पार्टीमा छलफल नै नगरी मिडिया काउन्सिल विधेयक ल्याएको नेपालको खुलासा, पत्रकारको आन्दोलनमा खनालको समर्थन


दाङ, जेठ ६ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नै नगरी ल्याइएको बताउनु भएको छ ।

प्रेस संगठन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाले विधेयक आएपछि पनि पार्टीमा कुनै छलफल नभएको प्रस्ट पार्नुभएको हो ।

महत्वपूर्ण निर्णयहरु गर्दा पार्टीमा छलफल हुनुपर्नेमा त्यसो हुन नसक्दा अनावश्यक आलोचना खेप्नुपरेको उहाको भनाइ थियो । पार्टीमा छलफल गरेरमात्रै महत्वपूर्ण निर्णयहरु लिनुपर्ने आफूहरुको मागको नेतृत्वबाट सुनुवाइ नभएको गुनासो पनि नेता नेपालले गर्नुभएको छ ।

यसैबिच नेकपाकै अर्का नेता झलनाथ खनालले मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाउँदै पत्रकारले गरिरहेको आन्दोलन गलत नभएको बताउनु भएको छ ।

उक्त आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित र प्रेसलाई मर्या्दित बनाउन बहस सिर्जना गरेको उहाको भनाइ छ । गृह जिल्ला इलाम जानेक्रममा आज झापाको बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै नेता खनालले नेपालको संविधानले दिएको हक कुनै पनि बाहनामा कुण्ठित गर्न नसक्ने पनि प्रष्ट पार्नु भएको छ ।

पार्टी एकीकरणलाई गौरवपूर्ण बताउँदै नेता खनालले अब पार्टीले नयाँ कार्य्दिशा, नीति र सिद्धान्त पनि चाँडै सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । एकताले दूरगामी महत्व राख्ने तर जटिल प्रक्रिया भएकाले बाङ्गोटिङ्गो हुँदै अगाडि बढिरहेकाले अझै पनि थुप्रै काम बाँकी रहेको खनालको भनाइ छ ।

सोम, जेष्ठ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया