क्रान्तिकारी पत्रकार संगठनको बृहत् अन्तरक्रियाः कानूनको रक्षक मानिने सरकार नै भक्षक बन्योः अधिकारकर्मी


६ असोज, कञ्चनपुर ।

अधिकारकर्मीहरुले राज्य नै मानव अधिकार र प्रेस स्वतन्त्रताको घाँटी निमोठ्न उद्यत रहेको बताएका छन् । राज्यसत्ताकै कारण मुलुकमा गम्भीर राजनीतिक संकट निकट बन्दै गएको भन्दै उनीहरुले गहिरो चिन्ता व्यक्त समेत गरेका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय आयोजनामा कञ्चपुरको महेन्द्रनगरमा शनिबार आयोजित ‘बृहत् अन्तरक्रिया कार्यक्रम’मा अतिथिको रुपमा बोल्दै मानवअधिकारवादी, संचारकर्मी, कानून व्यवसायी, नागरिक अगुवा तथा विभिन्न राजनीति दलका प्रतिनिधिहरुले सरकारले मानव अधिकार र स्वतन्त्र प्रेसमाथि दमन र उल्लंघन गरेको बताएका हुन् । सरकार अधिकारको रक्षक हुनुपर्नेमा भक्षक भएको जिकिर वक्ताहरुले गरेका छन् ।

वक्ताको रुपमा बोल्ने सबैले वर्तमान सरकारको विकल्प खोज्नतिर नागरिकले सोच्न थालिसकेको बताउँदै सरकार अहिलेको अवस्थाबाट फर्केर विधिको शासनमा नआउने हो भने सत्ता भत्किनबाट कसैगरी रोक्न नसक्ने धारणा राखेका छन् ।

अधिवक्ता यज्ञराज जोशी, डी.आर. जोशी र कृष्णदत्त जोशीले सरकारले मानवअधिकारको रक्षाबारे गम्भीर त्रुटी गरेको र कानूनको पालना नगरेर समाजमा अराजकता फैलाएको तर्क राखे । बालिका निर्मला पन्तको हत्यारा उम्काउने प्रयात्नमा सरकार नै लागेको अधिवक्ता यज्ञराज जोशी भनाई छ । ‘हत्यारा पत्ता लगाउने अब सडक विद्रोहबाट मात्र सम्भव देखियो’ जोशीले भने । उनीहरुले कानूनी व्यावसायीहरु सरकारको कामकारवाहीप्रति रुष्ट बन्दै स्मरण गराए । सरकार ऐक कानूनको रक्षक हुनपर्नेमा भक्षक बनेकोप्रति आक्रोश पोखे ।

नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत नेताहरुलाई सम्मानित अदालतले छाडेपनि सरकारले राजनीतिक प्रतिशोधमा आएर पटकपटक गिरफ्तार गरेर विधिको शासनको अन्त्य गरेको तिनै जना कानूनी व्यावसायीको साझा मत थियो । कानून नमान्ने श्रृंखला नागरिकसम्मम छिट्टै पुग्ने खतरा बढेको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरुको धारणा छ । शान्तिपूर्ण र खुला राजनीति गर्ने पाउने कानूनको धज्जी उडाउँदै सरकारले नेकपामाथि अघोषित बन्देज लगाएर गम्भीर गल्ती गरेको भनाई उनीहरुले राखे ।

त्यस्तै अधिकारकर्मी सन्तोषी साउदले निर्मलाको बलात्कारी र हत्यारा पत्ता लगाउने काम यो सरकारले गर्न नसक्ने बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलाको शवलाई भिमदत्त नगरपालिका मेयरको घरमा राखेको भने झुठा कुरा गरेर पीडित परिवारलाई मानसिक यातना दिएको भन्दै प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाइन् । साथै उनले दोषी पत्ता नलाग्नुको अपजस प्रधानमन्त्रीमाथि जाने खतरा बढ्दै गइरहेकोतर्फ सचेत गराइन् ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले छोरीको हत्यारा पक्रेर दण्डित नगरेसम्म न्यायाका लागि आफू निरन्तर आवाज उठाइरहने बताइन् । ‘प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षाकर्मीका उच्च अधिकारहरुको ढंग देख्दा न्याय पाउने आश मरेको छ । तर आवाज उठाउन छाडदिनँ’ उनले भनिन् । न्याय दिलाउन सबै पक्षसँग आग्रह समेत गरिन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सहसचिव मोहन विष्टले प्रेस स्वतन्त्रतालाई राज्यले नजरअन्दाज गर्नाले समाचार लेखेकै आधारमा पत्रकारले जेल जानुपर्ने जस्तो दुःखद् घटना भएको बताए । स्वतन्त्र प्रेसविरोधी प्रावधान तत्काल हटाउन र नहटाएमा निर्णायक आन्दोलनमा उत्रने बाहेक पत्रकारसामू अन्य विकल्प नरहेको विष्टको भनाई थियो ।

साथै उनले पूर्ण प्रेस स्वतन्त्रताको लागि जस्तोसुकै मूल्य चुकाउन शाखा तयार रहेको बताउँदै क्रान्तिकारी पत्रकार संगठनले उठाउने अधिकारका संघर्षमा सधै साथमा रहने प्रतिवद्धता व्यक्त गरे । निर्मला हत्याका समाचार स्वतन्त्रपूर्वक लेख्न नदिने सम्भावना बढ्दै गइरहेको प्रति उनले अधिकारकर्मीहरुको ध्यानाकर्षण गराए ।

प्रेस संगठनका धर्मराजले पूर्णप्रेस स्वतन्त्रतालाई निमोठेर सरकारले निरंकुश शासन लाद्न खोजेको बताए । स्वतन्त्रता बचाउका लागि पेशागत सबै संगठन, संस्थाहरु एक ठाउँमा उभिनुपर्ने बताए । प्रेस युनियनका इश्वर बडुले सरकार दुईतिहाईको दम्भ बोकेर नागरिकलाई सही सूचना दिनबाट पत्रकारलाई छेक्ने काममा उद्यत बनेको बताए । प्रेस सेन्टरका राजेन्द्र अवस्थीले सत्ताभित्र र बाहिर रहँदा रंग फेर्ने नेताहरुकै कारण पत्रकारले अनावश्यक यातना र दुःख व्यहोर्नु परिरहेको बताए । पूर्ण प्रेस स्वतन्त्रताको लडाईमा सबैसँग एकतावद्ध भएर लड्न हरदम तयार रहेको धारणा उनले राखे ।

राजपाका जिल्ला अध्यक्ष अम्बा तिवारीले ओली नेतृत्वको सरकारलाई आफ्नै घमण्डले सिध्याउन शुरु गरेको बताएका छन् । ‘यो सरकारले मानवअधिकार र स्वतन्त्र प्रेसमाथि दमन गरिरहेको छ’ तिवारीले भने ‘यसरी राज्य चल्दैन । भत्काएर नयाँ सत्ता ल्याउन सबै एकजुट भएर संघर्षमा जानुको विकल्प छैन ।’

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का जिल्ला सहसेक्रेटरी विष्णु नेपालीले सरकारले पञ्चायत भन्दा तल झरेर नागरिकको मौलिक अधिकारहरुलाई कुण्ठित गर्दै लगेको बताए । ‘यो सरकारसँग नागरिक सन्तुष्ट छैनन् । अब विद्रोह गरेर सत्ता कब्जा गर्ने र जनताले आफ्नै सत्ता चलाउनेबारे योजना ठोस गरेर अगाडि बढ्नुपर्छ’ उनले भने । जनमोर्चाका प्रतिनिधि महेश जोशीले सरकार मुलुकमा शान्ति, सुरक्षा र कानूनको पालनामा चुकेको र निकट भविष्यमै देशमा विद्रोहको आगो सल्किने बताए । ‘ठूला र मिठा सपना बाँड्ने ओली–प्रचण्ड शासन संचालन असफल बनिसकेको उनको भनाई छ ।

नेपाल कम्युनिस्ट पार्टीका महाकाली ब्यूरो सदस्य पुकारले केपी–प्रचण्डले शान्तिपूर्ण राजनीतिक गतिविधिमा दमन र धरपकड चलाएर फासीवादी सत्ता चलाइरहेको बताए । नेता पुकारले खुला र प्रतिस्पर्धात्मक राजनीतिमा आउन सत्तारुढ दलका नेताहरुलाई चुनौति दिए । नेकपाका नेता कार्यकर्तामाथिको दमन र झुठा मुद्दा नरोके जनताको साथ लिएर प्रतिरोधमा आन्दोलन चलाउने चेतावनी समेत उनले दिए । नेकपा सधैं मानवअधिकार र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नामा कुनै कसर बाँकी नराख्ने नेता पुकारले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम संगठनका अध्यक्ष प्रकाश डुम्रको अध्यक्षतामा सम्पन्न भएको थियो । महासचिव हिम विष्ट, सचिव सिर्जना तिम्सिना र कोषाध्यक्ष जानकी चौधरी उपस्थित थिए ।

संगठनले यसै हप्ता कैलालीको धनगढीमा मानवअधिकार र पूर्णप्रेस स्वतन्त्रतामाथि केन्द्रित ‘बृहत् अन्तरक्रिया कार्यक्रम’ गर्दैछ । असोज २ गते दाङमा बसेको संगठनको केन्द्रीय समितिको पहिलो बैठकले देशका सामरिक महत्वका स्थानहरुमा उक्त कार्यक्रम आयोजना गरेर जनजागरण फैलाउने निर्णय लिएको थियो ।

शनि, अशोज ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया