यस्ता छन् पर्यटन वर्ष २०२० का लागि कम बजेट विनियोजन गर्नुको कारण


काठमाडौं १० असार ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्यटन बोर्ड र स्थानीय तहबाट पनि पर्यटन वर्षका लागि खर्च गरिने भएकाले सरकारले पर्यटन वर्ष २०२० का लागि कम बजेट विनियोजन गरको बताउनु भएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अन्र्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शिर्षकहरु माथिको छलफलमा सांसंदहरुले राखेको प्रश्नको प्रधानमन्त्रीको तर्फबाट जवाफ दिदै अर्थमन्त्री खतिवडाले यस्तो बताउनु भएको हो ।

पर्यटन वर्षका लागि १ अर्ब भन्दा बढी लगानी गर्न सक्ने क्षमतामा पर्यटन बोर्ड रहेकाले सरकारले पर्यटन क्षेत्रको विनियोजन सोही अनुमानका आधारमा कम राखिएको बताउनु भएको छ ।

त्यसैगरी स्थानीय तहले पनि पर्यटन क्षेत्रमा बजेट छुट्याउने गरेकाले संघीय सरकारले पर्यटन बर्ष २०२० का लागि धेरै बजेट नराखेको उनले उल्लेख गर्नुभएको छ । सांसदहरुले भ्रमण बर्षका लागि विनियोजन गरिएको रकम कम भएको भन्दै सो बारे मन्त्रीको जवाफ माग गरेका थिए ।

उनले प्रदेशमा बनाउने विमानस्थलबारेमा दुविधा रहेकाले सरकारले हवाई पुर्वाधारको रणनीति बनाउन लागेको र सोको आधारमा अन्तराष्ट्रिय, क्षेत्रिय र आन्तरिक उडानका लागि विमानस्थल बनाउने भन्ने बारे निर्णयमा पुगिने स्पष्ट पार्नुभएको हो ।

मङ्ल, असार १०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया