नेकपाका केन्द्रीय सदस्य खडकालाई अदालत लगिँदै


४ असोज, बुटवल ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खडका ‘असल’लाई आज थुनछेक बहसका लागि जिल्ला अदालत भैरहावा लगिँदैछ ।

बम विष्फोटको अभियोगमा गत भदौ ५ गते काठमाडौं जाँदै गर्दा धादिङको नौबिसेबाट सादा पोशाकका प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि भन्दै अहिले रुपहन्देहीको बुटवलस्थित इलाका प्रहरी कार्यालय गोलपार्कस्थित हिरासतमा राखिएको छ ।

उनलाई गिरफ्तारपछि भदौ ७ गते मात्र बुद्ध एयरबाट बुटवल ल्याइएको थियो । खड्काले सरकारले आफूमाथि राजनीतिक पूर्वाग्रहको आधारमा अभियोग लगाएको बताउँदै अस्वीकार गर्दै आइरहेका छन् । आफूले अहिलेसम्म झुठा अभियोग पत्रमा हस्ताक्षर नगरिएको र आफू निर्दोष रहेको बताएका छन् ।

उनीमाथि बुटवलको एक भारतीय कार्यालय परिसरमा साउन २९ गते बम विष्फोट गरेर क्षति पुर्याएको अभियोग लगाइएको छ । उक्त दिन साउन २२ मा नेकपा प्रवक्ता प्रकाण्डलाई बिनाकारण गिरफ्तार गरेर सरकारले झुठा मुद्दा लगाएको विरोधमा नेकपाले नेपाल बन्दको घोषणा गरेको थियो ।

आजै थुनछेक बहसमा उपस्थितिका लागि जिल्ला अदालत लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
गिरफ्तारपछि आफूलाई प्रहरीले अमानवीय यातना र चरम मानसिक तनाव दिएको बताए । साथै उनले जिम्मेवार पार्टीको जिम्मेवार व्यक्ति भएकोले राजनीतिक व्यवहार गर्न सरकारसँग माग समेत गरे ।

साथै उनले नेकपाका नेता कार्यकर्ताको दमन, हस्तक्षेप र गिरफ्तार तत्काल बन्द गर्न तथा झुठा मुद्दा फिर्ता गर्न पनि सरकारसँग हिरासतभित्रैबाट आग्रह गरेका छन् ।

बिहि, अशोज ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया