पनि आग्रह गरेको छ ।

बाढी र पहिरोका कारण सबै भन्दा बढी क्षतिग्रस्त प्रदेश नम्बर १ र २ मा उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृहसचिव राईले जानकारी दिए । जनकपुरमा डुबानमा परेकालाई उद्धार गर्न गएको हेलिकोप्टर भने मौसम प्रतिकुल भएका कारण इटहरीतर्फ फर्किएको उनले बताए ।

बर्षासँगै आएको बाढी तथा पहिरोका कारण अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ । बाढीका कारण ४ सय ३५ परिवारका १५ सय जना विस्थापित भएका छन् ।

बाढीले पूर्वपश्चिम राजमार्गको महोत्तरीको पुल बगाउँदा यातायात पुर्ण रुपमा प्रभावित भएको छ । त्यसैगरी ओखलढुङ्गा, खोटाङ्ग, भोजपुर, तेह्थुम, म्याग्दी, बेनी, जोमसोङ्ग, मनाङ्ग लगायतका ठाउँमा बाटो अवरुद्ध भएको छ ।

यस्तै रौतहटका कतिपय स्थानमा एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क विच्छेद भएको छ ।

शनि, असार २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter