एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट खेल्न नेपाली टोली आज थाइल्याण्ड जादैँ


काठमाडौं, कार्तिक ५ । एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट खेल्न नेपाली टोली आज (सोमबार्र थाइल्याण्ड जादैँ छ ।

यही कार्तिक ७ देखि ११ गतेसम्म थाइल्यान्डको चोनबुरी रङ्गशालामा हुने उक्त छनोट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आईतवार नै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरिसकेका छन् ।

गत असोजमा भूटानमा भएको साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल यसपटक शीर्ष स्थान हासिल गर्ने लक्ष्यका साथ आज थाइल्याण्ड जान लागेको हो । छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक थाइल्याण्डसहित भारत र पाकिस्तान छन् । नेपालले आफ्नो पहिलो खेल कार्तिक ७ गते थाइल्याण्डसँग खेल्नेछ ।

कार्तिक ९ गते हुने दोस्रो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्नेछ भने छनोटको अन्तिम खेल कार्तिक ११ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो चरणमा विभिन्न ६ समूहमा २५ राष्ट्रले प्रतिस्पिर्धा गर्दैछन् । जसमा समूहका शीर्ष स्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा प्रवेश पाउने छन् भने प्रत्येकका समूहबाट उत्कृष्ट हुने दुई उपविजेता पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

नेपाली टोलीमा गोलरक्षक अञ्जना रानामगर, उषा नाथ र रविता राई छन् भने डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान र पूजा रानामगर रहेका छन् ।

त्यसैगरी मिडफिल्डरमा सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुवानी कुस्वार, सिर्जनासिंह ठकुरी तथा सम्झना लावती छन् । फरवार्डमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जिम्बा, सम्झाना शर्मा छन् ।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया