क्रान्तिकारी पत्रकार र मानवअधिकार टोलीद्वारा निर्मलाकी आमासँग भेट (तस्बिर हेर्नुहोस्)


६ असोज, कञ्चनपुर ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भिमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको परिवारसँग आज क्रान्तिकारी पत्रकार संगठनको पदाधिकारी र मानवअधिकारको टोलीले संयुक्त रुपमा भेट गरेको छ ।

क्रान्तिकारी पत्रकारको टोली देशव्यापी ‘बृहत् अन्तरक्रिया कार्यक्रम’को सिलसिलामा शनिबार कञ्चनपुर पुगेको हो । संगठनले आजै कञ्चनपुरमा विशेष अन्तरक्रिया कार्यक्रम गर्दैछ । पत्रकार टोलीबाट अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट, सचिव सिर्जना तिम्सिना र कोषाध्यक्ष जानकी चौधरीले भेट गरेका छन् ।

भेटमा क्रममा पन्तकी आमा दुर्गादेवी पन्तले राज्यबाट न्याय पाउने आश मरेको बताइन् । उनले ओली सरकारले मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई नक्कली अभियुक्त बनाएर वास्तबिक बलात्कारीलाई जोगाएको भन्दै सरकारको चर्को आलोचना गरिन् । सरकारले नक्कली बलात्कारी र हत्यारा खडा गरेर हत्यापछि पनि मेरी छोरीमाथि अन्याय गर्यो । यो पीडा कहाँ गएर पोखुँ’ आमा दुर्गादेवीले भनिन् ‘यो देशमा न्याय मरिसकेको छ । अब के हुन्छ थाहा छैन ।’ उनी छोरी निर्मलाको लागि न्यायको पर्खाईमा छिन् ।

काठमाडौं पुगेर प्रधानमन्त्री, गृहमन्त्री र मन्त्रीहरुलाई भेटेको तर आश्वसनबाहेक केही नपाएको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेयरको घरमा छोरीको लाश राखेको’ जस्तो गलत अभिब्यक्ति दिएर न्यायलाई कुल्चिने काम गरेको भन्दै दुःख व्यक्त गरिन् । केन्द्रदेखि स्थानीयसम्म प्रहरी प्रशासनले पनि सोही तरिकाले व्यवहार गरेको बताउँदै सरकारको व्यवहारले मुलुकभित्र छोरीहरुको अस्मिता जोगिनेमा आफूलाई विश्वास नभएको बताइन् ।

छोरीको बलात्कारी र हत्यारा पत्ता नलागेसम्म न्यायका लागि हरपल लागिरहने उनको दृढता छ । ‘के छोरीचेलीको अस्मिता र ज्यानको सुरक्षा दिन के यो सरकारले सक्छ ?’ सरकारलाई उनको प्रश्न छ ।

गएको साउन १० गते छिमेकी रोशनी र बबिता बमको घरमा बिहान ११ बजेतिरको समयमा कक्षाको होमवर्क गर्न भनी गएकी निर्मलाको भोलिपल्ट ११ गते बिहान ८ बजेतिर बमको घरेदेखि केहीपरको उखुबारीमा बलात्कारपछि हत्या गरी फालिएको नग्न अस्वथामा लाश भेटिएको थियो ।

छोरीको हत्यापछि दोषी पत्ता नलाग्नाले उनका आमाबाबु विक्षिप्त अवस्थामा छन् । निर्मलाको हत्यारा पत्ता लगाउन देशभर प्रदर्शन र सरकारमाथि चर्को दबाब दिने क्रम रोकिएको छैन । भेटमा टोलीले दोषी पत्ता लगाउन हरतरहले सक्दो भूमिका निर्वाह गर्ने बतायो ।

तस्बीरः प्रकाश

शनि, अशोज ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया