फोरमका २५ हजार बढी सक्रिय सदस्यको सदस्यता छानविन गर्न कांग्रेसद्धारा समिति गठन


काठमाडौं, असार १३ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यको सदस्यता छानविन गर्न जिल्लास्तरमा छानविन समिति गठन गरेको छ ।

आज पार्टी उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको समायोजन समितिको बैठकले तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले २८ चैत ०७५ मा बुझाएको २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यको छानविन गरी केन्द्रमा पठाउन समिति गठन गर्ने निर्णय गरेको हो ।

कांग्रेसको गत वर्ष काठमाडौंमा भएको महाधिवेशनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट सहभागी भएका २ सय जना महासमिति सदस्यको नाम समेत जिल्लामा अभिलेख अद्यावधिक गर्न जिल्ला समितिलाई निर्देशन दिने निर्णय भएको कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

जिल्लास्तरीय समितिमा कांग्रेसका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति तथा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति रहनेछन् ।

तत्कालीन लोकतान्त्रिक फोरमका जिल्ला सभापति वा क्षेत्रीय सभापति उक्त जिल्लामा नभएको भए गच्छदारबाट तोकिएका प्रतिनिधिहरू सदस्य रहने निर्णय भएको छ ।

शुक्र, असार १३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया