नेपाली बालकहरूलाई यौनशोषण गर्ने इयूका पूर्वकर्मचारी पक्राउ, पाउलको यौनशोषणमा २५ भन्दा धेरै नेपाली बालक


काठमाडाैं, ३ वैशाख ।

नेपालमा २५ भन्दा धेरै बालकमाथि यौनशोषण गरेका युरोपियन युनियन(इयू)का पूर्वकर्मचारी पाउल म्याकार्थी क्यानडामा पक्राउ परेका छन् । इयूका लागि भ्रष्टाचार नियन्त्रणसम्बन्धी परामर्शदाता बनेर काम गरेका पाउल क्यानेडियन नागरिक हुन् ।  करिब डेढ महिनाअघि क्यानडा प्रहरीले उनलाई नेपालमा गरेको अपराधमा पक्राउ गरेको हो । नेपालमा रहँदा पाउल बौद्धस्थित एक संस्थामा समाजसेवी बनेका थिए । सोही संस्थाका बालकलाई आफ्नो डेरामा लैजाने र यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको छ । क्यानडा पुगेपछि उनको साथबाट बरामद मोबाइल तथा ल्यापटपबाट अपराध पत्ता लागेको हो ।

पाउलले बालकहरूको गोप्य भिडियो खिच्नुका साथै यौनसम्बन्धी भिडियोहरू देखाउने गरेका थिए । क्यानडामा ‘चाइल्ड पोर्नोग्राफी’ सम्बन्धी अपराधमा उनीमाथि अनुसन्धान भइरहेको छ । अनुसन्धानमा क्यानडा प्रहरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँग सहकार्य गरेको छ ।

पाउलविरुद्ध नेपाल प्रहरीले समेत मुद्दा दायर गर्ने तयारी गरेको छ । उनलाई नेपाल ल्याउन इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिने सिआइबीका डिएसपी कवित कटवालले बताए । आफ्नो कार्यकाल सकिएपछि उनी अनाथालयमा सहयोगका नाममा  नेपाल आउने गरेका थिए । पाउल गत मंसिरमा नेपालबाट क्यानडा फर्किएका थिए ।

बाल यौनदुराचार अभियोगमा तीन वर्षमा १३ विदेशी पक्राउ 
सिआइबीले पछिल्ला तीन वर्षयता १३ जना विदेशीलाई बाल यौनदुराचारको आरोपमा पक्राउ गरेको छ । धेरै बाल यौनदुराचारीले नेपाललाई आफ्नो गन्तव्य बनाइरहेका छन् । पक्राउ परेकाहरू सबैले सहयोगको आवरणमा बालकहरूसँग नजिकिएर शोषण गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

राष्ट्रसंघको उच्च पदमा पुगेर अवकाश पाएका क्यानेडियन नागरिक पिटर डाल्गिसलाई गत वर्ष सिआइबीले पक्राउ गरेको थियो । हिमालय कम्युनिटी फाउन्डेसन नामक संस्थाको आवरणमा उनी नेपालमा बस्दै आएका थिए । नगरकोटछेउको एक घरमा उनी रंगेहात पक्राउ परेका थिए । नेपाल सहज गन्तव्य भएकाले युरोप, अमेरिका तथा क्यानडाका बाल यौनदुराचारीहरू नेपाल आउने गरेका छन् । ‘उनीहरूको ठूलो नेटवर्क नै छ जस्तो देखिन्छ,’ डिएसपी कटवाल भन्छन्, ‘एक–अर्काको लिंकबाट उनीहरू नेपाल आएको देखिन्छ ।’

बेलायतलगायत कतिपय देशले बाल यौनदुराचारीलाई आफ्नो देशमा आउनै बन्देज गरेका छन् । बाल यौनदुराचारमा विश्वभरि पक्राउ परेका व्यक्तिहरूलाई अध्यागमनको कालोसूचीमा राखेर बेलायतले भिसा नै नदिने गरेको छ । नेपालले पनि इन्टरपोलसँग सहकार्य गरेर उनीहरूलाई रोक्नुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

 बालअधिकारका संरक्षक नै पक्राउ 
बालबालिकाका लागि काम गर्ने एक गैरसरकारी संस्थाका विदेशी प्रतिनिधिसमेत बाल यौनदुराचार अभियोगमा पक्राउ परेका छन् । वसन्तपुरस्थित एसोसिएसन अफ चाइल्ड प्रोटेक्सन(एपिसी)मा आबद्ध ६९ वर्षीय फ्रेन्च नागरिक जर्जस् इगोर हिमान्स्कीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत बुधबार ठमेलको एक होटेलबाट पक्राउ गरेको हो । उनको कोठाबाट प्रहरीले एक बालकलाई उद्धार गरेको थियो । दुई बालकले उनीविरुद्ध उजुरी दिएको सिआइबीका एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।

उनी यसअघि पटक–पटक बाल यौनदुराचारको घटनामा कारबाहीमा परिसकेका व्यक्ति हुन् । जर्जस् सन् २००२ मा फ्रान्समा यस्तै अपराधमा पक्राउ परेका थिए । पछि, उनले शिक्षकका रूपमा सर्बियामा काम गर्न थाले । त्यहाँ पनि आफ्नै विद्यार्थीलाई यौनदुराचार गरेको अभियोग लाग्यो । त्यहाँ जर्जस्ले माफी मागेर देश छाडेका थिए ।  सन् २०१४ यता उनी सातपटक नेपाल आएका थिए । नेपाल भ्रमणको उनको उद्देश्य नै बालकहरूसँग यौनक्रीडामा रमाउनु रहेको खुलेको छ । बालकहरूसँग नजिक हुनकै लागि बालअधिकारसम्बन्धी संस्थामा उनी आबद्ध भएका थिए ।

नयाँपत्रिकाबाट

मङ्ल, बैशाख ३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार