गृहमन्त्रीलाई सांसदको प्रश्न-गोली लागेर मृत्यु भएका पौडेलको हात ७ ठाउँमा कसरी भाँचियो ?


काठमाडौं, ९ असार ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही ईन्चार्ज कुमार पौडेलको मृत्युका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले दिएको जानकारी विश्वसनीय नभएको सांसदहरुले टिप्पणी गरेका छन् ।

उनीहरुले गोली लागेर मारिएको व्यक्तिको हात ६÷७ ठाउँमा कसरी भाँचियो ? भन्ने प्रश्न पनि गरेका छन् ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा पूर्वगृहमन्त्री जनार्दन शर्माले पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने जिकिर गर्नुभयो ।

प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताबाट आएको रिपोर्ट फरक रहेको भन्दै उहाँले गोली लागिएर मारिएको मान्छेको हात भाचिनुले हत्या गरिएको देखिने बताउनु भयो ।

गोली लागेर मारिएको व्यक्तिको हात ६÷७ ठाउँमा कसरी भाँचियो भन्दै गृहमन्त्री थापासँग प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘प्रहरीको रिपोर्टले मूठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ । तर जनताको पनि रिपोर्ट छ, त्यसले मूठभेडमा पौडेलको मृत्यु भएको भन्दैन ।’

सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्ने भन्दै शर्माले विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउनु जरुरी नभएको पनि बताउनुभयो । उहाँले विप्लव पार्टीसँग तत्काल वार्ताको पहल थाल्न पनि सरकारलाई सुझाव दिनुभयो ।
शर्माले जस्तै कांग्रेसका सांसद दिलेन्द्र बडुले पनि विप्लव ने.क.पा.को क्रियाकलाप नियन्त्रण गर्ने नाममा असंवैधानिक र मानवअधिकार हनन नगर्न सरकारलाई सचेत गराउनु भयो ।

गृहमन्त्री थापाले भने पौडेलको मृत्यु प्रहरीको जवाफी कारबाहीमा भएको बताउनुभएको थियो ।

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter