सांसदहरुको भिडियो प्रोफाइल तयार, ल्यापटपका बारेमा गलत प्रचार भयोः महरा


काठमाडौ असार १६ ।
संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाइल तयार पारिएको छ । संघीय संसदका सदस्यहरुको भिडियो प्रोफाइल आज सार्वजनिक भएको हो ।

६१ औ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरिएको हो ।

समारोहमा सभामुख कृष्णबहादुर महराले सरकारको सबै प्रणालीलाई पेपर लेस गरी डिजिटलाइज्ड बनाउने अभियान अन्तर्गत नै सांसदहरुको भिडियो प्रोफाइल तयार पारिएको बताउनुभयो । उहाँले सांसदहरुलाई सचिवालयले उपलब्ध गराउन लागेको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजिएको गुनासो गर्नुभयो ।

उहाँले मन्त्रीपरिषद् बैठकमा पेपर लेस गरी ल्यापटप प्रयोग गरिएजस्तै सांसदहरुलाई पनि संसदीय गतिविधिमा प्रयोग गर्ने गरी ल्यापटप दिन लागिएको स्पष्ट पार्नुभयो । यस्तै उपसभामुख शिबमाया तुम्बाहाङफेले संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल बनेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

उहाँले इतिहास लेख्ने र इतिहास खोज्ने सबैका लागि महत्वपुर्ण दस्तावेजको रुपमा भिडियो प्रोफाइल रहेको बताउनुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नागरिकको आस्थाको केन्द्र संसद बाहेक अर्को होइन भन्ने प्रमाणित गर्न सक्नुपर्ने बताउनुभयो ।

सोम, असार १६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया