वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यस्ताे छ ताजा अवस्था


काठमाडाैं, २७ असार ।

लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध बनेका छन् । पूर्वपश्चिम राजमार्गको चन्द्रपुर बागमती खण्डको लच्कामा बाढी आएकाले बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ। चन्द्रनिगाहपुरदेखि तीन किलोमिटर पश्चिम लच्कामा बाढी आएर राजमार्ग अवरुद्ध हुदा करीव ५ सय सवारी साधन रोकिएका छन्।

रातिबाट नै सवारी साधन आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी कवित कटवालले बताए। राजमार्गको लच्कामा पानीको बहाव घटेको छैन। केही सवारी साधन बाढीमा पसेका थिए। प्रहरीले ती गाडीलाई निकालेका छन्।

उता, बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका ११ स्थित पिप्ले नजिक पहिरोका कारण बाटो बन्द भएको राष्ट्रिय आपतकालिन परिचालन केन्द्रले जनाएको छ ।

यस्तै बुटवलबाट पाल्पा जाने बाटो, लमजुङबाट मनाङ जाने र भोजपुरबाट धरान जाने बाटो पनि बन्द भएको केन्द्रले जनाएको छ । बाढीका कारण सडक अवरुद्ध भएपछि उदयपुरको घुर्मी बजारमा यात्रुहरु दुई दिनदेखि अलपत्र परेका छन् । मानेभन्ज्याङ गाउँपालिका ६ मा पर्ने भाडारे खोलाको बाढीले सयौं सवारी रोकिएका छन् ।

त्यसैगरी उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीको कारण काठमाडौं तर्फ आउने सवारी सबै घुर्मी बजारमै रोकिएका छन् । दुईदिन सम्म बाटोमा अवरुद्ध हुँदा खर्च सकिँदै गएपछि यात्रुहरु विचल्लीमा परेका हुन् । बाटो खोल्नका लागि स्काभेटर ल्याउन अनुरोध गरेपनि कुनै निकायले नसुनेको गुनासो यात्रुहरुको छ ।

उता रुपन्देहीस्थित पाल्पा बुटबल सडकखण्ड अन्तर्गतको सिद्धबाबामा पहिरो खसेपछि बिहानैदेखि आवागमन ठप्प छ । सिद्धबाबाको हेडबक्स नजिकै पहिरो खसेर अवरुद्ध सडक गएराती ८ बजेदेखि खुलाईएपनि पुनः बिहान ६ बजे अर्को पहिरो गएपछि सडक अवरुद्ध भएको दोभान प्रहरीले जनाएको छ ।

लगातारको बर्षापछिको पहिरोका कारण सडक अवरुद्ध हुँदा सोही बाटो हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, कास्की लगायत स्थानमा जाने यात्रुहरु मर्कामा परेका छन् । पानी रोकिएपछि पहिरो हटाउने सडक डिभिजन कार्यालयले जनाएको छ ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter