राजनीतिक मुद्दालाई प्रशासनिक र दमनात्मक हल खोज्नु फासीवादको अभ्यास : वैद्य


नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव  मोहन वैद्य ‘किरण’ राजनीतिमा किरण नामबाट चिनिन्छन् भने साहित्य र संस्कृतिक क्षेत्रका पाठकले भने चैतन्य नामबाट चिन्छन् । उनका डेढ दर्जनभन्दा धेरै कला–साहित्य र संस्कृतिसम्बन्धी पुस्तक र बुकलेट प्रकाशित छन् । भारतीय लेखक चन्द्रधर शर्माले लेखेको पाश्चात्य दर्शनसम्बन्धी पुस्तकले जीवनमा धेरै प्रभावित हुुनुका साथै परिवर्तन ल्याएको वैद्य बताउँछन् ।

‘त्यो वेला मलाई संस्कृत दर्शनशास्त्रसम्बन्धी मात्र ज्ञान थियो,’ वैद्यले भने, ‘चन्द्रधर शर्माको प्राचीनदेखि हेगेल दर्शनसम्म पढ्दा धेरै छर्लंग भए । ती पुस्तक पढेपछि जीवनले नयाँ मोड पायो ।’ राहुल सांकृत्यायनले लेखेका वैज्ञानिक भौतिकवाद, भागो नंही दुनियाँको बदलो र वोल्गा से गंगालगायत पुस्तकले धेरै प्रभावित पारेको वैद्य बताउँछन् । ‘राजनीतिक कार्यक्रम हुँदा  घरमा केही नगरी बस्नै सक्दिनँ, छटपटी हुन्छ,’ वैद्य भन्छन्, ‘फुर्सदमा पुस्तक पढेर र लेख रचना लेखेर बिताउँछु ।’वैद्यसँग नयाँपत्रिकाले गरेकेा कुराकानी हामीले सांभार गरेका छाैं ।

एकातिर कम्युनिस्टकै दुईतिहाइको सरकार छ । अर्कातिर नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विद्रोहको बाटो अगालेको देखिन्छ । तपाईं दुवै धाराको आलोचना गर्नुहुन्छ नि ?
हो, सरकारी र सरकारबाहिरका दुवै नेकपाका आ–आफ्नै विचार, राजनीति, कार्यदिशा र बाटा छन् । हामी ती दुवैभन्दा फरक छौँ । त्यस अवस्थामा ती दुवै धाराको सैद्धान्तिक तथा राजनीतिक आलोचना गर्नु स्वाभाविकै हो । हाम्रो आफ्नै सैद्धान्तिक तथा राजनीतिक स्वत्व छ । आफ्नै तरिकाले हामी क्रान्तिको आदर्श, लक्ष्य र बाटोमा हिँडिरहेका छौँ ।

विप्लवहरूमाथि प्रतिबन्धको घटनामा त उनीहरूको पक्ष लिनुभयो नि ?
विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध नितान्त गलत छ । विप्लव नेतृत्वको नेकपा राजनीतिक दल हो र त्यसैले त्यसप्रति राजनीतिक व्यवहार गरिनुपर्छ । सरकारले आफूलाई कम्युनिस्ट सरकार भन्छ । विप्लव नेकपाले पनि आफूलाई नेकपा भनेकै छ । यस अर्थमा एउटा कम्युनिस्ट दलले अर्को कम्युनिस्ट दलमाथि प्रतिबन्ध लगाएको देख्दा आमजनमानसमा विचित्रको अनुभूति पैदा भएको पाइन्छ । यो प्रतिबन्धको विरोध गर्दा हामीलाई विप्लवको पक्ष लिएको भन्ने प्रश्नलाई तीन दृष्टिले हेर्नुपर्छ । पहिलो, प्रतिबन्धको विरोध हामीले मात्र गरेका छैनौँ । सरकारीबाहेक प्रायः सबै दल र शक्तिले गरेका छन् । दोस्रो, राजनीतिक मुद्दालाई प्रशासनिक र दमनात्मक हिसाबले हल गर्न खोज्नु सामान्य संसदीय अभ्यासभित्र पर्दैन र यसमा फासीवादको अभ्यास देखिन्छ । तेस्रो, ऐतिहासिक झापा विद्रोहका वेला तत्कालीन पञ्चायती सरकारद्वारा गरिएको दमनको विरोधमा उत्रिएको पूर्वमाले र जनयुद्धको प्रक्रियामा विगतका सरकारले अपरेसन चलाएकामा त्यसविरुद्ध उभिएको तात्कालिक माओवादीको एउटा पक्षसमेत सरकारमा हुँदै आफूलाई कम्युनिस्ट बताउने दलले ठिक त्यही दमनको तरिका अपनाउनु निकै अशोभनीय कुरा हो ।

तपाईंहरू नेकपा सरकारको चर्को विरोध गरिरहनुभएको छ । मानिसहरू भन्छन्– कम्युनिस्ट भएर अर्को कम्युनिस्टको विरोध किन गर्नुहुन्छ ?
ओलीजी र प्रचण्डजीले अवलम्बन गरेको राजनीतिक नीति, कार्यक्रम, बाटो र कार्यदिशा कम्युनिस्ट आवरणमा पुरानै सत्ता, व्यवस्था तथा संसद्वादको संरक्षण गर्ने र साम्राज्यवादी तथा विस्तारवादी उत्पीडन एवं हस्तक्षेपलाई यथावतै राख्ने मान्यतामा आधारित छ । यो अग्रगमनविरुद्ध पश्चगमनको यात्रा हो । त्यसैले उहाँहरूको पार्टीको राजनीतिक गतिविधिको हामीले विरोध गरेका हौँ । एउटा कम्युनिस्टले अर्को कम्युनिस्टको विरोध किन गरेको भन्ने प्रश्नको जवाफ दुई ढंगले दिन सकिन्छ । पहिलो, विप्लवले नेतृत्व गरेको कम्युनिस्ट पार्टीमाथि ओली र प्रचण्ड नेतृत्वको नेकपाले किन प्रतिबन्ध लगाएको र दमनको बाटो अख्तियार गरेको होला भन्ने कुराको सारतत्वलाई राम्रोसित आत्मसात् गर्न जरुरी हुन्छ । दोस्रो, सक्कली कम्युनिस्टहरूबीच यस्तो हुनै सक्दैन । यस विषयलाई हामीले    गम्भीरतापूर्वक लिनुपर्छ ।

शक्तिको मापदण्ड संसदीय निर्वाचन मात्र हुन सक्दैन, परिस्थिति हेरी हामी चुनावको उपयोग, बहिष्कार वा अरू केही गर्न सक्छौँ ।

सरकारी र विद्रोही दुवैको आलोचना गर्नुहुन्छ । तपाईंहरूको राजनीतिक लाइनचाहिँ के हो ?
हामीले नेपालमा पुँजीवादी जनवादी क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्ति सम्पन्न भइसक्यो भन्ने कुरा मान्दैनौँ । देश अझै अर्धसामन्ती, अर्धऔपनिवेशिक र मूलतः नवऔपनिवेशिक अवस्थामा छ । यस स्थितिमा हाम्रो पार्टी नोकरशाही तथा दलाल पुँजीवाद एवं सामन्तवादद्वारा हुँदै आएको शोषण, उत्पीडन र साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेपविरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न चाहन्छ । हाम्रो राजनीतिक लाइन मूलतः यही नै हो ।
तपाईंहरू निर्वाचनमा जानुभयो तर जित्न सक्नुभएन । फेरि चुनावमा जानुहुन्छ कि अरू कुनै बाटोमा ?
निर्वाचनको आसपासमा बनाइएको मोर्चा छिट्टै स्थापित हुन नसक्नु, आत्मगत स्थिति कमजोर रहनु र दक्षिणपन्थी अवसरवादी हावाहुरी चलेका कारण चुनावमा हाम्रो मोर्चा बलियो शक्तिमा स्थापित हुन सकेन । यहाँनेर कुन कुरामा ध्यान दिन जरुरी छ भने शक्तिको मापदण्ड संसदीय निर्वाचन मात्र हुन सक्तैन । जहाँसम्म चुनावमा जाने वा अरू कुनै बाटोमा भन्ने प्रश्न हो, हामीले संसदीय निर्वाचनलाई एउटा कार्यनीतिक प्रश्नका रूपमा लिँदै आएका छौँ । त्यसको निर्धारण निर्वाचनकै समयको परिस्थितिको अध्ययनले गर्छ । परिस्थिति हेरी चुनाव उपयोग, बहिष्कार वा अरू केही गर्न सक्छौँ । परन्तु हाम्रो बाटो चुनावी भने होइन ।

कम्युनिस्टहरूको टुटफुटबाट जनता निराशा भएको देखिन्छ । तपाईं अझै शास्त्रीय क्रान्ति र जनसंघर्ष भनिरहनुभएको छ । जनताले कम्युनिस्टलाई नै किन पत्याउनुपर्ने ?
हो, नेपाल कम्युनिस्ट आन्दोलनमा पैदा भएका टुटफुट, विभाजन र विचलनका कारण जनतामा केही निराशा पैदा भएकै छ । यो दुःखद् विषय हो नै । तर, यसभन्दा पनि अझै दुःखद् विषय भनेको त कम्युनिस्ट विचारधाराको परित्याग गरेर पनि कम्युनिस्ट पार्टीकै आवरण र नाममा जनतालाई भ्रमित तुल्याउनु हो । हामीले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र त्यसकै तयारीका निम्ति जनसंघर्ष गर्दै जाने नीति अवलम्बन गरेका छौँ ।

यसलाई शास्त्रीय रूपमा क्रान्ति वा जनसंघर्षको कुरा गर्ने भनेर आलोचना गर्न मिल्दैन । क्रान्ति कुनै जादु होइन र क्रान्ति सोच्नेबित्तिकै सम्पन्न भइहाल्ने मनोगत लहड पनि होइन । क्रान्तिका आफ्ना नियम हुन्छन्, यसका आरोह–अवरोहका आफ्नै प्रक्रिया हुन्छन् । क्रान्ति वस्तुगत र आत्मगत परिस्थितिको अनुकुलता, समग्रता र सचेत तयारीमा आधारित हुन्छ । शास्त्रीय माक्र्सवादको विरोध र माक्र्सवादको सिर्जनात्मक प्रयोगका नाममा माक्र्सवादकै भ्रष्टीकरण गर्ने र त्यसको सारतत्वमाथि हमला बोल्ने नवसंशोधनवादबाट नेपाली कम्युनिस्ट आन्दोलन धेरै प्रताडित र दिग्भ्रमित बन्दै आएको यथार्थ हाम्रासामु छ । जनतालाई धोका नदिइ उनीहरूका आशा, अपेक्षा र सपनालाई साकार पार्न निरन्तर क्रान्तिको बाटोमा अगाडि बढ्ने सच्चा कम्युनिस्टलाई जनताले अवश्य नै पत्याउँछन् । यसमा कुनै पनि शंका गर्नु पर्दैन ।

 

सोम, चैत्र २५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया