कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाउन प्रधानमन्त्रीको अपिल


काठमाडौं, असार १५ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण किसानहरुलाई शुभकामना दिँदै ’कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाऔं। भन्नुभयो । कृषिलाई आधुनिकीकरण गर्ने सरकारको कार्यक्रम रहेको ट्विटमार्फत दिएको शुभकामना सन्देशमा भनिएको छ ।

यसैबीच ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य दिन आज नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती नै रहेको छ । किसानहरूले वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिने गरिन्छ ।

असार १५ गतेलाई नेपाली समाजमा दही च्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यावसायमा लागेका नेपालीले पनि आज दही च्युरा खाई असार १५ लाई भव्य रूपले मनाउँछन् । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।

यसैबीच सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न नेपालको मुख्य बाली धानको उत्पादन बढाउनैपर्ने हुन्छ । धान उत्पादन बढाउन ल्याएका नीति र कार्यक्रम प्रभावकारी बन्दै गए उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्ने छ ।

आइत, असार १५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter