विचार र आन्दोलन सर्वहारा, मजदुर र किसानको भन्ने तर आन्दोलन र प्रतिबद्धता अरू कुनै वर्गको !


-राेशन जनकपुरी

६९ वर्षपहिले २२ अप्रिल १९४९ (२००६ वैशाख १०) मा कलकत्तामा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । नेकपाले सेप्टेम्बर १९४९ मा प्रकाशित घोषणापत्रमा ‘नेपालमा विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी–पुँजीवादी आधिपत्यलाई पूरै खतम पार्नु र मजदुर वर्गको नेतृत्वमा श्रमजीवी जनताको जनवादी राज्य स्थापना अर्थात् यस्तो राज्य व्यवस्था स्थापना गर्नुपर्ने’ लक्ष्य उल्लेख गरेको थियो । त्यसमध्ये ‘सामन्ती व्यवस्था’लाई राजनीतिक रूपमा अन्त्य गरेर गणतन्त्र स्थापना गर्न देश सफल भएको छ भने ‘नेपालमाथिको साम्राज्यवादी (विस्तारवादी) पुँजीवादी आधिपत्यलाई पूरै समाप्त पार्न र मजदुरको नेतृत्वमा जनताको जनवादी राज्य स्थापना गर्ने’ कार्यभार बाँकी छ ।

नेपाली कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि अहिलेसम्मको आरोह र अवरोहमय यात्रामा टुटफुट र एकताका अनेक घटना समाविष्ट छन् । सोभियत रुसले मालेवादी वर्गसंघर्षको अवधारणाविपरीत सन् १९५५ मा खु्रस्चेवको नेतृत्वमा शान्तिपूर्ण संक्रमण र सहअस्तित्वको नाममा संशोधनवादी बाटो समातेपछि सोभियत रुस र माओत्से तुङको नयाँ जनवादी चीनबीचको विवाद होस् वा चीनमा माओको निधनपछि देङ सिआओ पिङ गुटले सत्ताकब्जा गरेर माओको नयाँ जनवादी नीतिविपरीत बजार समाजवादको संशोधनवादी नीति अँगालेपछिको विश्वव्यापी वैचारिक द्वन्द्व होस्, नेपाली कम्युनिस्ट आन्दोलन प्रभावित भइरह्यो । पार्टी विभाजनमा आन्तरिक पक्ष प्रधान नरहे पनि नेपाली कम्युनिस्ट आन्दोलनमा विश्व कम्युनिस्ट आन्दोलनका वैचारिक विवादले पनि वैचारिक र अवसरवादी निहुँको भूमिका निर्वाह गरेको थियो । सांगठनिक रूपमा नेकपा पहिलोपटक २००६ मा रुसी ख्रुस्चेवपन्थी केशरजङ रायमाझी र माओ विचारधारा पक्षधर पुष्पलालको नेतृत्वमा विभाजित भयो । पछि रायमाझीको धारामा विकसित विष्णुबहादुर मानन्धर, तुल्सीलाल अमात्य र कृष्णराज बर्माका साना कम्युनिस्ट पार्टीले ०३८ सालमा नेकपा (संयुक्त) गठन गरे ।

अर्कातिर पुष्पलालको धाराभित्र माओ विचारधारामा कोअर्डिनेसन सेन्टर (२०२८), नेकपा माले (२०३८), नेकपा (माक्र्सवादी (२०४२) मिलेर देङपन्थी वि.स. २०४७ मा नेकपा (एमाले) मा विकसित भयो । त्यस्तै माओवादी धारामा चौथो महाधिवेशन (२०४०), नेकपा मशाल (२०४५) मिलेर नेकपा एकताकेन्द्रका रूपमा देखियो । प्रचण्ड, मोहन वैद्य, निर्मल लामा आदि प्रमुख रहेको एकताकेन्द्र गठन हुँदा यसमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट विद्रोह गरेर शीतलकुमारको नेतृत्वमा आएको विद्रोही ‘मसाल’ (यसैमा डा. बाबुराम भट्टराई पनि थिए), रूपलाल विश्वकर्मा नेतृत्वको सर्वहारा श्रमिक संगठन र रूपचन्द्र विष्टको नेकपा (जनमुखी) पनि सामेल थिए । संसद्मा रहने वा संसद् छाडेर जनयुद्धमा जाने कार्यनीतिक प्रश्न तथा माओवाद वा माओविचारधाराको वैचारिक विवादको कारण एकताकेन्द्र विभाजित भयो । नारायणकाजी पक्ष संसदीय धारामै रह्यो भने बहुमत समूह प्रचण्डको नेतृत्वमा माओवाद मानेर नेकपा (माओवादी) गठन गरेर दशवर्षे जनयुद्धमा होमियो ।

विचारधाराको स्तरमा मार्क्सवादसामु कुनै संकट छैन, तर मार्क्सवादमाथि मार्क्सवादी खेमाभित्रैबाट भएका हमला भने गम्भीर छन्

०६२/६२ मा गणतन्त्र स्थापना भयो । पहिलो संविधानसभा निर्वाचनमा माओवादीले आंशिक विजय प्राप्त गरे । प्रचण्ड प्रधानमन्त्री र पार्टी अध्यक्ष भएका वेला ०६५ मा माओवादी र नारायणकाजी श्रेष्ठ (प्रकाश) नेतृत्वको एकताकेन्द्रबीच एकता भएर एकीकृत नेकपा (माओवादी) गठन भयो । ०६९ मा क्रान्तिको शान्तिपूर्ण र संसदीय बाटोबाट विकास वा जनयुद्धको जगमा जनविद्रोह भन्ने प्रश्नमा एकीकृत माओवादीबाट अलग भएर मोहन वैद्य, रामबहादुर थापा ‘बादल’ आदिले नेकपा-माओवादी र पछि क्रान्तिकारी माओवादी गठन गरे । ०७२ मा क्रान्तिकारी माओवादीबाट वैचारिक विवादका कारण नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नेकपा (माओवादी) र हाल नेकपामा परिणत भयो भने बादलसहितको एउटा हिस्सा प्रचण्डको एकीकृत माओवादीमा फर्कियो । त्यस्तै डा. बाबुराम भट्टराईले कम्युनिस्ट धाराबाटै अलग्गिएर ०७२ मा नयाँं शक्ति नामक गैरकम्युनिस्ट पार्टी गठन गरे । ०७५ मा प्रचण्ड नेतृत्वको एकीकृत माओवादी र केपी शर्मा ओली नेतृत्वको एमाले मिलेर नेकपा (नेकपा) मा परिणत भयो । विष्णुबहादुर मानन्धरको नेतृत्वमा गठित नेकपा संयुक्त पनि हाल ओली र प्रचण्ड नेतृत्वको नेकपामा विलय भएको छ । एकीकृत माओवादीबाट छुट्टिएका आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र गोपाल किराँंती नेतृत्वको पुनर्गठित एकीकृत नेकपा माओवादी पनि छन् । यस अतिरिक्त संसदीय बाटो अवलम्बन गरेकोे मोहनविक्रम सिंहको मसाल तथा नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीलगायत वैचारिक रूपमा अस्पष्ट केही वामपार्टी छन् ।

विप्लव नेतृत्वको नेकपा पूर्णतः संसदीय व्यवस्थालाई अस्वीकार गरेर वर्तमान सत्ताविरुद्ध आन्दोलनरत छ र सरकारले उसमाथि प्रतिबन्ध लगाएको छ । त्यस्तै वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले संसदीय राजनीतिलाई पूर्णतः अस्वीकार गरे पनि यससँग सम्बन्धित देशभक्त जनतान्त्रिक मोर्चा निर्वाचन आयोगमा दर्ता भएर संगठन विस्तारमा देखिन्छ । ओली–प्रचण्ड नेतृत्वको नेकपा (नेकपा) अहिले सरकारमा छ र यसै माध्यमबाट समाजवादी व्यवस्थामा जाने ढिपी कस्दै छ । यद्यपि उसले समाजवादोन्मुख दाबीका साथ गरेका काम नवउदारवादी पुँजीवादी अवधारणासँग बढी मेल खान्छन् । यो भनेको फासीवादी बाटोको अग्रसरता हो ।

नेपाली कम्युनिस्ट पार्टीको स्थापनाकालदेखिको वैचारिक यात्रामा माओवादी विचारधाराको वर्चस्व रहे पनि अहिलेको कम्युनिस्ट पार्टीको वैचारिक संश्लेषण र कार्यक्रम हेर्दा यसमा उत्तरमाक्र्सवादी प्रभाव बढ्दै गएको देखिन्छ । सरकारी नेकपाको दस्ताबेजले मालेवाद स्विकारे पनि ओलीले आफ्नो पार्टी शास्त्रीय कम्युनिस्ट पार्टी नरहेको, माक्र्सवादी प्रस्थावनाअनुसार समाजको आमूल परिवर्तनमा सशस्त्र बलको अनिवार्य भूमिकाको साटो सुधारात्मक बाटो मात्र आफूहरूलाई स्वीकार्य रहेको भनिसकेका छन् । यस अतिरिक्त मोहन वैद्यको पार्टीको दस्ताबेजमा माओवादलाई संश्लेषण गरेबाहेक अन्य कम्युनिस्ट पार्टीले माओवाद अस्विकारेका मात्र छैनन्, आहुति र किराँतीको पार्टीले त उत्पादक शक्तिका रूपमा परिवर्तन आएको हुनाले अब लेनिनको युग पुरानो भयो, त्यसैले अब सर्वहारा होइन, श्रमिक भन्नुपर्ने र सर्वहारा क्रान्तिको ठाउँमा नयाँ क्रान्ति गर्नुपर्ने धारणा सार्दै छन् । उनीहरूको दस्ताबेजले ओली र प्रचण्डलाई संशोधनवादी वा नवसंशोधनवादी भने पनि उनीहरूको झुकाव पनि संसदीय बाटोतिरै देखिन्छ ।

यस बदलावका निम्ति उनीहरू सूचना–सञ्चार र विज्ञान र प्रविधिका क्षेत्रमा आएको अभूतपूर्व परिवर्तनले गर्दा वस्तु उत्पादनमा मजदुरको भूमिका न्यून हुँंदै गएकोलाई कारणका रूपमा अगाडि सार्छन् । माक्र्सले उत्पादनको मूल शक्ति मजदुर अर्थात् श्रमलाई भनेका थिए । यस परिवर्तनबाट अभिभूत भएर आहुति त अब उत्पादनको मूल शक्ति विज्ञान र प्रविधि हो समेत भन्न पुग्छन् । यसैलाई आधार बनाएर आहुति र किराँती दुवै एक स्वरमा साम्राज्यवादको चरित्रमा परिवर्तन आएकाले आधुनिक साम्राज्यवादलाई सर्वहारा क्रान्ति गरेर पराजित गर्न नसकिने र वैज्ञानिक समाजवादी नीति लागू गर्दै जानुपर्ने धारणा अगाडि सार्छन् । अचम्म त के भने लगभग यस्तै विश्लेषणसहित विप्लव नेतृत्वको नेकपाले उत्तर साम्राज्यको धारणा अगाडि सारेको छ । उसले आफ्नो वैचारिक संघर्षको केन्द्र उत्तर साम्राज्यवादलाई ठम्याएको छ । उत्तर साम्राज्यवादको अर्थ साम्राज्यपछिको पुँजीवाद हो । यसरी विप्लवको विश्लेषण पनि आहुति र किराँंतीजस्तै ‘लेनिनको युग सकियो’मै गएर ठोकिन्छ ।

नेपाली कम्युनिस्ट पार्टीको स्थापनाकालदेखिको वैचारिक यात्रामा माओवादी विचारधाराको वर्चस्व रहे पनि अहिलेको कम्युनिस्ट पार्टीको वैचारिक संश्लेषण र कार्यक्रम हेर्दा यसमा उत्तरमाक्र्सवादी प्रभाव बढ्दै गएको देखिन्छ

रोचक के छ भने अहिलेका कम्युनिस्ट पार्टीहरूको वैचारिक निष्कर्ष र कार्यक्रम स्तरमा सरकारी नेकपादेखि लिएर विप्लव, आहुति, किराँती र केही वाम विद्वान्समेत मजदुर, किसान र सर्वहाराभन्दा पनि मध्यवर्गलाई आकर्षित गर्नेतिर बढी लालायित देखिन थालेका छन् । विप्लव नेकपाले त मध्यवर्गको विद्रोहसमेत भन्न थालेको छ । मोहन वैद्यको पार्टी दस्ताबेजमा पार्टीको लाइन माओवाद र नयाँ जनवाद भनिए पनि कार्यदिशा र कार्यक्रमको स्तरमा अरू कम्युनिस्ट पार्टीजस्तै ऊसँग पनि कम्युनिस्ट आन्दोलनको आधारभूत वर्ग मजदुर, किसान अर्थात् श्रमिक वर्गका निम्ति कुनै राजनीतिक संघर्षको ठोस कार्यक्रम देखिँंदैन ।

वैचारिक स्तरमा वैद्यबाहेक प्रायः सबै एउटै लाइनमा देखिन्छन्, पार्टी र प्रस्तुति फरक रहे पनि । कार्यक्रमको स्तरमा वैद्य पनि यसै पंक्तिमा देखिन्छन् । नेपालमा नौलो जस्तो देखिए पनि यो विश्व कम्युनिस्ट आन्दोलनमा सन् २००८ पछि मार्क्सवादमाथि देखिएको संकट वा चुनौतीसँग जुझ्ने नाममा देखिएको एउटा वाम वैचारिक प्रवृत्ति हो । यथार्थमा विचारधाराको स्तरमा माक्र्सवादसामु कुनै संकट छैन, तर मार्क्सवादमाथि मार्क्सवादी खेमाभित्रैबाट भएका यी हमला गम्भीर हुन् ।

उत्तर साम्राज्यवाद भन्नु वा लेनिनको युग सकियो भन्नु अन्ततः मार्क्सवाद सकिएको भन्नु नै हो । हुन त मार्क्सवादले यस प्रकारका प्रश्नको जवाफ पहिल्यै दिइसकेको छ, तर यसपटक आफूलाई कम्युनिस्ट पार्टी भन्नेहरूले नै सर्वहारा, सर्वहारा अधिनायकत्व, वर्गसंघर्ष, सर्वहारा पक्षधरता आदि मार्क्सवाद, लेनिनवाद र माओवादको मूल र क्रान्तिकारी प्रस्थापनामा हमला गर्नु वैचारिक स्तरमा खतरनाक छ । सन् २००८ पछि विश्व कम्युनिस्ट आन्दोलनमा उत्तर मार्क्सवाद दार्शनिकहरूको एउटा सुसंगठित पंक्ति छ- स्लावोय जिजेक, एलेन बेदियु, एन्टोनियो नेग्रो र माइकल हार्ट । माक्र्स, लेनिन र माओका रचनाको सम्पादन गर्ने क्रममा प्रस्तावना लेख्ने यी नयाँं माक्र्सवादी दार्शनिकमध्ये जिजेक बीसौँं शताब्दीको माक्र्सवादी कम्युनिज्मको अन्त्य एउटा विपदामा भएकाले अब नयाँं किसिमको कम्युनिज्मको आवश्यकता औँल्याउँंछन् । बेदियुँ अहिलेको अवस्थामा क्रान्ति, राज्य र क्रान्ति पार्टीको अवधारणा अप्रासंगिक भइसकेको भन्छन् भने नेग्रो र हार्ट पुँजीपतिवर्गको साटो शासक र सर्वहाराको साटो बहुसंख्यक (मल्टिच्युड, श्रमिक) शब्द प्रयोग गर्न रुचाउँंछन् र पुँजी, उत्पादन, सम्पत्तिको श्रेणीको साटो साझा (कमन) को कुरा गर्न चाहन्छन् ।

यो एउटा यस्तो स्थिति हो, जहाँं यी दार्शनिकहरू मार्क्सवादभन्दा अगाडि जाने दाबी पनि गर्दैनन्, तर त्यसलाई स्विकार्ने दाबी पनि गर्दैनन् । यिनीहरूले सर्वहारा अधिनायकत्व र सर्वहारावर्गको अग्रदस्ताको अवधारणालाई क्रमशः गरिब, श्रमिक, निम्नमध्यम वर्ग हुँंदै मध्यमवर्गको विद्रोह र यसै आधारमा वैज्ञानिक समाजवादको स्थापनाको रुमानी कल्पना पनि गर्न पुग्छन् । उत्तरमार्क्सवाद विविध ठाउँंबाट ग्रहण गरिएको सारसंग्रहवादी संशोधनवादी भ्रम हो, जसले नेपाली कम्युनिस्ट आन्दोलनमा जानी–नजानी प्रभाव जमाउँदै गएको देखिन्छ । पुँजीवाद पोषित वाम बौद्धिकहरूले जिजेक, बेदियु, नेग्रो र हार्टलाई जसरी एक्काइसौँं शताब्दीको माक्र्स, लेनिन र माओको रूपमा प्रस्तुत गरिरहेका छन्, त्यसमा विश्वका कैयौँं कम्युनिस्ट आन्दोलन फस्दै छन् । नेपालमा पनि माक्र्सवादी बौद्धिक फेसन र नयाँं खोज्ने नाममा यही भइरहेको छ ।

जहाँंसम्म नेपालको कम्युनिस्ट आन्दोलनको प्रश्न छ, निश्चय नै यहाँं मालेमावादको नयाँं दिशाको आवश्यकता छ, तर त्यो यी उत्तर माक्र्सवादीले भने जस्तै लेनिन र माओको अन्तरवस्तु गुमाएर सम्भव छैन । विचार र आन्दोलन सर्वहारा, मजदुर र किसानको भन्ने र आन्दोलन र प्रतिबद्धता अरू कुनै वर्गको ! यो कसरी हुन सक्छ ? गम्भीर भएर सोच्ने हो कि ? नयाँपत्रिकाबाट

सोम, बैशाख ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विचार-ब्लग समाचार

Like us On Facebook

Follow Us On Twitter