सबै राजनीतिक दलहरुको परराष्ट्र नीति एउटै हुनुपर्छ:  प्रधानमन्त्री ओली


काठमाडौं, असार १४ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंसम्म सरकारको आलोचना समाप्त हुने दाबी गर्नु भएको छ । सरकारले राम्रो काम गरेपछि कानून निर्माणमा व्यस्त भएका कारण जनतालाई भन्न नपाएको उहाँको दाबी छ ।

मदन भण्डारी जन्मजयन्तीको अवसरमा आज कार्यक्रममा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नयाँ आर्थिक वर्षसँगै नयाँ गतिमा अगाडि बढ्ने र दशैंसम्म आलोचना समाप्त हुने बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले धेरै राम्रो काम गरेको दाबी समेत गर्नुभयो । यस्तै प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरुको परराष्ट्र नीति एउटै हुनुपर्ने बताउनु भएको छ । नेपालको पराराष्ट्र नीतिबारे परराष्ट्र मन्त्रालयले आज पहिलो पटक आयोजना गरेको राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिको सम्बन्धमा सिंगो देश एक हुनुपर्नेमा जोड दिनु भएको हो ।

परराष्ट्र नीतिमा सिंगो देश एक हुनु पर्ने बताउदै प्रधानमन्त्री ओलीले सरकारले एकलौटी काम नगरी एउटै भाषा बोल्ने बताउनुभयो । नेपालको परराष्ट्र नीतिलाई सबैले चासोपूर्वक हेरिरहेको बताउँदै ओलीले छिमेकी सहित सबै राष्ट्रलाई हेर्ने नीति एउटै हुनुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले भारतसँग बेला–बेलामा भइरहने खटपट अन्त्यको प्रयास भइरहेको जानकारी पनि दिनुभयो ।

नेपालले कसैबाट हेपिएको महसुस गर्नु नपरोस् भन्दै उहाँले नेपालले पनि कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताउनुभयो । नेपालको अहिलेको आवश्यकता लगानी हो भन्दै उहाँले त्यही अनुसारको परराष्ट्र नीति अवलम्बन गरेको बताउनुभयो ।

उहाँले नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन छिट्टै भारतीय प्रधानमन्त्रीलाई बुझाउने र कार्यान्वयनमा आउने पनि बताउनुभयो । उहाँले दुवै देशका प्रबुद्ध समूहले बनाएको प्रतिवेदनमा दुईदेशीय समस्या, चासो, सरोकार सबै विषयहरु समेटिएकाले यसलाई जतिसक्दो चाँडो कार्यान्वयन गर्न आफू लागि पर्ने बताउनुभयो ।

अन्तरराष्ट्रिय सम्बन्धमा राष्ट्रिय हित र न्याय दुवैलाई हेर्नुपर्ने बताउँदै उहाँले न्यायलाई बिर्सिएर अन्धो राष्ट्रिय हितका पक्षमा जान नहुने टिप्पणी गर्नुभयो । यस्तै प्रधानमन्त्री ओलीले आज नै वृक्षारोपण अभियानको शुभारम्भ गर्दै अब काठमाडौं हराभरा बन्ने बताउनु भएको छ । उहाँले सन्तानलाई गरेजस्तै माया बोटबिरुवालाई गर्न आह्वान गर्नुभयो ।

कोटेश्वर सडक किनारमा नासपातीको बिरुवा रोपेपछि प्रधानमन्त्री ओलीले हामीले रोपेको विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्ने बताउनुभयो । अवको प्रतिस्पर्धा विरुवा संरक्षणमा हुनेपर्ने उहाँको भनाई थियो ।

शनि, असार १४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter