महिलामाथि अपमानजनक शब्द प्रयोग गर्ने मेयरलाई कारबाहीको माग


काठमाडौं, असार १३ ।
निरन्तर विवादित अभिव्यक्ति दिँदै आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारवाही गर्न सांसदहरूले माग गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले महिलामाथि अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका हुन ।

कांग्रेस कोषाध्यक्ष समेत रहेकी सांसद सीतादेवी यादवले सम्पूर्ण महिलामाथि अपमानजनक शब्द प्रयोग गर्दा पनि मेयरलाई अहिलेसम्म कारवाही किन नगरेको भन्ने प्रश्न गर्नुभयो । यस्तो घृणित काम गर्ने मेयरलाई तुरुन्त कारबाही गर्न उहाँले माग गर्नूभयो ।

नेकपा नेतृ तथा सांसद विन्दा पाण्डेले स्थानीय तहदेखि संघीय तहसम्मका कतिपय जनप्रतिनिधिका अभिव्यक्तिले मतदाताको समेत शीर निर्हुयाउनु पर्ने अवस्था देखिएको बताउनुभयो । जनप्रतिनिधिको बोली अशिष्ट मात्रै होइन आपराधिक समेत भएको सांसद पाण्डेको भनाई छ ।

अर्की सांसद लक्ष्मी परियारले इटहरी नगरपालिकाका मेयरले अपमानजनक शब्द प्रयोग गरेर महिलाको इज्जतमाथि खेलवाड गरेको बताउनुभयो । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले इटहरीका मेयर चौधरीले नारीको अपमान गरेको भन्दै यो घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

बैठकको सुरुमै समय लिएर बोल्दै उहाँले नागरिकको अपमान गर्ने अधिकार कसैलाई नभएको जिकिर गर्नुभयो । ।

शुक्र, असार १३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया