धर्मको र गुठीको नाममा निजी स्वार्थ साँध्नु गलतः मन्त्री पण्डित, आदिवासी जनजाति युवाले देखाए कालो झण्डा


असार २७, काठमाडौँ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान र प्रचलित ऐन कानुनअनुसार लोक सेवा आयोगको विज्ञापन ठीक भएको बताउनु भएको छ ।

सरकारमातहत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औं संचालक परिषद् बैठकको आज उद्घाटन गर्दै लोक सेवा आयोगको विज्ञापन संविधान र कानुनसम्मत रहेको बताउनु भएको हो।

संघीय निजामति ऐन संसदमा विचाराधिन रहेको अवस्थामा आयोगको विज्ञापन ठीक रहेको उहाँको भनाई थियो । आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, अपांगता भएका सबैले आवेदन दिएको स्मरण गराउदैँ मन्त्री पण्डितले त्यसैअनुसार सर्वोच्च अदालतले आदेश गरिसकेको बताउनु भयो ।

साथै उहाँले कुनै धार्मिक, सांस्कृतिक आस्थालाई कमजोर पार्न गुठी विधेयक अघि नबढाएको पनि बताउनु भयो ।
धर्मको र गुठीको नाममा निजी स्वार्थ साँध्नु गलत भएको उहाँले बताउनु भयो ।

प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले संघीय संरचनामा सरकारले प्रतिष्ठानको दायरा साँघुरो बनाएपछि सूचिकृत आदिवासी जनजाति अन्यायमा परेको बताउनु भयो ।

कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले दुई तिहाई सरकारले जनताको नारी छाम्ने नभई समृद्धिको आधार दिनुपर्ने बताउनु भयो ।
यस्तै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले सरकारले अल्पसंख्यक, जनजाति, मधेसी, महिला, मुस्लिम, दलित, अपांगता भएका समुदायलाई विभेदमा पारेकोले आन्दोलनको घोषणा गरेको बताउनु भयो ।

नेकपाका सांसद शेबहादुर तामाङले वर्तमान सरकारले गरेको गल्तीलाई पार्टीले व्यहोर्न नसक्ने बताउनुभयो ।
सिंहदरबारले गरेको गल्ती धुम्बाराही र पेरिसडाँडाले काँध हाल्न जरुरी नभएको उहाँको भनाई थियो ।

परिषद् बैठकमा सूचिकृत ५९ आदिवासी जातिका ८३ सदस्यीय प्रतिनिधि सहभागी छन्। परिषद्ले वार्षिक कार्यक्रममा समीक्षा, नयाँ कार्यक्रम निर्माण, विनियोजित बजेटको बाँडफाँड गर्नेछ। बैठकले संयुक्त राष्ट्रसंघले निर्माण गरेको आदिवासी अधिकारसम्बन्धी ‘स्वतन्त्र, अग्रीम जानकारीसहितको मञ्जुरी’ (फ्री प्रायर इन्फर्मड् कन्सर्नरएफपिक) कार्यान्वयनका निम्ति सरकारको ध्यानाकर्षण गराउने जनाइएको छ।

जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण हलमा आयोजित समारोहमा मन्त्री पण्डितले आफ्ना विचार व्यक्त गरेलगत्तै आदिवासी जनजाति युवा, विद्यार्थीहरूले नाराबाजी गर्दै कालो झण्डा देखाएका थिए। उनीहरूले सभाहल भित्र र बाहिर ‘असमावेशी लोकसेवा विज्ञापन खारेज गर’, ‘आरक्षण विरोधी मन्त्री राजीनामा दे’ जस्ता नारा लगाएका थिए ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter