‘गुठी विधेयक गुठियारहरुका लागि हो’


काठमाडौँ, असार १ ।
सत्ता पक्षका सांसदहरुले गुठीसम्बन्धी विधेयक गुठीलाई व्यवस्थित बनाउन आएको जिकिर गर्दै यसमा गुठीयारका माग सम्बोधन गर्न सकिने मार्ग प्रशस्त रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनीहरुले विधेयक सदनमा नआइसकेको अवस्थामा अनावश्यक हल्ला गर्नु दुःखद् रहेको हुँदा त्यस्तो हल्लाका पछाडि नलाग्न आन्दोलनरत गुठीयारसित आग्रहसमेत गरे ।

तर प्रमुख प्रतिपक्षी दलका सांसदले गुठी परम्परा र संस्कृतिलाई तहसनहस बनाउन गुठीसम्बन्धी विधेयक आएको भन्दै विधेयक फिर्ता लिई नयाँ विधेयक ल्याउन सरकारसँग आग्रह गरे । नेकपाका सांसद शान्ता चौधरीले गुठीलाई व्यवस्थित बनाउन गुठीसम्बन्धी विधेयक आएको हुँदा यसले गुठी र संस्कृतिलाई तहसनहस नगर्ने जिकिर गर्नुभयो ।

नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सरकारले संविधानमा रहेको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकलाई कुण्ठित पार्न खोजेको आरोप लगाउँदै गुठी एवं सूचना प्रविधिसम्बन्धी विधेयक जनभावनाविपरीत रहेको हुँदा फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।

नेकपाका सांसद केदार सिग्देलले विकास निर्माणलाई समयमा सम्पन्न गर्न, सुशासन र भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन आग्रह गर्नुभयो । सांसद राजेन्द्र लिङ्देनले गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारसित आग्रह गर्दै विधेयकले सनातन समयदेखि चल्दै आएको परम्परामाथि असर पर्न सक्ने बताउनुभयो ।

सांसद इन्दुकुमारी शर्माले लोकसेवा आयोगको विज्ञापनलाई संविधानको भावनाअनुरुप समावेशी र समानुपातिक नभएको गुनासो गर्नुभयो । सांसद प्रकाश रसाइलीले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अगाडि नबढेकामा प्रश्न गर्दै सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो ।

आइत, असार १, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter