प्रचण्ड–बादललाई कालिकोबाट चिठीः चोटामा राखेर लौका र चिचिण्डोमा पिसाब फेराएको बिर्स्यौ ?


खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ कर्णाली अञ्चल कालिकोट जिल्लाको माल्कोट गाविसमा जन्मिएका एक गरिब किसानका छोरा हुन् । त्यतिमात्र होइन प्रकाण्ड राज्यद्वारा अपहेलित र विभेद गरिएका दलित समूदायका सदस्य पनि हुन् ।

आदरणीय दाजु प्रकाण्ड सानैदेखि एक मेहनती, लगनशील र इमान्दार व्यक्ति हुन् । बच्चा उमेरदेखि नै मेहनती र इमान्दार, कर्मठ, उत्तरदायित्व पूरा गर्ने व्यक्ति भएरै गाउँमै अथाक मेहनत र कडा परिश्रम गरेर एसएलसी उत्तिर्ण गरेका थिए ।

मेहनती र लगनशीलताकै कारण उहाँ तत्कालीलन सरकारको स्थायी जागिरे हुनुभएको थियो । तर त्यसबेलाका ठूला भनाउँदा माथिल्लो जाति भनाउँदा (ठकुरी)हरुले राम्रोसँग जागिर पनि खान दिएनन् । अनि गाउँमा ठकुरी भनाउँदाहरुले दलितमाथि त्यतिबेला धेरै प्रकारका हत्या, बलात्कार, छुवाछुत लगायतका जघन्य अपराध श्रृंखला थोपरे ।

दलित समुदायमाथि गरेको अन्याय, अत्याचार, शोषण, दमन, विभेद उहाँलाई पाच्य भएन । सायद पढेलेखेकै हुनाले उहाँले पहिलेदेखि नै दलित तथा समग्र नागरिकमाथि हुने, महिलामाथि हुने अन्यायपूर्ण व्यवहारको कडा प्रतिवाद गर्दै आउनुभयो । त्यस्तो कुरा उहाँले सहन सक्नुभएन ।

-धन्र्‍राज बिश्वकर्मा

 

त्यसपछि आफूलाई निरन्तर परिवर्तनमा लागेर समाज रुपमन्तरणका अभियानमा खटिनुभयो । अभियानमा सरिक भएसँगै स्थायी जागिरलाई निलाञ्जली दिनुभयो । जागरि छाडेर गरिबी, दलित, महिला–बालबालिका र सिंगो देश परिवर्तनको पक्षमा आफूलाई उभ्याउनुभयो । त्यसनिम्ति निरन्तर ंसंघर्षमा होमिनुभयो ।

२०५२ सालमा अहिलेका सत्ता पार्टीका अध्यक्षको नेतृत्वमा १० वर्षे जनयुद्ध हुँदा उसो गर्नुपर्छ, यसो गर्नुपर्छ उनकै निर्देशन (हुकुम)मा निरन्तर संघर्ष गर्दै आउनुभयो । उत्पीडनमा पारिएका जनता, दलित र महिलाको मुक्तिका निम्ति युद्ध भनेर सिकाउने, आदेश दिने प्रचण्ड र बादल आज जनयुद्धका तिनै होनाहार नेता (क्रान्तिकारी) प्रकाण्डलाई हत्कडी लगाउने काम गरिरहेका छन् । प्रतिक्रान्तिका पात्र बनिरहेका छन् ।

जनयुद्धका तिनै प्रचण्ड, बादल, किरण, भट्टराईहरु आज कायरमा रुपारित भएका छन् । यि कायरहरुले यति छिट्टै जनयुद्धका आधार इलाका रोल्पा, रुकुम र विशेष गरेर कालिकोटलाई लात हाने । प्रकाण्ड जन्मिएका जिल्ला कालिकोटबाट जनयुद्धमा ५०० भन्दा बढीले ज्यान अर्पण गरे । घाइते, अपांग, बेपत्ता योद्धाको संख्या कति हो कति । तिनै सहिद र योद्धाले गरेको बलिदान र त्यागकै कारण आज प्रचण्ड, बादल जस्ता कायरहरु यो देशको सत्ताका मालिक भएका छन् ।

म उनीहरुलाई स्मरण गराउन चाहन्छु । हिजो जनयुद्ध शुरु गर्नेबेला रोल्पा, रुकुम, कालिकोट जाँदा तिमीहरुले जनतालाई दिएको आश्वसनलाई सही मानी ज्यान–प्राण दिएका हुन् । त्यतिबेला तिमीहरुलाई टाउकाको मूल्य तोक्ने दुश्मन तत्कालनी सरकारबाट बच्न कालिकोटलाई आधार ईलाका (बेस एरिया) बनाएर बस्यौ । त्यहाँ तिमी बादल, प्रचण्डलगायतका ठूलाठूला नेताहरुलाई जनताको घरमा सुकेको लौका तथा सुकेको चिचिण्डोमा पिसाव गराई पाडमा सुताएको हो कि होइन ? तिमिहरुलाई दुस्मनबाट बचाउन कयौ दिनसम्म घरमा लुकाएर दिसा पिसावका लागि स्थानियले गाँउभरीबाट खोजेर लौका र चिचिन्डो ल्याईदिन्थे र त्यसमै पिसाव गरेर बसिरहन्थ्यौ । अनी आफु बलिदान दिएर भएपनि नेतृत्वलाई बचाउनु पर्छ भनी घाँस कास काट्न जाने बेला रोटी–मकै बोकी कडा मेहनतका साथ सँगसँगै हिँडेका सहकर्मी प्रकाण्डप्रति आज तिमी ‘मालिक’हरु यतिबिघ्न निष्ठुरी भयौ, किन ? तिमीहरु साह्रै बैगुनी भएछौ, रहेछौं हैन ।

हिजो कालिकोटको माल्कोट जहाँ नेकपाका प्रवक्ता जन्मिनु भयो, त्यही ठाउँमा तिमीहरुलाई दुस्मनले लखेटेका बेला महिलाले राईफल खोसेर बचाएको घटना चटक्क बिर्सियौ । जनताले खोसेर बुझाएका राईफलको बोकेर आज तिमीहरु प्रधानमन्त्री, गृहमन्त्री, पैसा (अर्थ)मन्त्री भयौ नि हैन । तिमीहरुलाई त्यस कुर्सीमा पुर्याउन प्रकाण्डको कुनै त्याग, तपस्या र योगदान छैन ? हामीलाई जवाफ चाहिन्छ । कर्णालीका जनताले लगाएका गुण तिमीहरुले चिनेका रहेनछौं । चिन्न सकेनन् त्यसको मूल्य कति हुन्छ भनेर । प्रकाण्डले तिमीहरुको बचाउका लागि जनयुद्धभर गरेको सहयोग र निर्वाह गरेको भूमिकाको बदला आज हत्कडी दियौ । बुझेरै हौला ।

विद्रोह गर्नु जनताको अधिकार हो भन्ने तिमी प्रचण्ड–बादल नै हुन् । अधिकार प्राप्तिका लागि आवश्यक परेमा बन्दुक बोक्नुपर्छ । दुश्मनको राइफाल खोसेर दुश्मनतिरै पड्काउनुपर्छ भन्ने बादलको प्रशिक्षण लिएका धेरै महिलाहरु अझै जीवितै छन् भन्ने कुरा कति हेक्का राखेका छौ ? त्यो प्रशिक्षण कर्णालीमा अझै ताजा छ ।

तिमीहरु कोही प्रधानमन्त्री, कोही गृहमन्त्री भयौ होला । तर कर्णालीका जनताका समस्या र जनयुद्धले देखाएको लक्ष्य ज्युँकाा त्यूँ छन् । देशमा समस्या उस्तै छन् । देशको स्वाधीनता र सार्वभौमसत्ता खतरामै छन् । सबै समस्या हल गर्नुको विकल्प छैन । त्यसकारण देशमा क्रान्ति सम्पन्न गर्नुको पनि विकल्प छैन । यो हामीले बुझेका छौं । कर्णालीका जनताले राम्ररी बुझेका छन् ।

कमिसन, घुसखोरी भ्रष्टचार, बलात्कार जस्ता अपराध दिनप्रतिदिन बढिरहेका विषय तिमीहरुलाई थाहै होला राष्ट्रियता खतरामा परेको छ । यसलाई बचाउन सारा नेपाली एकजुट हुनुपर्छ भन्ने बुझेकै हौला । तर तिम्रो हातमा परेको त्यो राइफलले राष्ट्रियता, स्वाधीनताको रक्षा र जनताको राजनैतिक अधिकारसहितको राज्यसत्ता स्थापना गर्छ भन्नेमा हामीलाई विश्वास लागेको छैन । त्यही भएर कर्णालीका छोराहरु आज क्रान्तिमा छन् । त्यसकारण क्रान्तिको आवाज उठाउने प्रकाण्ड अपराधी होइनन् कि क्रान्ति र परिवर्तनलाई रोक्ने तिमीहरु चाहिं महाअपराधी हौ ।

तिमीहरु कायर र गद्दार भयौ भन्दैमा प्रकाण्ड कायर र स्वार्थी हुन सक्दैनन् । देश र पछाडि पारिएका कर्णालीको दलितको महिलाको अधिकारका निम्ति आफ्ना पाँचओटै भाई जनयुद्धमा परिवर्तका लागि होमिएका थिए । त्यसमध्ये दुई भाई, कोपिला एक बहिनी जनयुद्धमा सहिद भए । तिमीहरुले सहिदको सम्मान गर्न सकेनौ । तैपनि प्रकाण्ड दुई जना भाई र एउटी बहिनी गुमाउनु पीडा बोकेर अधुरो क्रान्ति पुरा गर्न निरन्तर रुपमा राजनीतिक आन्दोलनका लागिरहेका कर्मठ, साहासी र इमान्दार नेता हुन् यो देशका । तिमीहरु जस्ता धोकेबाज र ढाँटुवा होइनन् प्रकाण्ड ।

आज उहाँलाई लगाइएको हत्कडी तुरुन्तै खाली गर बादल ! यो कालिकोटबासीको नम्र आग्रह हो । उहाँ अपराधी होइन, इतिहास बेलैमा बुझे हुन्छ । सम्मानित सर्वोच्च अदालतबाट थुनामुक्त गर्न आदेश दिए लगत्तै गैरन्यायिक तरिकाले तीन÷तीन पटकसम्म कपोल्कल्पित र झुठा आरोप र मुद्दा लगाउँदै प्रकाण्डलाई पक्राउ गर्न आदेश दिन तिमीलाई लाज लाग्दैन ? निर्लज्जा बादल–प्रचण्ड र केपी ओली तिमीहरु लामो समयदेखि अहिलेसम्म भ्रष्ट र दलाल–माफियाका संरक्षक पनि बन्यौ । त्यसो नर्गन र सच्चिएर स्वाभिमानी जनतासँग हातेमालो गर्न सुझाउँदै म खबरदारी गर्न चाहन्छु ।

यो पनि नबिर्सनुु कि हिजो माल्कोटमा महिलाले खोसेर बुझाएको हतियारको बलमा सत्ता र शक्तिको फुर्ति लाउँदैछौ । तिनी महिलाहरुले फूलमाला र अबिरले स्नान गरी घरको पाडमा लुकाएर घरको पाडमै पिसाब गराएर बचाएको गुणको साटो तिमीहरुले प्रकाण्डलाई हत्कडी, यातना र झुठा मुद्दा दियौ । हिसाबकिताब त राम्रैसँग राखेकै होलौ ।

जनताले पनि त्यसको सबै हिसाबकिताब तिमीहरुसँग अवश्य गर्ने भनेरै राखेका छन् । तिम्रा ति काठमाडौंमा भएका सेना, पुलिसले कतिन्जेल तिमीहरुलाई सुख देलान र ! ति भुँडेवाल सीआईडीहरुले कतिन्जेल सुराकी गर्लान् र ! तिम्रा काठमाडौंमा आदारणीय हाम्रा दाजुलाई कब्जा गर्यौ । त्यसमा आफूलाई साहसी र ‘बहादुरी’ ठान्यौ हौला । दलाल पूजीँपतिहरुका बफादारी बन्यौ हौला । खुशीले गद्गद् पनि भयौ हौला । ठीकै छ, तिमीहरुका केकति छन् ? ति तिम्रा कुरा भए । हाम्रो दुर्गम र पहाडका गाउँघरमा कति छौं त्यो हाम्रो कुरा भयो । हामी त कुनै पनिबेला तिमीहरुलाई स्वागत गर्न, अबिर–माला पहिराउन आतुर छौं । त्यसो होइन भनेपनि कुनै अन्य तरिकाबाट स्वागत गर्न हामी तयारीमै छौं । समय मिलाई वा नमिलाई जतिखेर आएपनि आऊ, तर आऊ । तिमीहरुसँग उचित समयमा उचित मूल्यमा सही हिसाबकिताब गर्नेछौं ।

अन्त्यमा इतिहासलाई बुझेर, भविष्यलाई सम्झेर जनप्रिय नेता प्रकाण्डलाई सम्मानपूर्वक रिहा गर्न एकपटक पुनः माग गर्दछु ।

 

सरकारले नेपाल कम्युनिष्ट पार्टीका प्रवत्ता प्रकाण्डलाई पटकपटक गिरफ्तार गरेपछि हिरासतमा राख्दै आएकोबेला कालिकोटबासीले उनको रिहाईको माग गर्दै लेखेको पत्र जस्ताको तस्तै प्रकाशन गरिएको छ । सं

सोम, भदौ १८, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया