भारोत्तोलनतर्फ थप कीर्तिमान


नेपालगन्ज, ९ वैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलनतर्फ आइतबार पनि कीर्तिमान बन्ने क्रम जारी रह्यो। आइतबार विभिन्न पाँच इभेन्टबाट १५ कीर्तिमान कायम भएका हुन्। नेपालगन्जको नगर भवनमा जारी प्रतियोगितामा नेपाल पुलिस क्लबका राजलक्ष्मी थापा, तारादेवी पुन, विकास कार्की र त्रिभुवन आर्र्मी क्लबकी शारदा चौधरीले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

आर्मीका दिनेश कार्कीले भने क्लिन एन्ड जर्क र कुलमा दुईवटा राष्ट्रिय कीर्तिमान कायम गरे। पुलिसका ओमप्रकाश वैश्यले स्न्याचमा कीर्तिमान कायम गरे। महिला ६४ किलो तौलसमूहमा आर्मीकी शारदा चौधरीले स्न्याचमा ६० केजी, क्लिन एन्ड जर्कमा ८२ केजी र कुलमा एक सय ४२ केली तौल उठाएर तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरिन्।

महिलाको ७१ केजी तौलसमूहमा पुलिसकी राजलक्ष्मीले स्न्याचमा ६३ केजी र क्लिन एन्ड जर्कमा ८१ केजी गरी कुल एक सय ४४ केजी तौल उठाएर तीन राष्ट्रिय कीर्तिमान कायम गरिन्। महिला ७६ केजी तौलसमूहमा पुलिसकी तारादेवीले स्न्याचमा ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजी गरी कुल एक सय ७१ किलो तौल उठाएर तीन कीर्तिमान कायम गरिन्।

पुरुष ८१ केजी तौलसमूहमा पुलिसका विकासले स्न्याचमा एक सय १५ केजी र क्लिन एन्ड जर्कमा एक सय ३५ केजी गरी कुल दुई सय ५० केजी भारवहन गर्दै तीन कीर्तिमान कायम गरे। पुरुषको ८९ केजी तौलसमूहमा आर्मीका दिनेशले क्लिन एन्ड जर्कमा एक सय ३२ केजी र कुलमा दुई सय ३० केजी तौल उठाएर दुई वटा कीर्तिमान कायम गरे। पुलिसका ओम प्रकाशले स्न्याचमा ९९ केजी तौल उठाएर कीर्तिमानसहित रजत जिते।

सोम, बैशाख ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया