जागरण अभियान प्रभावकारी भएको काँग्रेसको निश्कर्ष


काठमाडौं असार ११ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले कार्यक्रम प्रभावकारी र फलदायी भएको निश्कर्ष निकालेका छन् ।

काँग्रेस पदाधिकारीसँग पार्टी मुख्यालय सानेपामा भएको समीक्षात्मक छलफलमा उनीहरुले तीनै तहको निर्वाचनमा बेहोरेको परिणामबाट निराश कार्यकर्तामा जागरण अभियानले आशाको सञ्चार गराएको सुनाएका हुन् ।

पार्टीमा सुद्धिकरण अभियान र सरकारका गलत कृयाकलापको खबरदारीका लागि भन्दै काँग्रेसले गत बैशाख २५ देखि जेठ २५ सम्म मुलुकभर जागरण अभियान गरेको थियो । कार्यक्रमका लागि दोलखामा खटिएका केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार छलफलमा सहभागीहरुले राष्ट्रिय राजनीतिक मुद्दामा कार्यकर्तालाई प्रशिक्षित तुल्याईएको बताएका छन् ।

कार्यकर्तामा जागरण अभियानले उत्साह थपे पनि पार्टी सञ्चालनमा नेतृत्वले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता तल्लो तहबाट औंल्याइएको यादवले बताउनुभयो । गुट–उपगुटलाई निमिट्यान्न पारेर अघि बढ्नका लागि नेतृत्वलाई बारम्बार खबरदारी गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

भ्रातृ संगठनलाई पूर्णता, विभिन्न विभागहरु गठन, कार्यकर्तामुखी कार्यक्रम र सदस्यता वितरणलाई चुस्त दुरुस्त राख्न कार्यकर्ताहरुले जागरण अभियानका क्रममा सुझाव दिएको भोजपुर खटिएका नेता रामहरि खतिवडाले जानकारी दिनुभयो । समीक्षा कार्यक्रम २ दिनसम्म चल्ने सहमहामन्त्री प्रकाशशरण महतले बताउनुभयो ।

बुध, असार ११, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया