गुराँसको राजधानी, ढाकाको खानी तेह्थुम: पूर्वी नेपालमा फस्टाउँदै ढाका उद्योग


सुजन तिम्सिना/काठमाडौं, १६ असार ।
हाते तानबाट ढाकाका कपडा बुन्न सुरु गरिएको तेह्रथुममा अहिले आधुनीक तथा व्यावसायीक रुपमा कपडा उत्पादन र विक्रिवितरण हुनथालेको छ । अहिलेपनि मासुपसल, श्रृगार पसल, फेन्सी पसल, जुत्ता तथा चप्पलपसलमा ढाका कपडा बुन्दै गरेको देख्न सकिन्छ । यो देख्दा पहिलो पटक तेह्थुम पुग्नेका लागि अनौठो लाग्नु स्वभाविक नै हो ।
पसल, घरका कौशि, बार्दली, कोठा मात्रै नभएर भान्साघरमा समेत तान राखेर ढाका कपडा बुन्ने युवायुवतीको संख्या प्रशस्तै भेटिन्छ । अन्तराष्ट्रिय बजारमा समेत लोकप्रिय ढाका कपडामा तेह्थुमका युवादेखि वृद्धसम्म नसामा लठ्ठिएझै भएका छन् । सभ्यताका रुपमा स्थापित ढाका कपडा प्रतिको मोह र फरक व्यवसाय टिकाउनकै लागि पनि कपडा बुन्ने तान हरेक व्यवसायीका कोठामा जोडिएका छन् ।
तेह्थुुमे ढाका कपडाको इतिहास हाते तानबाट शुरु हुन्छ । आदिवासी जनजातिहरुले आफ्नो आवश्यकता परिपुर्ती गर्न कपासबाट बनाइएको धागोमा जडिबुटीको रङ लगाइ हाते तानबाट कपडा उत्पादन गरिएको परिस्कृत उद्यम नै अहिलेको ढाका उद्योग हो ।
चौबन्धि, गुनिहु, पच्छौँरा, दौरा सुरुवाल र टोपी हाते तानबाट बुन्ने परम्परागत सिपलाई बेलायति संस्थाको सहयोगपछि तेह्थुमे ढाका कपडाले अन्तराष्ट्रिय बजार पाएको हो । परम्परागत धागोमा रङ र बुट्टा बिन्यास गरिएपछि तेह्रथुमे ढाका कपडाको उद्योग र बजार विस्तार तिब्र रुपमा भएको मानिन्छ ।  कम आय भएका महिलाहरुमा सिपको विस्तार पछि आयश्रोतको प्रमुख माध्यम बनिएको ढाका उद्योग पूर्वी नेपालको स्वारोजगार र पहिचानको प्रतिक बन्न पुगेको छ । २०२० को दशकतिर तेह्रथुममा तानबाट बुनिएको ढाका टोपी फाट्टफुट्ट लगाएर हिड्ने गरेको देखिएपनि तीसको दशकदेखि सदरमुकाम म्याङलुङ बजारमा किनबेच शुरुभएको थियो । बजारको माग बढ्दैगएपछि ४० को दशकदेखि तेह्थुमे ढाका कपडाले अझ व्यापकता पायो र उद्योग विस्तारसँगै रोजगारीका अवसर धमाधम शुरु भए ।
घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका ११ सय ८१ उद्योगमध्ये एक सय ८६ उद्योग ढाका कपडा उद्योग छन् । दर्ता भएका उद्योगमा प्रत्यक्ष २ हजारले रोजगारी पाएका छन् भने १० हजार बढी उद्योग दर्ता नभइ संचालन भएको अनुमान छ ।
तेह्रथुम जिल्ला भित्र एक हजार बढी महिला संगठित रुपमा ढाका बुन्दै आएका छन् भने ५० हजारले स्वरोजगारको मुख्य श्रोत बनाएका छन् । नेपालमा करिब २ लाखको संख्यामा ढाका कपडा तयार गर्ने बुनकर सक्रिय भएको पाइन्छ ।
हाते तानबाट बुनिने कपडाहरु देश,बिदेशमा प्रचारप्रसार र बजारीकरण भइ जिल्लाको नाम गासिएर तेह्रथुमे ढाका नामाकरण भएको हो । तेह्रथुमे ढाका कपडा उत्पादन र बजारिकरणमा उद्यमी रञ्जना राई, उज्वलता सुब्बा, ढङ्ग पराजुली,राम सिंह आलेबाट संचालित ठुला, साना, एकल ढाका उद्यमी र बुनकरहरुको योगदानलाई नकार्न सकिन्न । ढाका कपडाको प्रवद्र्धनका लागि घरेलु तथा साना उद्योग विकास समिति तेह्थुमले स्थापनाकालदेखिनै सीपमुलक तालिम, बजारीकरण र गुणस्तर निर्माणका लागि काम गर्दै आएको छ । लघु उद्यम विकास कार्यक्रम मार्फत ढाका उद्यमी र बुनकरलाई सीप तथा व्यवसाय विस्तारमा सहयोग हुँदै आएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा नयाँ ढाका उद्यमी सिर्जना गर्नका लागि २ सय जनालाई सीप हस्तान्तरण गरि व्यवसायीक बनाइएको छ । ढाका बुन्ने तानलाई आधुनिककिरण, धागोको गुणस्तरीयता कायम राख्दै अन्तरािष्ट्रय बजारमा विस्तार गर्न लोगोको निर्माण र तेह्थुमलाई ढाका कपडाको राजधानि बनाउने प्रयासमा अहिले घरेलु तथा साना उद्योग विकास समितिका पछिल्ला प्रयास हुन् ।
तेह्थुमे ढाका कपडाले गुणस्तरीयता कायाम राख्न सकेकाले जिल्ला भित्र उत्पादित ढाका कपडाहरुको नाम र दाम राम्रो छ । तेह्रथुमे ढाका कपडा सुद्ध कच्चा धागो मसराईज गरिएकोे रङ नजाने अधिक समायोजन गरिएको हाते तानमा बुनिएको हुनाले हेण्डिक्राफ्टको पहिचानले विदेश निर्यात हुँदै आएको छ । तेह्रथुमे ढाकाको ख्याती र आफ्नोपनले गर्दा ढाका कपडाको बजार संम्भाव्यता राम्रो र उच्च माग रहेको छ । हातेतान बाट बुनिएको ढाका कपडा साडी, चोलो, सल, टोपी, स्टकोट र जातीगत पहिरनमा समेत प्रयोग गर्नाले नेपालीपनको गौरव महसुस भएको पाइन्छ । उत्पादनमा वृद्धि  र बुनकरहरुको हितकोष स्थापना गरि कपडको मूल्य निर्धारण गर्न सके तेह्रथुमे ढाका कपडाको माग झनै आकासिदो हुने देखिन्छ । बाहिरी जिल्लामा बुनिएको ढाका कपडालाई तेह्रथुमे ढाका कपडा भनि ग्राहकलाई झुक्याई चर्को मूल्यमा बिक्री वितरण गरिएको पनि पाइन्छ ।
ढाका बुनाइमा पोलिस्टर एकडोरे, दूई डोरे धागोको प्रयोग बढेपनि तेह्रथुमे ढाका कटनको धागोबाट बुनिने भएकाले जाडोमा तातो हुने, गर्मीमा पसिना सोच्ने, खुम्चिएको सिधा हुने गुण हुन्छ । अन्यत्र पाइने ढाका कपडा पोलिस्टरको धागोबाट बुनिएकाले कपडा खुम्चिएर पछि सिधा बनाउन सकिदैँन ।
जिल्लामा क्रियासिल ढाका कपडा उद्योग र स्वरोजगार बुनकरहरुले ढाकाको धागो, कच्चापदार्थहरु बाहिर जिल्लाबाट ल्याउनुपर्ने भएकाले माग अनुसारको आपूर्ती हुन सकिरहेको छैन । जसको निराकरण गर्न घरेलु तथा साना उद्योग विकास समिति, जिल्लाका स्थानीय तह, ढाका उद्यमी र सरकारी  निकायको संयुक्त प्रयासले मात्र समाधान हुन्छ । तेह्रथुमे ढाका कपडाको लागी चाहिने कच्चापदार्थ तेह्रथुम जिल्लामा नै उत्पादनका लागि म्याङ्लुङ्ग नगरपालिकाले जिल्लामै धागो उद्योग स्थापनामा पहल थालेको छ ।  म्याङ्लुङ्ग नगरपालिकाको धागो उत्पादन गर्ने प्रयासले कच्चापदार्थकै समस्या हट्नुका साथै  तेह्रथुमे ढाकाको बनोट, कच्चापदार्थ स्तर, रङ समायोजनको स्तर कायम राख्न सहयोग पुग्नेछ ।
तेह्थुमे ढाका कपडालाई आफ्नो पहिचान बनाइ धागो निर्माण गरि उत्पादनमा प्रयोग गर्न ढाका कपडाको ख्याति बचाई राख्न र मुल्यमा पनि स्तरयता कायम राख्न म्याङ्लुङ्ग नगरपालिकाले ढाका कपडाको राजधानीका लागि आफ्नो नगरलाई विकास गर्ने योजना वनाएकोछ ।
९५ प्रतिशत महिला र ५ प्रतिशत पुरुषले रोजगारी पाएको ढाका उद्योगमा उद्यमीलाई लगानी गर्ने पुँजीको अभाव देखिन्छ । घरेलु तथा साना उद्योग विकास समितिबाट निःशुल्क रुपमा सीप लिएपछि दर्ता भएर संचालनमा आएका उद्योगको वित्तिय क्षमता प्रवद्र्धनका लागि बैंक तथा वित्तिय संस्थाले सस्तो व्याजदरमा लगानी गरेमा रोजगारीका अवसर थपिने देखिन्छ । उच्च माग भएको ढाका कपपडाको धागो उत्पादन र गुणस्तरीयता काम राख्न घरेलु तथा साना उद्योग विकास समिति ढाका उद्यमी र सरोकारवाला संघसंस्था स्थानीय सरकार, प्रदेश सरकारले बेलैमा एउटा ठोस निति तथा योजना निर्माणमा जुट्नुपर्ने देखिन्छ । हजारौलाई स्वरोजगार तथा आर्थिक क्षेत्रमा आत्मनिर्भर बनाई तस्रो मुलुकबाट ठुलो मात्रामा मुद्रा आर्जन गर्न तेह्रथुमे ढाकालाई उद्यमी र बुनकरहरुको हितको लागि एकद्धवार प्रणालीबाट उत्पादन, विक्री वितरण र लोगो निर्माण गर्नसके अझ बजार बड्ने देखिन्छ ।
तेह्रथुमे ढाकाको स्तरीयता कायम राख्न स्तरीय बुट्टा क्याटलग निर्माण र  ग्यारेन्टि नभएको पोलिष्टर धागो प्रयोग माथि रोक लगाउनुपर्ने माग उद्यमीबाटै उठ्न थालेको छ ।
    यसो गर्न सके तेह्थुमे ढाकाको ख्याति बचाइराख्न मदत हुनेछ र तेह्थुममा उत्पादित ढाकाको बजार अझ विस्तार हुनेछ । तेह्थुमे ढाका बाट धेरै प्रकारका कपडा बुनिने हुनाले बुनकरहरुलाई व्यवसायीक बनाउन स्तवृद्धिका तालिम घरेलु तथा साना उद्योग विकास समितिबाट हुँदै आएको छ । तेह्थुमे ढाका कपडाको प्राण भनेझै ढाका उद्यमी र बुनकर हुन् । यीनिहरुको आर्थिक, सामाजिक, स्वास्थ्य र परिवारबारे सरोकारवाला संघसंस्था, स्थानीय, प्रदेश, संघीय सरकारले दिर्घकालिन हितबारे योजना ल्याइ कार्यान्वयनमा लैजानुपर्छ । नभए तेह्थुमे ढाका कपडा उद्योग र ढाका कपडा बुनकरको अभावले उद्योगहरु बन्द हुने अवस्था आउनेछ ।
        तसर्थ बुनकरहरुको हितका लागि  आवाश, शिक्षा स्वास्थ्य जिवन बिमा स्वास्थ्य बिमा संचित कोषबारे सकरात्मक पहल थाल्नुपर्ने देखिन्छ । बुनकरहरुलाई आकर्षक बनाउन सके मर्यादित र आकर्षण बढ्न गई ठुलो संख्यामा रहेको अशिक्षित र बेरोजगारहरुलाई स्वरोजगार बनाई तेह्थुम ढाका कपडा र उद्योग विस्तार गरि तेह्थुम जिल्ला गुराँसको राजधानि ढाकाको खानी भन्ने उक्ति कायम राख्न सकिन्छ ।
      तेह्थुमे ढाका कपडा उद्योग संचालनमा कच्चापदार्थ अभाव, बुनकर नपाइनु ,ढाका कपडा उत्पादनको गुणस्तर निर्धारण तथा बर्गिकरणको  नहुनु, लागत मुल्य र विक्रय मूल्य निर्धारणको अभाव रहेको छ । ढाका कपडामा प्रयोग हुने धागोको स्तर निर्धारण नहुनु, डिजाइन अभाव, बुनकरको ज्याला निर्धारण नतोक्नु तेह्थुमे ढाका उद्योगका थप समस्या हुन् । ढाका उद्योगको अनुगमन तथा मुल्याङ्कनको कमी  ,ढाका प्रशिक्षणको स्तर निर्धारणमा कमी, ढाका कपडा बन्ने तानमा आधुनिकताको अभाव र उत्पादन तथा बुनकरहरुको सामुहिक हितकोष निर्माण नहुनु पनि तेह्थुमे ढाका कपडा उद्योगका समस्यामा पर्छन ।
       अन्तराष्ट्रिय बजारमा समेत लोकप्रिय भएको तेह्थुको ढाका उद्योगमा अझ विस्तार गर्नुपर्ने काम धेरै छन् । ढाका कपडामा चाहिने कच्चापदार्थ धागो उद्योगको स्थापना, ढाका उद्योगका मुटु झै रहेका बुनकरहरु ज्याला निर्धारण र वर्गिकरण, गुणस्तर, रङ समायोजन र डिजाइनिङ्ग तालिम संचालन र लोगो निर्माण गर्नुपर्ने देखिन्छ । अन्तराष्ट्रिय बजारमा लोकप्रियसँगै उच्च माग भएको र हजारौँले रोजगार पाएको ढाका उद्योगलाई आफ्नो सभ्यताको रुपमा लिएका तेह्थुमे जनताको प्रयासलाई यहाँका स्थानीय सरकार र घरेलु तथा साना उद्योग विकास समितिको प्रयास प्रयाप्त छैन ।
    पर्यटकहरुको पनि आकार्षणको केन्द्र रहेको ढाका कपडा उत्पादन गर्ने  तेह्थुमलाई राजधानि र म्याङ्लुङ्ग नगरपालिकालाई ढाका कपडाको नगर घोषणा गरि आधुनिक सिप, प्रविधि र गुणस्तर प्रमाणिकरणका लागि प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्नुपर्ने देखिन्छ । तेस्रो मुलकका विद्यार्थीहरुका लागि समेत ढाका कपडाको बारे अध्ययन गर्न आउने भएकाले स्थानीय सरकारले तेह्थुमको म्याङ्लुङ्गलाई अध्ययन र अनुसन्धानको थलोको रुपमा विकास गर्नुपर्ने देखिन्छ ।

सोम, असार १६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया