प्रधानमन्त्री ओलीको प्रश्न–‘साग बेच्नेले त कर तिर्न सक्छ भने वायुसेवा निगमले किन सक्दैन ?’


काठमाडौ, असार १६ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक व्यावस्थापनका कारण नै नेपाल वायुसेवा निगम घाटामा गएकोले यथास्थितिमा सरकारले निगमलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ पनि दिन नसक्ने बताउनु भएको छ ।

नेपाल एयरलाइन्सको ६१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले व्यवस्थापन सुधार नभएसम्म सरकारले एक रुपैयाँ पनि नदिने प्रष्ट पार्नुभयो । पैसा कमाउने ठोस योजना ल्याउन निगम नेतृत्वलाई आग्रह गर्दै उहाँले यथास्थितिमा पैसा नदिइने प्रष्ट पार्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘साग बेच्नेले त कर तिर्न सक्छ भने वायुसेवा निगमले किन सक्दैन ?’
३७ अर्ब घाटामा रहेको वायुसेवा निगमले कर्मचारी सञ्चय कोष लगायतसँग लिएको ऋणको किस्ता तिर्न सकेको छैन । उसले सरकारसँग पैसा माग गर्दै आएको छ ।

प्रधानमन्त्री ओलीले अहिले ३७ अर्ब सरकारले दिए अर्को वर्ष पनि दिनुपर्ने औल्याउदै व्यवस्थापन, सञ्चालन उपयुक्त ढंगले गर्न सुझाव दिनुभयो ।प्रधानमन्त्री ओलीले व्यवस्थापनले स्पष्ट कार्ययोजना सरकारलाई पेश गर्नु पर्ने र त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले निगमको व्यवस्थापन तत्काल सुधार गर्नु पर्ने बताउनुभएको छ ।

आकासमा उड्नु पर्ने निगमका जहाज सधैं विमानस्थलमा देखिनुले पनि निगमको व्यवस्थापन पक्ष कस्तो छ भनेर अनुमान गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।जहाज चढ्ने, चढाउने सबै फाइदामा रहेको, तर बोक्ने जहाज मात्र घाटामा रहेको भन्दै उहाँले जहाजले नभएर आन्तरीक व्यावस्थापन र व्यावहारका कारण नोक्सान भएको बताउनु भयो ।

“एकपटक एयरर्पोटमा निगमका जहाज बग्रेल्ती देखेपछि मैले सोधें,नेपाल एयरलाइन्सका जहाज त धेरै रहेछन् नि ” केही समय अघिको प्रसंग स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “तर मैले जवाफ पाएँ कि यी जहाज नउडेर यहाँ देखिएका हुन् । उडेका भए सबै जहाज आकासमा हुन्थे । निगम पनि नाफामा जान्थ्यो । ”

निगमका निर्णयहरु हचुँवाका भरमा हुने गरेको प्रधानमन्त्रीले बताउनुभएको छ । “गन्तव्य कहाँ हो थाहा छैन वाइड बडी किनेको छ ,पाइलट छैन जहाज किनेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस प्रकारका निर्णयले निगम धरासायी हुदै गएको हो । ” प्रधानमन्त्री ओलीले जापानको नारिता विमानस्थल र युरोपियन देशहरुमा उडानको तयारी गर्न पनि व्यवस्थापनलाई निर्देशन दिनुभएको छ ।

 

सोम, असार १६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया