हुने खानेलाई दशै, नहुनेलाई दशा !


सिर्जना तिम्सिना
आयो दशैं बाजा बजाई गयो दशै क्रृण बोकाई भन्ने पुरानो नेपाली उखान हो दशै पर्वका बारेमा । दशै पर्व हिन्दुहरुको मात्रै भनिए पनि अन्य जातिय तथा धार्मिक समुदायले पनि विभिन्न तरीकाले यो पर्वमा सहभागीता जनाएको देखिन्छ ।
जस्तो नेवारहरुले मोहनी नखको रुपमा, किरात, मगरहरुले सेतो टिका लगाएर भए पनि दशै कुनै न कुनै रुपमा मनाएको देखिन्छ ।
दशै एकातिर आफन्तजन भेटघाट गर्ने रमाईलो गर्ने र भावनान्तम सम्बन्ध प्रवल बनाई राख्ने राम्रो पर्वका रुपमा देखिन्छ यो सकारात्मक पक्ष हो । तर यसले समाजको विपन्न बर्गमा ठूलो आर्थिक समस्या निम्त्याउने गरेको छ ।
दशैमा बढ्दै गएको महंगो लुगा र गरगहना खरीद गर्ने, ठूलो रासीमा दक्षिणामा खर्च गर्ने र अत्याधिक मात्रामा मासु तथा मदिराको प्रयोग गर्ने र यसमा देखासिखि गर्ने संस्कार बढेकाले यसले समाजमा आर्थिक समस्या भने बढाएको देखिन्छ ।
आर्थिक सम्पन्नता भएकाहरुलाई जति खर्च गरे पनि रमाईलो लाग्ने दशै आर्थिक विपन्न हरुलाई भने क्रृण काढ्नु पर्ने, चर्को व्याज तिर्नु पर्ने र समाजमा देखाउनकै लागि भोज भतेर गर्नु पर्ने बाध्यताले दशै दशाको रुपमा देखिदै गएको छ ।
आर्थिक हिशाबले पनि देशमा चामल, चिउरा, मदिरा, मासुजन्य जनावार रागा, खसीबोका, र मसलाको ठूलो मात्रामा खास गरी भारतीय बजारबाट आयात भएको देखिएको छ । साथै लत्ता कपडा पनि भारत र चीन लगायतका मुलुकबाट ठूलो मात्रामा आयात भएको छ ।
कृषि प्रधान देश नेपालमा आखिर विदेशिएका नागरिक बाहेक हेर्ने हो भने करीब अढाई करोड जनतालाई खान पुग्ने खसीबोका किन देशले उत्पादन गर्न सकेन ? रागा भैसीको उत्पादन किन हुन सकेन ? टमाटर किन फलाउन सकिएन ? यसमा राज्यको कुनै ठोस भिजन भएको देखिदैन । राज्य उत्पादकत्व र आर्थिक वृद्धिका सवालमा गंभीर देखिदैन । ठूलो मात्रामा उत्पादन कार्यमा संलग्न हुन सक्ने युवा शक्ति खाडीमा पठाईएको छ । उनीहरु खाडीमा दशै भन्दा पनि विदेशीको गुलामी गरेर परिवारको दशैका लागि केही रकम पठाउन विवस छन् ।
देशले आर्थिक आत्मनिर्भरता र उत्पादन नबढाउने हो भने अहिलेको ७ खर्बको त्रृण बढेर जाने छ भने न्युनतम जीवन यापनका दृष्टिले गरीबीको संख्यामा पनि बृद्धि हुने छ ।

अहिले राज्यकै आकडा अनुसार २८.४ प्रतिशत जनता गरीबीको रेखामुनि छन् । त्यो अनुसार हेर्दा ९० लाख भन्दा बढी नेपाली जनता गरीबीको रेखा मुनि छन् । जसले महगो जीवन शैली धान्न सक्दैनन् र उनीहरु साहुको क्रृण र बैदेशिक रोजगारी या अन्य श्रमका आधारमा जीवन विताईरहेका छन् । लाखौ चेलीहरु मुम्बई र दिल्लीको कोठरीमा शरीर बेच्न बिबस छन्  । हजारौ दिदि बहिनीहरु काठमाडौं र अन्य सहरमा जीवन जिउनका लागि शरीर बेच्न बिबस छन् ।  उनीहरुले यो महगो दशैको भार कसरी थेग्न सक्छन् ? यस बारेमा सबै गंभीर हुन जरुरी छ ।
अर्कोतिर बढ्दो मदिरा खपत विशेष गरी मंहगा विदेशी रक्सीहरुको आयातमा किन बृद्धि भएको छ ? कम आय भएका मानिसहरुले पनि किन महगो जीवन शैली अपनाउदैछन् ? यो पक्कै पनि आर्थिक आधार अनुसारको सांस्कृतिक परिवर्तन भईरहेको छैन । यो बढ्दो विकृतिले समाज अझ जटिलता तर्फ नजाला भन्न सकिदैन ।
नेपाली नागरिक कसैलाई दशै कसैलाई दशा नबनोस् । न्युन आर्थिक व्यवस्थापनमा पनि सकारात्मक भावनात्मक वातावरण बनाउन सकिन्छ । यदी हामी आफैले कोशिस गर्यौ भने कि ?

बिहि, कार्तिक १, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया