सत्तारुढ नेकपाको जिल्ला तहको एकता आज घोषणा हुँदै, एमाले र माओवादीले कुनकुन जिल्लामा नेतृत्व पाए ?


काठमाडौं, ९ वैशाख । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले लामो रस्साकस्सीपछि टुंग्याएको जिल्ला तहको पार्टी एकता  साेमबार घाेषाणा हुँदै छ । सचिवालय बैठकले ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको प्रस्ताव तयार पारी टुंगो लगाएको छ ।
उक्त सूची आज दिउँसो सार्वजनिक गर्ने तयारी गरीएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाले ७०औं पार्टी स्थापना दिवसको अवसर पारेर सोमबार राजधानीको प्रज्ञा भवनमा दिउँसो १ वजे विशेष कार्यक्रम आयोजना गरेको छ। सोहि कार्यक्रमबाटै जिल्ला तहको टुंगो लागेका अध्यक्ष र सचिवको नाम सार्वजनिक गर्ने नेकपाको तयारी छ।
प्रवक्ता श्रेष्ठले भने, ‘लामो समयदेखि संगठनात्मक क्षेत्रमा एकता टुंगिएको थिएन, ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवबारे टुंगो लागेको छ’, ‘त्यसको सूची सोमबार सार्वजनिक हुनेछ।’ उनका अनुसार नेताहरूलाई पनि उक्त सूची आईतवार हेर्न दिईएन । नेकपाले केन्द्रमा पार्टी एकता गरेको भने ११ महिना पछि जिलला तहमा एकता प्रकृया टुङगीएको हो ।
एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन्। एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ।
जिल्लाका अध्यक्ष र सचिव नै दुवै पार्टीका जिल्ला अध्यक्ष (प्रमुख) रहने गरी नयाँ मापदण्ड बनाई एकता टुंग्याइएको बताईएको छ ।

कुनकुन जिल्लामा एमाले र माओवादीले नेतृत्व पाए भन्ने पनि नेताहरूले गोप्य राखेका छन्। केन्द्रीय निकायका रूपमा रहेको पोलिटब्युरो गठनका विषयमा सचिवालय बैठकमा सामान्य छलफल भए पनि निर्णय भएको छैन। भोली मंगलबार पुनः सचिवालय बैठक बसेर पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्य्विभाजनबारे छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता श्रेष्ठले बताए ।
जनवर्गियसंगठनको एकता र केन्द्रीय विभागका विषयमा भने नेकपामा छलफल बाँकी नै छ। नेकपाका २२ जनवर्गीय संगठन र ३२ केन्द्रीय विभाग रहेका छन्। त्यसमध्ये केही जनवर्गीय संगठनको मात्र एकता भएको छ। तर युवा, विद्यार्थी, महिला, मजदुर, किसानलगायतको एकता भएको छैन।

सोम, बैशाख ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter