हलेसीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना गम्भीर घाइते


खोटाङ, वैशाख ३ । काठमाडौंबाट खोटाङको दिक्तेल जाँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राई रहेका छन् ।

चालक र सहचालकसहित १५ जना सवार ना४ख ७४११ नम्बरको बस गएराति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएकाे हाे । दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने अन्य ६ जनालाई जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।

दुर्घटनाका घाइतेको नाम अहिलेसम्म खुल्न सकेको छैन । बस सडकबाट चिप्लिएर १५÷२० मिटर तल झरेपछि कोल्टिएर अड्किएकाले ठूलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवनबाबु खड्काले बताए ।

मङ्ल, बैशाख ३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया