प्रदेश आयोग गठन नहुन्जेल भर्ना केन्द्रबाटै: मन्त्री पण्डित


काठमाडौ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश लोकसेवा आयोग गठन नहुदासम्म संघीय लोक सेवा आयोगबाटै कर्मचारी भर्ना हुने बताएका छन् । उनले केही पदहरुको बढुवा प्रक्रिया २ महिनाका लागि स्थगित गरिएको जानकारी दिए । बडादशैंको अवसरमा सञ्चार केन्द्र नेपालले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री पण्डितले समायोजनको प्रक्रिया लगभग टुंगिएको जानकारी दिएका हुन् । मन्त्री पण्डितले यही पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा समायोजन पूरा गर्ने मन्त्रालयको लक्ष्य लिएको बताए । ‘अब समायोजनमा केन्द्र्रित भएका छौं । पुस मसान्तभित्र समायोजन सकिने लक्ष्य छ । यससम्बन्धी ऐन मन्त्रिपरिषदको विधेयक समितिमा पुगेको छ’, मन्त्री पण्डितले बताए । उनले समायोजनका लागि आवश्यक पर्ने ऐन, नियमबाट केही बाधा नपर्ने समेत उल्लेख गरे । केही महिनाका लागि बन्द भएको विषयलाई सम्पूर्ण लोकसेवा आयोगको विज्ञापनहरु बन्द भयो भन्ने गलत हल्ला चलेकोमा उनले चिन्ता समेत राखे । निजामती प्रशासनलाई सबल, सक्षम एवं प्रविधिमैत्री बनाउन सरकार लागिपरेको जानकारी समेत उनले दिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बालकृष्ण बस्नेतले सरकारले हालै न्यूनतम पारिश्रमिक तोकेपनि त्यसको कार्यान्वयनमा समस्या भएकोले त्यसको प्रभावकारी अनुगमन हुनुपर्ने बताए । सञ्चार केन्द्रका अध्यक्ष एवं नेपाल प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाई शुभकामना राखेका थिए । भने कार्यक्रमको सञ्चालन दुर्गा चौंलागाईले गरेका थिए ।

सोम, अशोज २९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया