‘क्रान्तिका ४ जादुगरी हतियार: पार्टी, सेना, संयुक्त मोर्चा र सञ्चार’


अनिल शर्मा ‘विरही’

प्रचण्ड–ओली गुट नेकपाको विस्तारलाई रोक्न र दमन गर्न चाहन्थ्यो । त्यसका लागि उनीहरुले तयारी गर्दै थिए । उनीहरुले सबै तहको चुनाव सम्पन्न सम्पन्न गरे । सायद दिल्ली दरबारको आशिर्वाद पनि थपिसके । त्यसपछि उनीहरु दमनमा तयारीसाथ उत्रिन थाले । त्यसैक्रममा ओली गुटका कट्टर हिमायती १ नंं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले पूर्वमा नेकपाको बिऊ नै मास्ने घोषणा गरेका छन् । कसको बीऊ कसले मास्ने हो ? सामाजिक दलाल र वैज्ञानिक समाजवाद कसले जित्ने हो ? शेरधन राई जीवनभरि मुख्यमन्त्री भइरहने हुन् कि होइनन् ? त्यसको जवाफ समयले नै दिनेछ ।

अहिले यहाँ प्रश्न उठाउँन खोजेको विषय चाहिं कमरेड प्रकाण्डको गिरफ्तारी र त्यसपछि उत्पादन गरिएको सरकारी प्रचार युद्धको विषय हो । नेकपालाई सशस्त्र भीडन्ततिर धकेल्न र देशलाई गृह युद्धमा फसाउन दलालहरु धोती कसेर लागेका छन् । त्यहीबेला नेकपाको केन्द्रीय समितिको बैठक बस्यो । एउटा क्रान्तिकारी पार्टीको केन्द्रीय समितिको बैठक बस्नु, विस्तृत छलफल र योजना बन्नु, त्यसको सम्प्रेषण तलसम्म पुगेपछि कस्तो माहोल बन्छ ? भन्ने कुरा प्रचण्डलाई थाहा छ । त्यसकारण प्रचण्ड मण्डली नेकपाको केन्द्रीय समितिको बैठक नै असफल पार्ने, अवरोध गर्न्तिर लागे । त्यसको लागि प्रधानमन्त्रीलाई समेत सहमत गराए । त्यसको उद्देश्यहरु थिए–

१. केसको बैठक अवरोध गर्ने ।
२. चेन अफ कमाण्ड भत्काउने ।
३. भयवाह श्रृजना गर्ने ।
४. मित्र शक्तिहरुलाई गोलबन्द हुन नदिने ।
५. गति अवरुद्ध गर्ने ।
६. प्रकाण्डलाई गिरफ्तार गर्दा पनि गल्छन् कि गल्दैनन् हेर्ने ।
७. नेकपा र समाजको समग्र प्रतिक्रिया बुझ्ने ।

सामाजिक दलाल पुँजीवाद नाङ्गिदै गएको र नेकपाको पक्षमा राष्ट्रिय परिस्थिति अनुकूल बन्दै गएपछि सरकार हतारहतार दमनमा उत्रिएको हो । ओली र प्रचण्डले अनौपचारिक रुपमा आ–आफ्नो गुटलाई नेकपाको समर्पणमा पठाएर वार्ता प्रक्रिया (यथार्थमा आत्मसमर्पण प्रयास) गरेका र त्यो षड्यन्त्र असफल भएपछि दमनको प्रयास भएको थियो ।

ओली प्रचण्ड योजना अनुसार कमरेड प्रकाण्डलाई गिरफ्तार गरियो । त्यसपछि नै प्रचारयुद्ध तीव्र पारियो । प्रचण्ड, ओली र केही भँडुवाहरुले सञ्चालन गरेका सञ्चारमाध्यमले कमरेड प्रकाण्डको विषयमा योजनावद्ध रुपमा थरिथरिका कथाहरु रच्न थाले । आर्थिक हिनामिना, पार्टीमा अन्तरर्विरोध, मतभेद, गिरफ्तारीमा आन्तरिक कारण जिम्मेवार, प्रकाण्डले क्रान्तिकारी धार छोड्ने, जानीजानी गिरफ्तारी दिएको आदिआदि प्रचार गरियो । कमरेड शिलु लगायतको सन्दर्भमा पनि त्यही भयो । आर्थिक प्रश्नमा नेकपा विवादरहित र समस्या नै नभएको भन्न नमिल्ला तर नेकपाजति पारदर्शी र व्यवस्थित अरु कुनै दल आजको मितिसम्म नेपालमा छैन । ‘खुला र स्पष्ट हुनु भनेको भित्री बस्त्र निकाल्नु होइन’ पारदर्शिताको अभ्यास गर्दा भएका कार्यशैलीगत त्रुटीहरुको अलग छलफल हुनेछ । त्यो अलग विषय हो । धोका र अविश्वासको राज भएको नेपाली समाजमा सकारात्मक कुरा गर्नासाथ चाकरी ठान्ने र आलोचना गर्नासाथ तथ्य नखोजी विश्वास गर्ने गरिन्छ । आलोचनात्मक चेतको विकास भएको छैन ।

बेलाबेलामा हामी आफै त्यसको शिकार हुन्छौं । कार्यशैली, पात्र र प्रवृत्तिको मूल्याङ्कन, नीजि मनोविज्ञान जस्ता प्रश्नमा नेकपाभित्र अन्तर वा फरकफरक सोंचहरु होलान् तर मूल नेतृत्व र विचार तथा कार्य्दिशामा एकजनाको पनि औपचारिक वा अनौपचारिक फरक मत छैन । भविष्यको कुरा नगरौं, तत्काल त्यो हुने सम्भावना पनि छैन । नेतृत्वमा विभाजन नल्याएसम्म दमन गर्न सकिन्न र कार्यकर्ताको मनोबल घटाउन पनि सकिन्न भन्ने उनीहरुले बुझेका छन् । तर हुँदै नभएको कुरा बनाएर बन्दैन । ‘एउटा भेडी भएर ब्यायो, अर्को भेडी स्वरस्वरैमा व्यायो’ भनेझै गर्नु भएन । कमरेड प्रकाण्ड र कमरेड शिलुको गिरफ्तारीमा आन्तरिक कारण पनि छ कि भन्ने बजार हल्ला चलाइएको छ । भगौडा र भाग्न खोजेका (मन ओली प्रचण्डतिर ज्यान विप्लवतिर भएका) तत्वहरु पनि संलग्न हुन सक्छन् भन्ने आशंकाबाहेक अरु कोठाबाट कसैले हेरेको छैन, न त प्रकाण्ड, शिलु वा पदमहरुले नै हेरेका छन् । यो प्रचण्ड स्कूलिङवाला पार्टी होइन । गृह मन्त्रालय र उसको गुप्तचर विभाग तथा उसको नुनपानी खाएका तत्वहरुको रणनीति थाहा छ । अरु पनि थुप्रै मनगढन्ते तर्कहरु गरिएका छन् । प्रचार युद्धमा ‘फेक न्युज’उत्पादन र विवरणलाई तीव्र पारिएको छ । दक्षिण र एशियामा फेक न्युज उत्पादन र विवरणमा भाजपा अग्र स्थानमा छ । भाजपा शैलीलाई नेपालमा पनि आयात गरिएको छ ।

समग्र र संक्षिप्तमा भन्नुपर्दा नेकपाको प्रचार युद्ध, प्रचारको मोर्चाबाट आत्मरक्षा र प्रतिरोध कमजोर भएको देखिन्छ । सम्भावना भएकै जतिपनि काम भएका छैनन् । यो विषयलाई सैद्धान्तिक रुपले नै उठाउँन आवश्यक छ । पार्टी प्रकाशन र नेताको प्रशिक्षणको भरमा यो मोर्चा जित्न अबको दुनियाँमा सम्भव छैन । त्यसको लागि आम सामाजिक चेतना नै उठाउनुु पर्दछ । अध्यक्ष माओले पार्टी, सेना र संयुक्त मोर्चालाई क्रान्तिका ३ जादुगरी हतियार भन्नुभएको थियो । अबको युगमा ‘सञ्चार’ समेत थपेर क्रान्तिका ४ जादुगरी हतियार बनाउन आवश्यक छ । जसमा आम कार्यकर्ता र जनता नै दलाल पुँजीवादको विरुद्ध प्रचार युद्धलाई उठाउनुपर्छ । प्रचार युद्ध भनेको जनमत बनाउने र भत्काउने, मनोबल उठाउने र निराशा पार्ने, दिशा स्पष्ट गर्ने र विभ्रम श्रृजना गर्ने विषय हो । जनमत निर्माणमा सचेत प्रयत्न परम्परागत शैलीमा सम्भव छैन ।

८ असोज २०७५

सोम, अशोज ८, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया