नेपाल बन्दका क्रममा उपत्यकासहित विभिन्न ठाउँमा विस्फोट तथा आगजनी, अहिलेसम्म कहाँ के भयो?(अपडेट)


काठमाडौं, असार १० ।

नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण देशैभरको जनजीवन प्रभावित बनेको छ । पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेलको हत्याको बिरोधमा नेकपाले देशव्यापी बन्दको आह्वान गरेको हो ।

बन्दका कारण देशभरका सरकारी तथा गैह्रसरकारी संस्था, सार्वजनिक सवारी, शैक्षिक संस्था, कलकारखाना ठप्प भएका छन् । यता काठमाडौं उपत्यकामा अत्यावश्यक सवारी साधन एम्बुलेन्स, दकमलसहित प्रेसका गाडीबाहेक सर्वाजनिक सवारी साधन चलेका छैनन् । भित्रि सडकहरुमा फाटफुट रुपमा मोटरसाईकल र नीजि सवारी साधनहरु चलेका देखिन्छन् । बन्दमा कुनै अप्रिय घटना हुन नदिन उपत्यकामा बाक्लो संख्यामा शुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच नेपाल बन्दका क्रममा काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा विस्फोट हुनुका साथै शंकास्पद वस्तु फेला परेका छन् ।

यता ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम भेटिएको छ । जावलाखेल खेल मैदान अगाडी होटलको सटरमा झोलामा राखिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ ।
उक्त बमलाई आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ ।

यस्तै किर्तिपुरस्थित नयाँ बजार गेटमा पनि बम फेला परेको थियो । उक्त बम पनि नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।

यस्तै चितवनका तीन स्थानमा बम विस्फोट भएको छ । चितवनको कालीका नगरपालीकास्थित शक्तिखोर बजारमा बिहान ५ बजे विस्फोट भएको जनाईएको छ । यस्तै चितवनकै रत्नगर ननगरपालीकाको टाडिबजार नजिकै रहेको पुलछेउ र राप्ति नगरपालीकामा पनि विस्फोट भएको खबर छ ।

यस्तै बर्दियामा दुई वटा प्रेसर कुकर बम फेला परेको छ । सदरमुकाम गुलरिया नगरपालिकास्थित हुलाकी मार्ग अन्र्तगत डिभिजन बन कार्यालयनजिक तथा पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कर्तनिया चोकमा भेटिएको कुकर बम बम डिस्पोजल टोलीले निक्रिय पारेको छ ।

 

त्यस्तै, अर्घाखाँचीका तीन ठाउमा पनि बम फेला परेको छ । छत्रदेव गाँउपालिका वडा नम्वर ५ को वडा कार्यालय नजिकै, वडा कार्यालय ७ को नजिकै र मालारानी –१ को छेडाठाटीमासहित छत्रदेव गाउँपालिका वडा नम्वर ७ को मडेलचौरमा रहेको लु १ क २२३८ नम्वरको जेसिविमा बम भेटिएको हो । उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्किृय पारेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले जानकारी दिनुभयो ।

यसैगरी ,पोखराका बिभिन्न तीन ठाउँमा भेटिएको बम मध्ये दुई ठाउँमा पोखरा एयरपोर्टमा रहेको नेपाली सेनाको कालिभन्जन गणका २ वटा डिस्पोजल टोलीले डिस्पोज गरीसकेको बताइएको छ ।

पोखराको चाउथे स्थित रचना मःम खाजा घर नजिकै प्रेसर कुकर बम र तालचोक डाँडाको नाक चोकको बीच भागमा सकेट बम भेटिएको थियो ।
त्यस्तै पोखराको पार्दी बिरौटा खाद्यान्नको पछाडिको भागमा पर्ने सडक पेटीमा भेटिएको बम पनि डिस्पोजल टोलीले निश्कृय पारेको छ ।

उता, नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको विदुर –९ स्थित घरमा भेटिएको प्रेस कुकर बम आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको प्रहरीले जनाएको छ ।

उता, बन्दको पूर्वसन्ध्यामा झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको छ । उक्त बस्तु बम भएके र सेनाले डिस्पोज गरेको जनाईएको छ ।

यस्तै उदयपुरको कटारी नगरपालिका ३ कटारी बजार र त्रियुगामा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । यसअघि उदयपुरकै रौतामाईमा राती बम बिस्फोट भएको थियो ।
यसैगरी बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ राजकोट पाण्डु पडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ । वडा नं. ३ को कार्यालयको गेटमा बम फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै कैलालीको गौरीगंगा नगरपालिकामा बम विस्फोट भएको छ । आज बिहान ४ बजे कार्यालयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार विस्फोटबाट ठूलो क्षति भएको छैन ।

उता रामेछापको मन्थली बजार क्षेत्र नजिकै ग्यासको सिलिण्डर विस्फोट भएको छ । आज बिहान करिब २ बजे सिलिण्डरमा आगो लगाई विस्फोट गराएको प्रहरीले जनाएको छ ।

विस्फोट पश्चात विस्फोट स्थलको निरीक्षण गर्दा टायरमा आगो बालेर ग्याँसको सिलिण्डर राखेर विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो । मानव बस्ती भन्दा पर पाखाको क्षेत्रमा विस्फोट गराएकाले कुनै क्षति नभएको भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी, काभ्रेका विभिन्न ठाउँमा बम भेटिएको छ । पनौती र धुलिखेलमा शंकास्पद वस्तु राखिएको र नेपाली सेनाको टोलीले बिहान डिस्पोज गरेको छ ।

धुलिखेल नगरपालिकास्थित हस्पिटल चोकमा, पनौती नगरपालिकाको खोपासी जाने पोल र पनौती बसपार्क चोकमा शंकास्पद प्रेसर कुकर र बियर बोतल बम फेला परेको पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
धुलिखेलमा मंगलबार बिहान ३ बजे, पनौतीमा बसपार्कमा पौने ५ बजे र खोपासी जानेपुलमा ४ः५१ बजे मा नेपाली सेनाले बम डिस्पोज गरेको डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

मङ्ल, असार १०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter