इरानलाई सिध्याइदिने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की


६ जेठ, काठमाडौं ।

इरान परमाणु सम्झौतालाई लिएर तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सिध्याइदिने धम्की दिएका छन् ।

ट्वीटर मार्फत उनले अमेरिकालाई नधम्काउन पनि चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमा ‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त हुनेछ । अमेरिकालाई कहिल्यै धम्की नदिनू ’ भनेर लेखेका छन् ।

ट्रम्पको यो ट्वीटलाई लिएर अमेरिका र इरानबीच युद्धको बादल मडारिन थालेको टिप्पणी हुन थालेको छ । अमेरिकाले मध्यपूर्वमा अत्याधुनिक हतियारसहित आफ्ना सेनाको तैनाथी बढाएको छ ।

सन् २०१५ मा इरानसहित अमेरिका, चीन, रुस, ब्रिटेन, फ्रान्स र जर्मनीबीच परमाणु सम्झौता भएको थियो । यो सम्झौताको उद्देश्य इरानको परमाणु महत्वाकांक्षामा अंकुश लगाउनु थियो ।

अमेरिकाले गत वर्ष यस सम्झौता तोडेको थियो । इरानले पनि अहिलेसम्झौताका केही सर्त नमान्ने घोषणा गरेको छ । चीन, रुस, ब्रिटेन, फ्रान्स र जर्मनी भने अहिले पनि परमाणु सम्झौतामा सामेल छन् ।

इरानमाथि प्रतिबन्ध लगाएर ट्रम्प प्रशासनले उसको अर्थव्यवस्थामा नोक्सान र्पुयाएको छ । इरानको मुद्राको मूल्य सबैभन्दा तल्लो स्तरमा पुगेको छ र महंगीको दर करिब चौगुणाले बढेको छ । त्यसैले इरानले भने आफूमाथि लगाइएका प्रतिबन्ध नहटाए फेरि युरेनियम उत्पादन र बिक्री सुरु गर्ने चेतावनी दिएको छ ।

सोम, जेष्ठ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार