एनआईसी एशिया बैंकको खुद नाफामा बृद्धि, अधिकांश सूचाङ्कहरु उत्साहप्रद


काठमाडौं, ३० वैशाख ।
एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १४५ प्रतिशतले खुद नाफा कमाएको छ ।
कर्जा नोक्सानी वापत ९४ करोड ९६ लाख रुपैयाँ व्यवस्था गरेको बैंकले दुई अर्ब २७ करोड ६४ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत बर्ष यसै अवधिको तुलनामा यो एक अर्ब ३४ करोड ८८ लाख रुपैयाँ बढी हो । बैंकको आम्दानीको अधिकांश सूचाङ्कहरु उत्साहप्रद रहेका छन्। आधार ब्याजदर र निक्षेप संकलन लागतमा सुधार गरेको बैंकले निक्षेप संकलन र कर्जा परिचालनलाई खुद ब्याज आम्दानी दोब्बर बनाएको छ ।
आठ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकसँग चैत मसान्तसम्म एक अर्ब पाँच करोड १२ लाख बराबरको लाभांश क्षमता कायम भएको छ। यसअनुसार बैंकले चालु आवको अन्त्यसम्म एक अर्ब ४० करोड माथि लाभांश क्षमता कायम गर्ने हुँदा १६ प्रतिशतभन्दा बढी लाभांश शेयरधनीलाई वितरण गर्नसक्ने अनुमान छ ।
चैत मसान्तसम्म बैंकले एक खर्ब ५४ अर्ब निक्षेप संकलन गरि एक खर्ब ४१ अर्ब बराबरको ऋण लगानी गरेको छ। दश प्रतिशतले बचत संकलन बढाएको बैंकको कर्जा लगानीको बढोत्तरी २२ प्रतिशतको छ ।
यसबाट खुद ब्याज आम्दानी दोब्बर बनाउँदै बैंकले पाँच अर्ब ३२ करोड आर्जन गरेको हो। जगेडा कोषको आकार ५० प्रतिशतले बढाएपश्चात ४ अर्ब ५ करोड र रिटेन्ड अर्निङ्गमा ४८ प्रतिशत सुधार भई एक अर्ब ३९ करोड पुगेको छ ।
यस अवधिसम्ममा बैंकको खराब कर्जा अनुपात ०.२२ बाट ०.४५ प्रतिशतमा बढेको छ भने आधार ब्याजदर ११.५० बाट ९.३० र कोषको लागत ७.८४ बाट ७.०९ प्रतिशतमा सुधारिएको छ ।बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ१६१ रुपैयाँ ७४ पैसा, र मूल्य आम्दानी अनुपात १३.६४ प्रतिशत रहेको छ ।

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार