कुमार पौडेलका हत्यारालाई कारबाही गर्न जनअधिकार अभियान नेपालकाे माग


काठमाडौं, ९ असार । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलका हत्याराहरूलाई तत्काल कारबाही गर्न जनअधिकार अभियान नेपालले माग गरेको छ । अभियानका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विज्ञप्ति जारी गर्दै पौडेललाई मारिएको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति जनअधिकार अभियान नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

अध्यक्ष भण्डारीले  राजनीतिक आस्था र विचारका आधारमा जबरजस्ती रूपमा कसैलाई पनि पक्रन, थुन्न, बेपत्ता पार्ने र हत्या गर्ने कार्य अन्तर्राष्ट्रिय कानुन, नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धिसम्झौता, नेपालको संविधान र प्रचलित नेपाल कानुन विपरीत रहेको समेत बताएका छन् ।

मानव अधिकारको सवालमा संवेदनशील भई शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने दायित्व भएको नेपाल सरकार, गृह मन्त्रालय र यस मातहतका राज्यका निकायको यस प्रकारको क्रियाकलाप र मौनताप्रति जनअधिकार अभियान नेपालले गम्भीर चासो र चिन्ता व्यक्त गर्दै खेद प्रकट समेत गरेकेा छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं १ लखन्ती नदीछेउको जङ्गलमा प्रहरीद्वारा दोहोरो मुठभेडका क्रममा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई मारिएको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति जनअधिकार अभियान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्तीखोलामा जिल्ला इन्चार्ज कुमार पौडेललाई मुठभेड नभई आफ्नो नियन्त्रणमा लिएर बर्बरतापूर्वक सरकारले हत्या गरेको कुरा उल्लेख छ ।’

उक्त घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीहरूलाई कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, मानिसको सम्मानपूर्वक बाँच्न पाउने हकको रक्षा गर्न, राजनीतिक क्रियाकलापमा सहभागी भई आफ्ना विचार व्यक्त गर्न पाउने अधिकारको सुनिश्चितता गर्न गर्न पनि जनअधिकार अभियान नेपालले माग गरेकेा छ ।

साथै भविष्यमा यस्ता घटना हुन नदिन र मानव अधिकारको सम्मान गर्न नेपाल सरकार, राष्ट्रिय मानव अधिकार आयोग, संयुक्त राष्ट्र सङ्घका नेपालस्थित कार्यालयहरू, मानव अधिकारका क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थालगायत सम्पूर्ण सम्बन्धित सरोकारवाला निकायसमेतको ध्यानाकर्षण गराएकाे छ ।

अभियानले राजनीतिक विवादका विषय वस्तुहरू वार्ता, संवाद र छलफलबाट समाधान गर्न सम्बन्धित पक्षहरूसँग अनुरोध पनि गरेको छ । अभियानले कुमार पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारप्रति गहिरो समवेदना पनि प्रकट गरेको छ ।

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार