जब प्रचण्डले गिरिजाप्रसादका ठाँउमा रामप्रसादलाई रोजे …..


मिर्मिरे डेस्क

चैत्र ७ काठमाण्डौं । ०६२ मंसीरमा दिल्लीमा भएको १२ बुदे सम्झौताका मुख्य दुई पात्र मध्य एउटा थिए स्वर्गीय गिरिजा प्रसाद कोईराला । तात्कालीन माघ १९,२०६१ को शाही कु पछि आन्दोलनरत सात राजनीतिक दलका अगुवा भएकाले कोईराला प्रमुख नेता नै भए , त्यस पछि थिए तात्कालीन माओवादीका अध्यक्ष प्रचण्ड ।
त्यो सम्झौता पछि राजतन्त्र विराधी आन्दोलनले नयाँ मोड लियो । कोईराला स्वयं मैदानमा थिए भने ब्याक फोर्सका रुपमा थियो माओवादी । यो सम्झौता पछि संकुचित अवस्थामा रहेको शाही कु विरोधी आन्दोलन तेज भयो र अन्ततः ०६३ बैशाख ११ गते राजासगँ एउटा सम्झौता गरियो र संसद पुनस्थापना भयो र पुनः कोईराला प्रधानमन्त्री भए । त्यो सम्झौताप्रति माओवादी सहमत भएको थिएन र आन्दोलन जारी राख्ने भन्यो तर त्यसको भोलिपल्टै माओवादी युटर्न भयो ।
त्यस पछि २०६३ असार २ गते प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा तात्कालीन प्रधानमन्त्री कोईराला र प्रचण्डबीच ८ बुदे सहमति भयो । यसरी नै मंसीर ५ गते सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता र जनमुक्ति सेनालाई क्याम्पमा राख्ने सहमति भयो ।
यसरी कोईराला र प्रचण्ड सगँ सगै अघि बढे २०६४ साल चैत्र २८ को चुनाव सम्म । त्यतिबेला सम्म दुवै नेता सबै मुद्धामा राष्ट्रिय सहमतिका साथ अघि बढे ।
जब ६५ साल लाग्यो । तब सरकार माओवादीले करीब बहुमतको नजिक सिट जीतेकाले उसलाई सरकार बनाउन दिने कुरामा कोईराला सकारात्मक भए । जेष्ठ १५ गतेको पहिलो संविधान सभाको बैठकबाट राजतन्त्र हटाएर गणतन्त्र घोषित गरियो ।
त्यस पछि नयाँ राष्ट्रपति छान्ने कुरा चल्यो ।
यस पछि प्रचण्ड र गिरीजा प्रसाद कोईरालाबीचको रस्साकस्सी शुरु भयो । कोईराला अब सक्रिय राजनीतिबाट बिश्राम लिने मनशायमा थिए , त्यसैले उनी प्रथम राष्ट्रपति बन्न चाहन्थे । त्यसमा प्रचण्डको साथ जरुरी थियो । कोईरालाको पारीवारीक स्रोतका अनुसार शुरुमा कोईराला र प्रचण्डबीच यस्तो सहमतिको संकेत पनि थियो ।
तर बाह्य वातावरण हेर्दे माओवादीले राष्ट्रपति बनाउने विषयमा कहिले काग्रेस त कहिले एमालेसगँ वार्ता गर्दे अल्मलियो । कहिले कोईराला र कहिले माधव नेपाल त कहिले सहाना प्रधान भन्दै समय वित्दै गयो र अन्ततः माओवादीले राम राजा प्रसाद सिंहलाई अघि सार्यो ।
त्यसको काउन्टरमा काग्रेस, एमाले, फोरम सहित अन्य साना दल मिलेर काग्रेस धनुषाका सासद डा. राम वरण यादवलाई साझा उम्मेद्धार बनाए । र तीन सय ८ मत ल्याएर उनले जीते पनि र प्रथम राष्ट्रपति भए , यो साउन महिनामा भयो ।
त्यस पछि भने १२ बुदे पछि शुरु भएको सहमतिय पद्धति भंग भयो । काग्रेस प्रतिपक्षमा बस्यो र प्रचण्ड प्रधानमन्त्री भए एमालेको साथमा । त्यस बेला देखि कोईराला खल्लो महसुस गर्दै बसे । प्रचण्ड र कोईरालाको यही तित्तताले पछि कटवाल प्रकरण सम्म पुग्दा काँग्रेसले बदला लियो । सेनापति रुकमागंत कटवाललाई बर्खास्त गर्ने मन्त्रीपरिषद्को निर्णय काग्रेसबाट निर्वाचित राष्ट्रपति राम वरण यादवले स्वीकार नगरेर प्रचण्डलाई संकटमा पारिदिए र अन्ततः प्रचण्ड स्वयले राजीनामा दिए ।
यदी विष्लेषकहरु भन्छन् यदी कोईरालालाई राष्ट्रपति बनाउने विषयमा प्रचण्डले कम्प्रोमाईज गरेको भए सहमतिमा सविधान आउने,हतियार व्यवस्थापन तथा सेना समायोजनमा ठूलै संख्यामा जनमुक्ति सेना समावेश हुने संभावना थियो ।
यी सबै कामहरु अपुरो रहदै कोईरालाले सदाका लागि विदा लिए २०६६ साल चैत्र ७ गते ।
उनका राष्ट्रपति हुने चाहना पनि कहिल्यै पूरा नहुने गरी अस्तायो । यो विषय शायद प्रचण्डको अनौपचारीक मन भित्र गुञ्जिरहने विषय बनिरहेको होला । किनकि कोईरालाले मर्नु अघि पनि प्रचण्डमाथि धेरै विस्वास रहेको बताएका कुरा प्रचण्ड स्वयंले बताएका थिए ।
यो विषयमा प्रचण्डको हार भयो । उनले गिरीजा प्रसादसगँको राजनीतिक सहमतिय पद्धति कायम राख्न पनि सकेनन् र रामराजा प्रसाद सिंहलाई राष्ट्रपति बनाउन पनि सकेनन् ।

बिहि, चैत्र ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विचार-ब्लग समाचार