विप्लव क्रान्तिको मैदानमा, प्रचण्ड–बाबुराम दलाल संसदीय व्यवस्थाको गोलचक्करमा(जनयुद्धदेखि वर्तमानसम्म)


काठमाडौ, १ फागुन ।

नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । तत्कालीन बहुदलीय संसदीय व्यवस्थाअन्तर्गत निरंकुश राजतन्त्र अन्त्य गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरेर साम्यवादी व्यवस्थामा पुग्ने लक्ष्यका साथ २०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा जनयुद्ध शुरु भएको थियो । माओवादीका तत्कालीन महामन्त्री प्रचण्डको नेतृत्वमा जनयुद्ध दस वर्षसम्म चल्यो । सामन्त र फटाहहरु गाउँगाउँबाट भागेर सुरक्षाकर्मीको कभर लिन सदरमुकाम र राजधानीमा खुम्चिन पुगेका थिए ।

पुराना सत्ताका सेनालाई नजितेसम्म जनताको सत्ता आउँदैन भन्ने दृष्टिकोण बोकेका माक्र्सवाद–लेनिनवाद–माओवादबाट निर्देेशित जनयुद्ध २०५८ मंसिर ८ गते तत्कालीन शाही सेनाको दाङस्थितको घोराही ब्यारेकमाथि माओवादीका जनमुक्ति सेनाको एक फौजले आक्रमण गरेपछि जनयुद्धले उत्कर्ष रुप लिन पुग्यो । यससँगै सामन्ती राजतन्त्रभित्र भीषण रुपले उतारचढाव शुरुभयो । राजतन्त्रले संसदीय दलहरुको हातमा रहेको सरकारको तालाचाबी आफैंले लियो र दलहरु सडकमा पछारिन पुगे । मुख्य दलका मुख्य नेताहरु कोही घरमै नजरबन्दमा त कोही जेलको चिसो छिँडीमा कोचिन पुगे । जनयुद्ध भने झनै उचाई लिँदै देशका गाउँशहर, बस्तीकन्दरासम्म फैलिन पुग्यो ।

कम जनशक्ति र भरुवा बन्दुकबाट शुरु भएको जनयुद्ध तत्कालीन जनविरोधी शासन प्रणालीका नाइके तानाशाही राजतन्त्रकै कारण छोटो अवधिमै लाखौं जनताको राजनीतिक आन्दोलन बन्न पुग्यो । जनयुद्धको भार र प्रभाव थेग्न नसक्दाको परिणाम २०६० साल साउनमा सरकारले वार्ताको आह्वान गर्यो र सरकार–माओवादीबीच २०६० साउन ३२ गतेसम्म वार्ता चल्यो । तर वार्ता चलिरहेकै अवस्थाबीच शाही सेनाको एक टोलीले २०६० साउन ३२ गतेकै दिन बिहानीपख रामेछापको दोरम्बा गाउँमा निशस्त्र अवस्थामा एरिया बैठक बसिरहेका बेला माओवादीका जिल्ला जनसरकार प्रमुख बाबुराम लामासहित २१ जना नेताकार्यकर्तालाई नियन्त्रणमा लिई डाँडाँकटेरीमा पुर्याएर निर्मम तरिकाले गोली हानी हत्या गरेपछि वार्ता भंग भयो । युद्ध पुनः भीषण रुपमा चल्यो । यसपछि राजतन्त्र झनै थप संकट पर्यो भने जनयुद्ध विश्व सर्वहारा वर्गको ढुकढुकी बन्दै अघि बढ्यो । नेपाली जनता राजधानी केन्द्रमा समेत आफ्नो सत्ता आफैं निर्माण गर्ने तहबाट अगाडि बढ्दै गएपछि शाही सरकारले पुनः वार्ताको आह्वान गर्यो । भारतीय भूमिमा रहेका जनयुद्धका नेतृत्वकर्ता प्रचण्डले सडकमा पछारिएका तत्कालीन सात दलसँग संयुक्त जनआन्दोेलन गर्ने योजनासाथ १२ बुँदे समझ्दारी गरे । २०६२ चैत्र २४ देखि २०६३ बैशाख ११ गतेसम्म देशैभरबाट जनता उराली राजधानीलगायत सदरमुकाम, मुख्य सहरहरुमा संयुक्त जनआन्दोलन चर्काइयो । परिणामस्वरुप २०६३ बैशाख ११ गते सामन्ती राजतन्त्रका तत्कालीन राजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई नै फिर्ता गरेको’ घोषणा गरे । यो सँगै अढाई सय वर्ष लामो निरन्तर राजतन्त्रको अन्त्य भयो ।

त्यसपछि जनयुद्धलाई क्रमश स्थगन गर्दैै अन्तरिम सरकारमा सामेल गराइयो । २०६३ मंसिर ५ गते अन्तरिम सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालासँग विद्रोही पक्षको तर्फबाट प्रचण्डले हस्ताक्षर गरेर ‘बृहत शान्ति–सम्झौता’ गरे र पूर्ण विजयीको संघारमा पुगेको महान जनयुद्धलाई औपाचरिक रुपमा स्थगन गरियो । ‘शाही सेनालाई नेपाली सेना बनाइयो भने संयुक्त राष्ट्र संघको एक युनिटको प्रत्यक्ष निरीक्षण र निगरानीमा जनमुक्ति सेनालाई अस्थायी शिविर बनाएर राखियो ।

तर उक्त ‘बृहत शान्ति–सम्झौता’ कागजको खोस्टबाहेक केही होइन भन्ने संसदीय दलहरुको रवैया र प्रचण्ड–बाबुरामको दक्षिणपन्थी आत्मसमर्पणवादी चरित्रका कारण जनयुद्धको लक्ष्य र उद्देश्य पूरा हुनुको साटो दिनहुँजसो धोका र घातका श्रृंखला तीव्र रुपमा चले । जनयुद्धले लिएको उद्देश्य र क्रान्तिको झण्डा अलपत्रमा पारियो । पार्टीभित्र पार्टी नेतृत्वले लिएको गद्दार र आत्मसमर्पणकारी चरित्रको पक्ष वा निरन्तर क्रान्ति गर्दै जनयुद्धको अधुरो लक्ष्य पूरा गर्ने भन्ने पक्षबीच दुई लाइनको बीजारोपण भयो । अन्तरसंघर्षले उत्कर्ष रुप लिन पुग्यो । धोका र गद्दारीको लाइन प्रचण्ड–बाबुरामले लिए भने निरन्तर क्रान्तिको लाइनमा मोहन वैद्य ‘किरण’को नेतृत्वमा युवा नेता नेत्रविक्रम चन्द ‘विप्लव’को पंक्ति खडा भयो । यसको प्रभाव मुलुकभर २१ वटा अस्थायी शिविर (क्यान्टोनमेन्ट)मा राखिएका हजारौं संख्याका जनमुक्ति सेनामा पनि पर्यो । झण्डै विद्रोहको स्थितिमा पुग्यो ।

यस्तै अवस्थाबीच पुरानो संसदीय व्यवस्थाको दलदल र प्रभावमा डुब्दै गएका पार्टी नेतृत्वलाई क्रान्ति र परिवर्तनको पक्षमा रुपान्तरण गर्ने प्रयासस्वरुप क्रान्तिकारी पंक्तिको दबाबमा २०६६ सालमा भक्तपुरको खरिपाटीमा राष्ट्रिय भेला र २०६८ को पालुङटार भेला सम्पन्न भयो । खरिपाटी भेलामा प्रचण्ड–बाबुरामले प्रस्तुत गरेको जनगणतन्त्रविरोधी ‘जनपक्षीय लोकतान्त्रिक गणतन्त्र’को राजनीतिक प्रस्तावको लगाम समात्दै उनीहरुले संसदीय व्यवस्थाको वकालत गरे र प्रतिक्रान्तिको कित्तामा उभिन पुगे । उनीहरुले नै भन्ने गरिएका फोहोरी संसदीय व्यवस्थाको गोलचक्करमा घुमिरहेका छन् ।

पालुङटारको भेलापछि किरण पक्षले सारेको क्रान्तिको दस्तावेज र प्रचण्ड–बाबुरामको नक्कली प्रजातन्त्र (लोकतन्त्र)को पक्षपोषण गर्ने दस्तावेजबीचको टक्करले गर्दा पार्टीलाई दुई धुव्रमा विभाजित गर्यो । प्रचण्ड–बाबुरामलाई महान जनयुद्धका ‘गद्दार’को संज्ञा दिदैँ किरण नेतृत्वको पंक्ति निन्तर क्रान्तिको लाइनमा उभियो । त्यहीबेला प्रचण्डको हातबाट प्रधानमन्त्री पद बाबुराममा पुग्यो । प्रचण्ड अन्तर्राष्ट्रिय दबाब र तनावमा परे । परिणामस्वरुप २०६९ मा बाबुराम नेतृत्वको सरकारकै पालामा प्रचण्डले आफ्नै नेतृत्वको जनमुक्ति सेना राखिएका क्यान्टोनमेन्टमा मध्यरातमा नेपाली सेना परिचालन गरी कब्जा गर्न लगाए र मुलुकमा नांगो रुपमा प्रतिक्रान्तिको शुरुवात भयो । ‘जनविद्रोह गर्न शहर पसेका हौं’ भनेर आफैंले व्याख्या गरेको शान्ति प्रक्रियाको रणनीति झुठा भएको कुरालाई आफैंले प्रमाणित गरिदिए ।

त्यसपछि दुई लाइन संघर्ष पार्टी विभाजनमा परिणत भयो । २०६९ को असार ४ मा किरणको नेतृत्वमा बौद्ध भेला भयो र उनकै नेतृत्वमा नेकपा ड्यास माओवादी नामाकरण गर्दै पार्टी पुनर्गठन गरियो । उता प्रचण्ड र बाबुरामबीच फाटो आयो । प्रचण्ड एनेकपा (माओवादी केन्द्र) बोकेर हिँड्न थाले भने घोषित रुपमै मालेमावाद त्यागेर बाबुराम नयाँ शक्ति नामक पार्टी गठन गरेर सिद्धान्तमा नेपाली कांग्रेसलाई समेत उछिन्न पुगे । उता संविधानसभाको निर्वाचनका बेला ‘बने जनसंविधान नत्र जनविद्रोह’ भन्ने प्रचण्डको तर्क नराम्ररी तुहिन पुग्यो । अहिले प्रचण्ड पार्टीलाई एमालेमा विलय गराई सरकारको हिस्सेदार बनेका छन् ।

उता ड्यास माओवादीले प्रचण्डहरु मिलेर आयोजना गरेको २०७० को दोस्रो संविधानसभाको निर्वाचन सशक्त बहिष्कार गर्ने निर्णय गर्यो तर नेतत्वृको अकर्मण्यताका कारण बहिष्कार सफल हुन सकेन र पार्टी नै भद्रगोल बन्न पुग्यो । सो पार्टीभित्र पनि किरण पक्ष र विप्लव पक्षको रुपमा अन्तरसंघर्ष पैदा हुन पुग्यो । काठमाडौंमा सातौं महाधिवेशन आयोजना गरियो । महाधिवेशनले पालुङटार भेलामा किरणले प्रस्तुत गरेका ‘जनयुद्धको जगमा जनविद्रोह’लाई नै कार्यदिशाको रुपमा पारित गर्यो । त्यसपछि कार्यदिशा कार्यान्वयनमा नआउँदै अन्तरसंघर्ष दुई लाइन संघर्षमा परिणत हुन पुग्यो ।

अन्ततः २०७१ मंसिर ८ गते किरणसँग सम्बन्ध विच्छेद गर्दै विप्लवको नेतृत्वमा दाङमा प्रथम राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले ‘नेपाल कम्युनिस्ट पार्टी माओवादी’ पार्टी पुनर्गठन गर्यो । प्रचण्ड–बाबुराम क्रान्तिको झण्डालाई अलपत्र छाडेर दक्षिणपन्थी र साम्राज्यवादीसँग आत्मसमर्पण गरेर प्रतिक्रान्तिकारी बनेको र किरण अकर्मण्यतामा फसेको निष्कर्ष निकाल्दै निरन्तर क्रान्तिमार्फत महान जनयुद्धका सपना पूरा गर्ने उद्घोषसहित राजनीतिक मैदान उत्रियो । उसले सम्मेलन भएको दुई वर्षपछि २०७३ फागुन १ मा काठमाडौंमा आठौं महाधिवेशन उद्घाटन गरेर जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा ८ गते सम्पन्न गर्यो । महाधिवेशनबाट मालेमावादलाई मार्गनिर्देशक सिद्धान्त स्वीकार्दै पार्टीलाई नेपाल कम्युनिस्ट पार्टीमा पुनर्गठन गर्यो भने ‘जनयुद्धको जगमा जनविद्रोह’लाई पछाडि पार्दै एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा पारित गरी जनताको आफ्नै सत्ता वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने लक्ष्यसाथ अहिले देशैभर कार्यक्रमसहित सक्रिय रहेको छ । यसबिचमा उसले गत मंसिर ८ गते राजधानीमा पार्टी पुनर्गठनको पाँचौं वर्षगाँठ विशाल जनसभाको आयोजना गरी भव्यरुपमा मनाइसकेको छ । यसबिचमा एमालेमा विलय हुन पुगेका प्रचण्डसहितको पार्टी नेतृत्वको सरकारले नेकपाका प्रवक्ता प्रकाण्डसहित दर्जन केन्द्रीय नेताहरुमाथि चरम दमन, हिरासत र झुठा मुद्दा थोपरिसकेका छन् । सयौं नेता कार्यकर्ता अझै जेल र हिरासतमा छन् । अझै पार्टीमाथि दमन र हस्तक्षेप रोकिएको छैन । दमन र हस्तक्षेपका बाबजुद पार्टीको लोकप्रियता भने ह्वात्तै बढेको छ । उता जनयुद्धका क्रममा प्रचण्डको आह्वान सँगै जनताको सत्ता स्थापनाका लागि तत्कालिन शाहि सेनाबाट बिद्रोह गरी माओवादीमा हतियार सहित सामेल भएका पूर्व जनसेना भलक सहित केहि अहिले जेल जीवन बिताईरहेका छन् ।

यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २४ औं जनयुद्ध दिवसको अवसर पारेर आज देशैभर विभिन्न कार्यक्रम आयोजना गरी जनयुद्ध उत्सव मनाउँदैछ । काठमाडौं उपत्यकामा ११ बजे काठमाडौंको शान्तिबाटिका, १२ बजे ललितपुरको लगनखेल र दिउँसो २ बजे भक्तपुरको सूर्यविनायकमा केन्द्रीय नेताहरुको सम्बोधनसहित भव्य कार्यक्रम हुन लागेको नेकपा उपत्यका विशेष ब्यूरोले जानकारी दिएको छ ।उता पूर्वमा पनि ईलाम र सर्लाहिमा बृहत कार्यक्रम गर्न लागिएको पूर्वी कमाण्डले जनाएको छ । देशभर बिभिन्न कार्यक्रम गरिने सो पार्टीले जनाएको छ ।

बुध, फाल्गुन १, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया