मुलुकमा राजनीतिक हत्याको घटना दोहोरिने खतराः प्रचण्ड


काठमाडौं, असार १४ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारी र जीवराज आश्रितको हत्या नै भएको दाबी गर्दै फेरि त्यस्तैखालको राजनीतिक हत्याको घटना दोहोरिने खतरा बढेको बताएका छन् ।

स्व. मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक हत्याका घटना फेरिपनि दोहोरिन सक्ने बताए । राजनीतिक हत्या, प्रतिहत्याका दोषीलाई पत्ता लगाएर भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न नसकिएको उनले बताए ।

राजनीतिक हत्या र प्रतिहत्याका दोषीलाई पत्ता नलगाएसम्म फेरिपनि दुःखद् घटना घट्न सक्ने भएकाले आफूहरुले पनि ‘छाला जोगाएर हिँड्नुपर्ने’ अवस्था आएको उनको भनाइ थियो ।भण्डारीको हत्या र दरबार हत्याकान्ड हुँदासमेत हत्यारा पत्ता लगाउन नसकिएकाले गम्भीर हुनुपर्ने अध्यक्ष दाहालको भनाइ थियो ।

उनले भण्डारीको सच्चा उत्तराधिकारीकारूपमा प्रधानमन्त्री केपी शर्मा ओली र आफू रहेको भन्दै नेकपा फुट्ला र हाम्रो पालो आउँछ भनेर नेपाली कांग्रेसले नसोचेपनि हुने बताए । नेकपा असफल भए विभाजनकारी शक्ति बलियो भएर मुलुक असफल हुने भएकाले कार्यकर्ताले पनि नेताहरुलाई अनावश्यक कुरा लगाएर उत्तेजित बनाउन नहुने उनले उल्लेख गरे ।

कार्यक्रममा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति लक्षित आलोचना आउँदो दसैंसम्म समाप्त हुने दाबी गरे ।सरकारले राम्रो काम गरेपनि कानुन निर्माणमा व्यस्त भएकाले जनतालाई भन्न नपाएको उनको भनाइ थियो ।

एकता प्रक्रियामा भएको ढिलाइका कारण कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले अबको १५ दिनभित्र एकताका सम्पूर्ण काम सक्ने दाबी गरे ।

सांसद हृदयेश त्रिपाठीले मधेसमा कम्युनिस्ट पार्टी लोकप्रिय नभएको भन्दै मधेसलाई उपेक्षा गरुन्जेल कम्युनिस्ट आन्दोलन पूरा नहुने बताए ।

कार्यक्रममा प्रा. डा. सुवोध शर्मालाई जल, पर्यावरण, विकास तथा व्यवस्थापनमा उल्लेखनीय योगदान गरेवापत मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो ।

शनि, असार १४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया