सांसदको प्रश्न– पौडेलको हत्या हो कि ‘इन्काउण्टर’ ?, सिरिञ्ज आक्रमणका घटना रोक्न माग

जातीय द्वन्द्व फैलाउने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति


काठमाडौं, १० असार ।
प्रतिनिधिसमाको बैठकमा सांसदहरुले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाहि इन्चार्ज कुमार पौडेलको हत्याको बिषयमा छानविन गर्न माग गरेका छन् ।

सांसद रामेश्वरराय यादवले असार ५ गते सर्लाहिमा मारिएका पौडेलको हत्या भएको भन्दै जनस्तरबाट आवाज उठिरहेकाले घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउनु पर्ने बताउनु भयो ।

यस्तै सांसद रामबहादुर विष्टले पनि पौडेलको हत्या हो कि ‘इन्काउण्टर’ हो भन्ने प्रश्न गर्दै यस विषयमा छानबिन गर्न माग गर्नुभयो ।
त्यस्तै सांसद मीना सुब्बाले केही सातायता काठमाडौँमा सिरिञ्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद मीनबहादुर विश्वकर्माले ढुवानीमा मूल्यअभिवृद्धि कर लगाउँदा समस्या भएको भन्दै उक्त कर खारेज गर्न माग गर्नुभयो ।

सांसद मैनाकुमारी भण्डारीले स्वास्थ्य बीमा गरेका ठूला रोग लागेका बिरामी काठमाडौँ आउनैपर्ने बाध्यता भएकोमा तिनलाई वीर अस्पताल र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको व्यवस्था गराउन माग गर्नुभयो ।

सांसद यज्ञराज सुनुवारले शिक्षा क्षेत्रलाई सरकारले प्राथमिकतामा राखे पनि सङ्घीय ऐेन समयमै नआएसम्म सरकाको उद्देश्य पूरा नहुने धारणा व्यक्त गर्नुभयो ।

सांसद रङ्गमती शाहीले सशस्त्र द्वन्द्वका पीडित महिलालाई समाजमा सम्मानजनक बाँच्न पाउने र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा बताउनु भयो ।

सांसद रामकुमारी झाँक्रीले राज्यका तर्फबाट विभिन्न घटनामा दिइने क्षतिपूर्तिका सम्बन्धमा आवश्यक मापदण्डको अभावमा पहुँच हुनेले दोहोरो सुविधा लिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यसैगरी प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले ‘गलबन्दी च्यातियो..’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

सांसद विमला विकले उक्त गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हुँदा पनि सरकार मुकदर्शक भएको भन्दै त्यस्ता व्यक्तिलाई कानूनी कारवाही गर्न माग गर्नुभयो ।

सांसद महेश्वरजङ्ग गहतराजले पनि जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

मङ्ल, असार १०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter