कांग्रेसको केन्द्रीय समिति बैठक असार २२ गते बस्ने


काठमाण्डौ १२ असार ।
नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्य समितिको बैठक आउँदो असार २२ गते बोलाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेवि संघ लगायतका पार्टीका सबै संगठन संरचनाहरुको निर्माणका लागि आवश्यक निर्णय लिनेगरी आउँदो असार २२ गते आइतबार पार्टी केन्द्रीय कार्य समिति बैठक बोलाइएको जानकारी दिनुभएको हो ।

बैठकमा नेविसंघ, तरण दललगायतका भातृ संस्थाहरुको समिति बनाएर पार्टीलाई गतिशील ढंगले अघि बढाउने विषयमा छलफल केन्द्रित हुने उहाँको भनाइ छ ।

प्रवक्ता शर्माले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेबाट सुरु हुनु अघि नै पार्टीको सबै संगठन संरचनाको निर्माण गर्ने पार्टीको योजना रहेको बताउनुभयो ।

प्रवक्ता शर्माले राष्ट्रिय जागरण अभियानको समीक्षाका लागि हिजोदेखि जारी छलफलमा पार्टीका केन्द्रीय प्रतिनिधिहरुले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा पनि जोड दिएको बताउनु भयो ।

केन्द्रीय प्रतिनिधिहरुले सरकारप्रति नागरिकमा वितृष्णा फैलिएको दावी गर्दै उनीहरुको विश्वास जित्नेगरी कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।

पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न बसिरहेको बैठकमा सहभागी भएका हुम्लाका केन्द्रीय प्रतिनिधि हस्तबहादुर मल्लले सरकारको अकर्मण्यता जनताको माझ लगेर उनीहरुको विश्वास जित्नेगरी काम गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको बताउनुभयो ।

मल्लले पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टी्भित्र एकताको सन्देश दिएको उल्लेख गर्दै त्यसलाई निरन्तर अघि बढाउन नेतृत्वलाई सचेत गराउनु भयो ।

बिहि, असार १२, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया