प्रकाण्डसँगै गिरफ्तार विमर्शको सनसनीपूर्ण अन्तर्वार्ताः हामीलाई यसरी गर्यो गिरफ्तार


कलिकाेटकाे माल्काेटका हरिचन्द्र अाचार्य ‘विमर्श’ नेपाल कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ता हुन् । उनी नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का सहयोगी साथै चालक समेत हुन् । नेकपा देशमा दलाल संसदीय व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यसहित राजीतिक आन्दोलनमा छन् । त्यसैले उसले वर्तमान संसदीय व्यवस्थाले आयोजना गरेको स्थानीय, प्रदेश र संघीय चुनावमा खारेजी अभियानै चलायो । नेकपाको नेतृत्वमा विगतका १० वर्षे जनयुद्धका एक प्रखर तथा इमान्दार नेता नेत्रविक्रम चन्द ‘विप्लव’ छन् । त्यसैले धेरैले विप्लव नेकपा भनेर समेत चिन्दछन् । त्यस पार्टीमा जनयुद्धकै थुप्रै सक्षम र इमान्दार नेताहरु छन् । प्रचण्डले जनयुद्धको एजेण्डामाथि गद्दार गरेर क्रान्ति र जनतालाई धोका दिएको भन्दै उनीसँग सम्बन्ध विच्छेद गरी २०७३ फागुनमा रोल्पाको थवाङमा आठौं महाधिवेशन गरेयता हालसम्म चार पटक केन्द्रीय समितिको बैठक सम्पन्न गरिसकेको छ । गएको साउनको पहिलो साता सम्पन्न चौथो बैठकले अहिले देशको राष्ट्रिता सर्वा्धिक कमजोर र संकटमा परेको निस्कर्ष निकाल्दै त्यसअनुरुप राजनीतिक र रणनीतिक कार्यक्रम तर्जुमा गरेर चार महिने जनजागरण अभियानमा पार्टी जाने निर्णय लियो । त्यसरी पार्टी कामकै सिलसिलामा प्रवक्ता प्रकाण्डलाई गाडीमा लिएर हेटौंडाबाट काठमाडौँ आइरहेको बेला काठमाडौँको फर्पिङ–बल्खु सडकखण्डअन्तर्गत टौदहनजिक चाल्नाखेलबाट गाडीसहित दुईजना नेताकार्यकर्तासहित प्रकाण्डलाई सादा पोशाकका प्रहरीले गिरफ्तार गर्यो । सोही गिरफ्तारका बेला गाडी चलाउनेमा  आचार्य नै थिए । अर्का एकजना चालक मनबहादुर श्रेष्ठ पनि सँगै थिए । श्रेष्ठ बिरामीका कारण गाडी आचार्यले चलाएका थिए । गिरफ्तारपछि तीनैजनालाई करिब पन्ध्र घण्टासम्म बेपत्ता पारेर भोलिपल्ट साढे ९ बजेतिर मात्र महानगरीय प्रहरी परिसर टेकु पुर्याएर सार्वजनिक गरियो । पछि बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाईमा सर्वोच्च अदालतले भदौ १ गते तीनै जनालाई तत्काल रिहा गर्न आदेश दियो । दुईजना रिहा  भए तर प्रकाण्डलाई अदालतपरिसरबाटै पुन: गिरफ्तार गर्यो । रिहा भएकामध्ये आचार्यसँग गरिएको कुराकानीको मुख्य अंश– संः

० तपाईलाई गिरफ्तार कहिले र कुन समयमा गरियो ?

गएको साउन २२ गते । अन्दाजी बेलुका साढे ७ बजेतिर गिरफ्तार गरेको हो । गिरफ्तार गर्नेहरुले आपूmलाई सीआईबीका मान्छे भन्थे । तिनीहरुले नै हामीलाई नियन्त्रणमा लिएको हो ।

० कहाँबाट कसरी गिरफ्तार परियो ?

काठमाडौँको दक्षिणकाली–बल्खुको बाटोमा टौदह नजिकै (जसलाई चाल्नाखेल भनिँदोरहेछ) बाट गिरफ्तामा परियो । गाडी मैले नै चलाएको थिएँ । गाडीमा पछाडिपट्टि सिटमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुुर विश्वकर्मा ‘प्रकाण्ड’ हुनुहुन्थ्यो । अगाडिपट्टि मेरो छेउको सिटमा चालक मनबहादुर श्रेष्ठ थिए । उनी पनि चालक नै हुन् । हामी हेटौंडामा पार्टीको कायर्मक्रम सिध्याएर पार्टी कामकै सिलसिलामा काठमाडौँ आइरहेका थियौं । बल्खुतर्फ आउँदा फर्पिङपछि भेटिने जंगल कटेर केही वर मात्र आइपुगेका थियौं । हाम्रै गाडीलाई केही मान्छेले ताकेता गरेरै रोके । त्यहाँ करिब ३०–३५ जनाको टोली त्यहाँ बसेको थियो । सबैजना सामान्य (सादा) पोशाक थिए । उनीहरुको जत्था ठूलो थियो । टोलीले गाडी अगाडि बढाउन दिएनन् । पछि बुझ्दा हामीलाई रोक्नकै निम्ति त्यो टोली त्यहाँ तैनाथ रहेछ ।

गाडी रोकेपछि टोलीमा रहेकामध्ये एकजनाले हाम्रो गाडीको नम्बर हेरेर ‘यति नम्बरको गाडी यही हो सर’ भने । तत्कालै अर्काबाट नछाड्न आदेश भयो । त्यसपछि अब चाहिं कब्जामा परियो भन्ने पर्यो । एकजना अर्को आएर मलाई गाडी छेऊ (साइड) लगाउन भने । मैले मानिनँ । तपाईहरुको को हो ? के कारणले गाडी रोक्दै हुनुहुन्छ ? प्रश्न गरेँ । तर, हाम्रो कुरा सुन्ने इच्छै उनीहरुमा देखिएन । साइड लगाइयो । त्यसभन्दा अगाडि थुप्रै गाडी बिना रोकटोक गइरहेका थिए । रोकेका थिएनन् । केही मोटरसाइकललाई चाहिं रोकेर त्यसमा सवार मान्छेका अनुहार नियाल्ने र चेकजाँच गरेको देखेँ । तर हाम्रै गाडीलाई ताकेता गरेर रोक्न हातले इसारा निर्देश नै दिए । त्यतिमात्र होइन, गाडीको अगाडिपट्टि आएरै छेके । बढ्नै दिएनन् ।

त्यसपछि टोली नै गाडी छेक्नतिर लागे । गाडी साइड लगाएँ । सिसा खोल भने । एकजनाले गाडीको चाबी मागे । दिइनँ । हामी प्रहरी हौं चिनिनस् ? कढ्किए, चाबी थुते, त्यसपछि अरुले मोवाइल खोसेर गाडी नै कब्जामा लिए । हामी सबैका मोवाइल लिए । घरमा फोन गर्न खोज्दा पनि दिएनन् ।

० त्यसपछि के भयो विस्तृतमा भन्नुस् त ?

कसैले चाबी दे भनेको भरमा दिने कुरा त आउँदैन । सुरुमा त मैले चाबी दिन मानिनँ । तपाई को हो ? बिनाकारण तपाईलाई चावी किन दिने ? भनेर प्रतिप्रश्न गरेँ । तर उसले ‘पुलिस हौं, बढी बोल्ने होइन, खुरुक्क चाबी दे’ भनेर रुखो बोले । अझै कढ्किएर त्यो मान्छेले ‘बढी बोल्छस्’ भनेर धम्की पो दिन थाले । त्यतिन्जेलसम्म गाडीलाई पूरै घेरिसकेको थियो । अन्ततः मैले चाबी दिएँ । हामी तीनै जनालाई सकडमै घेरा हालेर राखे ।

० त्यसपछि के गरे, कहाँ लगियो ?

उनीहरुले गाडीको चाबी पाएपछि एकजनाले प्रवक्ता प्रकाण्डलाई ‘मन्त्रीज्यू, बाहिर निस्किदिनु प¥यो’ भने । उहाँ गाडीबाट निस्कनुभयो । हामी दुईजना पनि निस्कियौं । गाडी मानबहादुरको हो । हेटौंडा–काठमाडौँको बाटो लामो र साँघुरो भएकोले पालो दिन सँगै आएका थियौं । उनी त्यही राति फर्कने योजना थियो । तर, कुरा भइदियो अर्कै ।

० गाडीबाहेक साथमा के के सामान थियो ?

त्यस्तो सामान केही थिएन । आ–आफ्नो मोवाइल त थियो नै । मसँग एउटा ल्यापटप थियो । त्यो गाडीसँगै लगिहाले । मोवाइल खोसैरै लियो । पर्स पनि लगे । केहीछिन सकडमै गाडीलाई घेरा हालेर राखेका उनीहरुले हामीमाथि मानसिक रुपमा त्रास दिन थाले । के कति कारणले यसो गरिएको हो भनेर सोध्दा ‘चुप बस’ भने । जवाफै दिइएन । सबैले हामीलाई राताराता आँखा तरेर हेर्थे । पूर्णरुपमा कब्जामा परिएछ भन्ने हामीलाई लाग्यो ।

० त्यहाँबाट कता लगियो, याद छ ?

त्यसपछि फर्काएर केहीबेर हिँडाएर नजिकैको प्रहरी चौकीमा पुर्याए । चौकीमा लगेर १५ मिनेट जति राखियो होला । चौकीमा एकदुई जनामा प्रहरी देखिन्थ्यो । हामीलाई लैजाने टोलीकामध्ये केहीले मोवाइलबाट कोहीसँग कुरा गरे । हामीलाई समातेको कुरा रिपोर्टिङ गरेजस्तो लाग्यो । त्यतिबेलासम्म ती मान्छेहरु केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का रहेछन् भन्ने कुरा हामीलाई बढी नै पर्यो । त्यसको ५÷६ मिनेटमै सर (प्रकाण्ड) र मलाई सेतो रंगको गाडी (प्राइभेट कार)मा पछाडिपट्टिको सिटमा राखेर चोभार–बल्खुतर्फ ल्याइयो । सर र मलाई सिटको बिचमा पारेर दुईतर्फी झ्यालमा एकएक जना ती मान्छे बसे । त्यसरी बस्ने क्रममा तिनीहरुले हाम्रो एकापट्टिको पाखुरालाई जोडसँग अठ्याए । घरिघरि कोखा पारेर जोडले धक्का दिन्थे । गहिरोसँग दुखाएर रिस पोख्न खोजेको भान प्रष्ट हुन्थ्यो । त्यसपछि के हुँदैछ भन्ने पनि संकेत थियो त्यो धक्का । हामीसँगैका ति दुवैजनाले केही सामान राखेजस्तो छुट्टाछुट्टै झोला भिरेका थिए ।

० त्यसपछि कहाँ पुर्याइयो ?

त्यसरी चौकीबाट हामीलाई लिएर गाडी बल्खुतर्फ अगाडि बढ्यो । लाग्छ, हिँडेको २५/३० मिटर पार भएपछि नै मलाई मेरैपट्टि झ्यालमा र सरलाई त्यतैपट्टि झ्यालमा बस्नेले झोलाबाट हत्कडी झिकेर दुवै जनालाई हात अगाडिपट्टि पारेर हत्कडी लगाइदिए । त्यसपछि करिब २ किलोमिटर जति गाडी गुडेपछि तिनैले त्यही झोलबाट एकएकवटा कालो चश्मा निकालेर ‘लौ हजुर यो लाउनुपर्यो भन्दै आँखामा त्यो चश्मा लगाइदिए । गाडी ठीकै गतिमा थियो । चश्माका कारण बाहिरका मान्छे नचिनिने भयो । अनि ३–४ किलोमिटर जति दूरी पार गर्दा फेरि त्यही मान्छेले त्यही झोलाबाट ‘लौ हजुर यो पनि लाउनुपर्यो’ भनेर कालो कपडाको बाक्लो पट्टी कालो चश्मामाथि जोडसँग बाँधिदिए । त्यसपछि बाहिरका दृश्य समेत देखिन छाड्यो । ठाउँ चिनिनै नसकिने भयो । सडक बत्तीको उज्यालो र गाडीको हेडलाइट, आवाज र गाडी मोड्ने दिशाले मात्र अनुमान लगाउन सकिन्थ्यो । त्यसरी हामीलाई क्षणभरै अन्धो बनाइयो ।

० त्यसपछि के भयो थाहा छ ?

चौकीबाट सर र मलाई मात्र सँगै ल्याए । मनबहादुरलाई अर्कै गाडीमा चढाएछन् । उनलाई पनि हत्कडी, उस्तै चश्मा र पट्टीमै लिएका रहेछन् । चौकीदेखि हामीलाई बल्खुहुँदै नै ल्याइएको हो । किनकि ओरालो र पिच बाटोभएर ल्याइएको हो । यदि फर्पिङतर्फ लगेको थियो भने उकालो–उकालो भएर जान्छ सडक, त्यस्तो थिएन । केहीबेरमै थुप्रै मोटरसाइकल, गाडीको चर्को आवाज, गाडीको बत्तीको कडा उज्यालो आयो बन्दैजस्तो आँखामा पनि । केहीछिन ट्राफिक जाममा पनि परियो । त्यतिबेला हामीलाई जति गाडीमा राखेर हिँडाइएको त्यो झण्डै ६–७ किलोमिटर जति भएको थियो । आफैं ड्राइभर भएकोले सडकको अवस्था र दुरी सहजै अनुमान हुन्थ्यो ।

० त्यहाँबाट गाडीलाई कता लगियो ?

त्यहाँबाट दाहिने जस्तो लाग्छ, मोडेर गाडीलाई बेगमा कुदायो । त्यसपछि हामी (गाडी)लाई कहाँ लैजान खोज्या हो ? के गर्न लागेको हो ? कारण के हो ? भनेर सरले सोध्नुभो । तर उनीहरु कसैले जवाफ दिएनन् । साउती समेत गरेनन् । अपराधीलाई जसरी किन यस्तो व्यवहार ? भनेर उहाँले प्रतिवाद गर्नुभो । जवाफमा ‘माथिको आदेश हजुर’ मात्र भन्थे । निरीह त उनीहरु पो देखिए । आफुहरुलाई आदेश पालकको दर्जामा मात्र राख्थे । मनबहादुरलाई कहाँ लग्यो पत्तो थिएन । उनलाई हाम्रोबारे पनि त्यही हुँदो हो ।

कहाँ लैजाने ? भन्ने यकिन गन्तव्य त्यो ड्राइभरलाई जानकारी रहनेछ । जबजब मोड, चोक आउँथ्यो गाडीको गति कम हुन्थ्यो र ड्राइभरलाई अर्कैले दायाँ, बायाँ वा सिधा अगाडि बढाउन हात (कहिले पञ्जा त कहिले औंला)ले इसारा गरेको बेलाबेलामा देखिन्थ्यो । उनीहरुको तरिकाको सुक्ष्म अध्ययन गरिरहेँ । मेरो हकमा आँखाले सिधा तलतिर अलिअलि देख्ने अवस्था थियो । बेलाबेलामा मुन्टो घुमाउँदै मिलाएर हेर्ने कोसिस गरिन्थ्यो । हामीले सुन्छन् र ठाउँ थाहा पाउँछन् भनेर होला उनीहरु इसाराको भाषा मात्रै बाल्थे ।

० कति समय घुमाइयो ?

अन्धोजस्तै बनाएर करिब साढे तीन घण्टा जति घुमायो । सुरुदेखि अन्तिमसम्म एउटै गाडीमा राखेर घुमाएको हो । हामीलाई चुपचाप, हलचल गर्नसमेत नदिई बस्न लगाइयो । निरीह बनाउने काम भयो । बिचबिचमा आतंकित र डर देखाउने कोसिस गरे ।

० कहाँ–कहाँ पुर्याए जस्तो लाग्छ ?

काठमाडौँ त्यसमा पनि शहर बजारबाट टाढा लगेनन् भन्ने लाग्छ । पट्टी कालो भए पनि चश्मामाथि परेको हुँदा आँखालाई खेल्ने ठाउँ चाहिं रह्यो । त्यही मौकामा ठाउँ चिन्ने भरपुर कोसिस हुन्थ्यो । त्यो बेला सहिद गेट, न्यूरोड, सिंहदरबारको भद्रकालीपट्टिको सेतो रंगको अग्लो गेट, त्यस्तै सिंरदरबारभित्र पैदल यात्री छिर्ने दक्षिण गेट राम्रैसित चिनिन्थ्यो । त्यहाँ रहेका स्टिलको डण्डीको बार प्रष्टैसँग पहिचान भयो । त्यसकारण सिंहदरबारकै वरपर धेरै समय घुमाए जस्तो लाग्छ । जेहोस् झिलीमिलि क्षेत्र र बजारमै समय बित्यो । चौडा सडक र पिच भएको सडकमै गाडी घुमाइरह्यो । खाल्डाखुल्डी र टाढाको एकान्तको क्षेत्र थिएन त्यो । तैपनि निकै रात परेपछि चाहिं काठमाडौँबाट टाढै खतराजन्य वा एकान्ततिरै पुर्याउन सक्छन् भन्ने आशंका भने मनमा थियो नै । त्यसबीचमा मनमा धेरै कुरा तरंगित भए । थुप्रै कोणबाट सोचियो । संभावित परिघटनाबारे मनमा धेरै कुरा चले ।

० के उसो भए रातैभर घुमाइयो ?

रातैभर त घुमाएनन् । करिब रातको साढे १० बजेतिर हुनुपर्छ, समथर सडककै भएर एउटा ठूला र चौडा गेटबाट भित्र छिराइयो । त्यसरी छिर्दा कसैले गेट खोलेको आवाज आयो । र, गाडी पनि अलिक उक्लिएको जस्तो र फेरि केही ओर्लिएको जस्तो भएर रोकियो । मलाई लाग्छ, त्यो गेट भएको जमिन केही उठेको र गेट कटेपछि जमिनको सतह केही भिरालो थियो । त्यसपछि भित्र प्राङ्गण (कम्पाउण्ड) जस्तोमा गाडी रोकियो । रोकिएपछि हामीलाई दुईतिरका तिनै मान्छेले झ्याल खोलेर बाहिर निकाले । हामी अन्धोजस्तै थियौं । त्यस्तै अवस्थामा निक्ल्यिौं । त्यो कुन ठाउँ र कहाँ भन्ने थाहा पाउने कुरा थिएन । गाडीबाट बाहिर निस्कनेबित्तिकै त्यहीका एकजनाले ‘स्वागत छ कमरेड’ भन्दै मलाई पाखुरामा समातेर केही पाइला अगाडि बढाए । सरलाई त्यहीबाट कता लगे पत्तो भएन । त्यसको ५–६ पाइला अघि बढेपछि जमिनको सतह केही उठेको र लगत्तै भिरालो जस्तोमा ८–१० पाइला जति हात समाएर हिडाए । त्यहाँ खुड्किला थिएनन् । बरु अलिअलि छड्के पारेर हेर्दा गाडीबाट ओरालेर जति हिडायो त्यो कम्पाउण्ड र बाटोमा चाइनिज वा राम्रै इट्टा बिछ्याएको थियो । सिधा तलतिर हेर्दा त्यस्तो देखिन्थ्यो । त्यसपछि जुत्ता खोल्न लगाए । खोलेँ । खोलिसकेपछि मलाई एउटा बन्द कोठाभित्र हुल्यो । त्यसपछि सरलाई कतापट्टि र कहाँ लगे ? कुन अवस्थामा राखे केही पत्तो पाइनँ । थाहा दिने कुरा त्यहाँ छँदैथिएन । तर, त्यो ठाउँ काठमाडौँ उपत्यकाभित्रै हो भन्नेमा चाहिं विश्वस्त छु ।

० त्यसरी कोठाभित्र हुलेपछि के गर्यो ?

ढोका खोलेर मलाई अघि भनेको कोठामा लगेर भुँईमा राख्योे । राखेपछि ‘तँैले बस्ने यस्तैमा हो’ भनेर त्यो मान्छे फर्किए । त्यो त अझै धेरै राम्रो भन्थे । कोठामा एउटा पातलो–पातलो खालको डस्ना ओछ्याइएको थियो । त्यहाँ दुईटा जति गन्हाउने सिरक पनि थियो । डस्नामाथि केही ओछ्याइएको थिएन । कोठा सानो र बहुतै दुर्गन्धित । दुर्गन्धको हिसाबले त्यो कोठा लामो समय प्रयोगमा नल्याएको र ढुसीको गन्ध आउँथ्यो । मलाई त्यही कोठामा बसाएर त्यो मान्छे फर्किए । डस्नामाथि मोजा नखोलेरै बसेँ ।

० त्यस्तैमा रात बित्यो कि ?

रात त बित्यो तर अधिक कष्ट र चरम यातनाका माझ । मलाई त्यहाँ राखेको झण्डै १६ मिनेट जतिपछि दुईजना मान्छे आए । उग्र रुपमा थिए ती । मनमा जे लाग्छ त्यही सोध्न थाले । प्रश्न धेरै केपी, प्रचण्ड र बादलहरुका लागि सोध्याजस्तो लाग्थ्यो । एक जनाले सोध्ने, अर्कोले लेख्ने गरे । सोध्नेले हो मलाई पिटेको र चरम यातना दिएको । पाँच घण्टाभन्दा बढी समयसम्म फरक–फरक टोली आएर सोध्ने र पिट्ने गरे । त्यसअवधिमा चार टोली आएर सोध्ने र यातना दिने काम भयो । यातनाले गर्दा मेरो हालत नाजुक भइसकेको थियो । अगाडिपट्टि पारेर हातमा हत्कडी, आँखामा कालो पट्टी । पिटाईले गर्दा ज्यान पूरै थिलथिलो भइसकेको थियो । आफैंलाई लाग्थ्यो मेरो शरीर उनीहरुको लागि कुनै निर्जिव वस्तु हो ।

० यातना कुन हदसम्म रह्यो ?

यातना उनीहरुले सोधेको जवाफ अर्थात चाहेको कुरा नपाउने बित्तिकै उग्र भई जोडजोडले पिट्थे । म भुँईमा थचक्क बसेको अवस्थामा हुन्थे । चोट सहन नसकेर बेलाबेला ढल्न पुग्थेँ । ढल्दासमेत उठाउन ढलेकै ठाउँमा बुट र लाठ्ठीले पिट्थे । यातनाको कुनै सीमा थिएन । धेरै चाहिं लाठ्ठी र कडा पाइपले पिटे । उनीहरुको इच्छाअनुसार शरीरको अंग, भाग छानेर हिर्काउँथे । कहिले बसिरहेको ठाउँबाट दुईटै खुट्टा सिधा त कहिले पालैसित उचाल्न लगाएर लठ्ठी र पाइपले जोडजोडले धेरैबेर पिटे । जोर्नी खुस्काउने कोसिस बढी हुन्थ्यो ।

चोटका कारण पैदल र हात, गोडाको जोर्नीमा गम्भीर समस्या देखिएको छ । टेक्न नि सजिलै सकिँदैन । धेरै पटक पालोपालो बुटले कोखा, ढाड र पाखुरा प्रहार गरे । बुटले पाखुरा खुस्केला जस्तरी हिर्काउँथे । दायाँ पाखुरा राम्ररी अझै चलाउन सकिरहेको छैन । पैदलको त कुरै नगरौं । यातनामा घरिघरि कन्सिरी र तालुको कपाल बल लगाएर तान्थे, लुछ्थे । बसिरहेकै अवस्थामा चार–चार पटक दुईटै कानमा हात (पञ्जा)ले जोडसित हिर्काए । बुटले ढाड र पाखुरा, कोखामा धेरै पटक प्रहार गरे । कानमा हिर्काएका चोटका कारण चार–पाँच मिनेटसम्म उनीहरु सोधेको, बोलेको केही पनि सुनिँदैथ्यो । यो बेला पनि किन चुप बस्छस् भन्दै चुट्थे । त्यो बेला चक्कर लागेर वाकवाक लाग्ने र ढल्न पुगेँ । आँखा पूर्णरुपमा टालिएको हुँदा कहाँबाट केले र कसरी हान्दैछन् ? भन्ने संकेत पाउन्नथ्यो । निर्जिव जस्तो । त्यो क्रम हरेक टोलीले दोहोर्यायो ।

० करेन्ट पनि लगाए ?

करेन्ट चाहिँ लगाएनन् । मुख खोलिनस् भने सिस्नुपानी र करेन्ट लगाउने धम्की दिन्थे । तर, दुई खुट्टा तेस्र्याउन लगाएर अन्दाजी अढाई फुट लामो फलामको मोटो डण्डी (जीआई पाइप हुनुपर्छ) घुँडादेखि पैदल, पैदलदेखि घुँडामाथिसम्म डण्डीको दुई कुनामा बुटले थिचेर अगाडिपछाडि गुडाउँथे । रोटीझैं बेल्थे । कहिले डण्डीको दुई कुनालाई पालैसित टेकेर अगाडिपछाडि जम गर्थे । त्यो क्षणको पीडा कल्पनै गर्न सक्दिनँ । संसारमा यस्तो पीडा सायद मानवीयता मरिसकेको बेला मात्र दिइन्छ । तर केपी–प्रचण्ड र बादलहरुको शासनमा मानवीयता मरिसकेको थियो । समाजवाद उन्मुख शासनमा राजनीतिकर्मी नागरिकले अमानवीय र क्रुर यातना भोग्न विवश भएँ । जनयुद्धका नेतृत्व र सहकर्मीबाटै क्रुर यातना भोगियो । बिडम्बना भयो । यो संसदीय व्यवस्थाको ‘लोकतन्त्र’को यस्तो नमूना सबैले थाहा पाइराख्नु जरुरी छ ।

अनि बल लगाएर पालैसित कान बटार्ने, कपाल तानेको पीडा पनि सहन गर्न सक्ने खालको थिएन । बिचमा मलाई पिसाब लाग्यो । पिसाब गराउन लगे । मलाई पिसाब गर्न गाह्रो हुने, समय लाग्ने समस्या छ । नजिकै ट्वाइलेटमा प्रयाए । त्यसबेला समय लाग्यो । तर, लैजाने बुझेछन् कि समय छल्न यसले नाटक गर्यो । पिटाई टार्न स्वाङ गर्यो । त्यसपछि त जोडसित पछाडिपट्टि बुटले हान्यो । हात बाँधिएको अन्धोजस्तै म, जोडले अगाडिपट्टि हुत्तिएर घोप्टोबाट लड्न पुगेँ । लड्दा ट्वाइलेटको प्यानमा अनुहार नराम्ररी ठोक्कियो, नाक काटियो, रगत बग्यो, छात्तीमा पनि चोट लाग्यो । त्यो उठेको प्यान (कमोड) थिएन । उठ्ने कोसिस गरेँ तर हात बाँधिएकोले उठ्न सकिनँ । पछि उसैले पछाडिपट्टि कपडामा समातेर लछारपछार गरेर उठायो । पहिलेकै ठाउँमा ल्याएर राखे । पुनः प्रश्न सोधियो । यातना पनि दोहोरियो । मसँग असम्बन्धित प्रश्न सोधेकाले बढी समय लाग्यो जस्तो लाग्छ । यातना पनि बढी त्यसैले हो । जवाफ नपाउँदाको झोकमा धेरै पिटे ।

० त्यसपछि के भयो ?

त्यसपछि अर्को टोली आयो । आउनेबित्तिकै उग्र भएर प्रश्न सोध्थे । प्रश्नको जवाफ मिल्दैनथ्यो, अझै खरो रुपमा प्रस्तुत हुन्थे । झम्टिने र आक्रमण गरिहाल्थे । त्यो टोलीले पनि सोध्दै पिट्दै गर्यो । सरलाई कहाँ कुन अवस्था के गरिँदैछ भन्ने केही भेऊ पाइन्नथ्यो । त्यो बेला चाहिं ‘ए बुढा यताबाट जा’ भन्दै अगाडितिरबाट मनबहादुरलाई पनि पिसाब गराउन ट्वाइलेट लगेको र ल्याएको थाहा पाएँ । त्यहाँबाट उनी पनि यतै रहेछन् भन्ने थाहा भयो । अरु बेलाको आवाज केही सुनिएन ।

मलाई भने टोलीले ‘सोधेको कुरा केही भन्दैनस् भने करेन्ट र सिस्नुपानी लगाउनुपर्छ’ भने । छेवैमा प्लाष्टिकको बाल्टीमा पानी ल्याएर राखे । आंतककारीलाई बाँकी राख्नु हुँदैन भन्थे । जीवित फर्काउनु हुँदैन भन्थे । उनीहरुको तरिका भरपुर मात्रामा डर देखाएर हतोत्साहित र आतंकित तुल्याउने काम हुँदोरहेछ । सँगसँगै शारीरिक र मानसिक यातना उत्तिकै । यातना अवधिभर पानी समेत दिइएन ।

० यातना कति समयजति चल्यो ?

करिब बिहान साढे ३ बजेतिर मात्र यातना रोकियो । करिब पाँच घण्टा जति चल्यो । अन्तिममा अढाई बजेतिर आएको टोलीले भने अर्को रुपबाट प्रस्तुत भयो । त्यसले बढीजसो राजनीतिक, सामाजिक, नैतिक कोणबाट प्रश्न गर्ने, कुराकानी गर्याजस्तो गरे । फरक–फरक टोलीले भिन्नभिन्न मनोविज्ञानबाट केरकार गर्थ्यो ।

अन्तिमको टोलीमा आउनले त ‘तपाईहरु जस्तो क्रान्तिकारीसँग भेट्दा गौरव लाग्छ, खुशीको कुरा हो’ भन्थे । प्रश्न पनि त्यस्तै त्यस्तै खालका हुन्थे । ‘तपाईका नेता विप्लवको विचार, भनाई र राजनीति त हामीलाई मन पर्छ । त्यस्ता मान्छे देशमा चाहिया छ नि, तर के गर्नु सर आपूm त जागिरे परियो । माथिबाट आदेश जे आउँछ त्यही गर्नै हो’ भन्थे । उनीहरुमा माथि अर्थात सरकार (गृह मन्त्रालय)मा बस्नेहरुले जे गर भन्छन्, अह्राउँछन् त्यही गर्ने पात्र हुँ भन्ने भाव सजिलै बुझिन्थ्यो । उनीहरुसँग निरीह भएर माथिको आदेशपालना गर्नुबाहेक विकल्पै छैन भन्ने प्रष्ट झल्किन्थ्यो ।

बिहान ४ बजेतिर मात्र यातना दिन बन्द भयो । त्यसपछि डेढ घण्टाजति बसेकै ठाउँमा ढलेछु । अलिकबेर निदाएछु पनि । सुतेकै अवस्थाबाट याद गरेँ । त्यो कोठाको माथिपट्टि सिलिङ ढलान गरिएको पक्की थियो । वरिपरि वाल (गारो) भित्ता प्लाष्टर गरिएको र रंग उडेर मधुरो भइसकेको अवस्थामा थियो ।

बिहान ६ बजेतिर होला, एक जना आएर ‘ए आतंककारी मर्यो कि जिउँदै छस् उठ’ भने । मुश्किलले उठेँ । चिसो पानी र गोलकारको एक पुरिया बिस्कुट ल्याएर छिटो ‘खा’ भनेर दिए । चिसोको सट्टा तातो पानी दिन भनेँ । खाने कुरामा शंका लाग्यो । खाने बेला हत्कडी र कालो पट्टी खोल्दिन आग्रह गरेँ तर मानेनन् । अघिल्लो दिन दिउँसो देउराली डाँडामा खाएको चिया बाहेक पेटमा केही परेको थिएन । भोक लागेकोले हत्कडी र कालो पट्टीकै तातो पानीसँग बिस्कुट खाएँ । मनबहादुरलाई पनि त्यसै गरेछन् । सरले भने हत्कडी र कालो पट्टीमै नखाने अडान राखेका कारण पट्टी चाहिं खोलिदिएछन् । त्यो कुरा पछि भेटमा थाहा भयो ।

० प्रश्न चाहिं के के सोधिन्थ्यो ?

सोधाई मुख्यगरी पार्टीका नेतृत्व र मुख्यमुख्य नेताबारे नै बढी हुन्थ्यो । जस्तो ठूला नेताहरु (नामै लिएर) काठमाडौँ कहाँ बस्छन् ? के गर्छन् ? के कस्कोमा खान्छन् ? ल्याउने लैजाने कसले गर्छ ? केमा आउने जाने गर्छन् ? आवतजावत गर्दा कुन रुट प्रयोग गर्छन् ? कहाँ कहाँ हान्ने योजना छ ? जस्ता प्रश्नहरु धेरै गरे । म एकजना सामान्य कार्यकर्तालाई नेताका सबै कुरा थाहा हुने कुरै थिएन । प्रश्नको जवाफ मसँग हुँदैनथे, त्यसपछि आगो बनेर चुट्न सुरु हुन्थ्यो ।

धेरै प्रश्न महासचिव विप्लवबारे सोधेर दिक्क लगाउँथे । विप्लवलाई यतिखेर कहाँ भेटिन्छ ? कहाँ छन् ? सम्पर्क नम्बर कति हो ? कुन सेट, कस्तो सेट प्रयोग गर्छन् ? उनीसँग कति जना हुन्छन् ? कसरी बस्छन् ? कस्तो पोशाक लगाउँछन् ? के खान्छन् ? कुन बेला हिड्छन् ? जस्ता कुरा सोध्यासोध्यै गर्थे । मलाई केही थाहा हुन्नथ्यो । कसरी भनुँ । थाहा छैन भनेँ । थाहा थिएन पनि । थाहा नहुनाले नै यातना अति भोगियो ।

० यस्तो किन भयो जस्तो लाग्छ ?

यो राज्यको हतास र भयको परिणाम हो भन्ने लाग्छ । जनतासँग डर थिएन भने नेकपाले जित्दै गएको जनताको साथ समर्थनप्रति यतिबिघ्न आतंकित र आत्तिनु पर्ने कारण किन सरकारलाई ? जनतालाई खुसी, सुखी र अधिकार सम्पन्न बनाइदिएर शासन गरिरहेको देशमा विद्रोह र संघर्ष चल्ने कुरा आउँदैन ।

सरकार आफैंले बनाएको कानून, आफैंले दिएको अधिकार खोस्ने, राज्यको ढुकुटीमा सरकारमा बस्ने मान्छेहरु, कर्मचारी, कथित निर्वा्चित जनप्रतिनिधि, तिनका आसेपासे–आफन्तहरुले लुट मच्चाउने, नदी–नाला, जमिन विदेशीलाई दलाललाई बेचेर पैसा खाने अनि त्यसविरुद्ध जनचेतना फैलाउने, भण्डाफोर गर्दै शान्तिपूर्ण राजनीति गर्दै हिँडिरहेको नेकपाका नेता कार्यकर्तामाथि दमन, गिरफ्तार, यातना, झुठा मुद्दा लगाएर ठीक पार्छु भन्ने सरकारको मानसिकताको परिणाम हुन् यी सबै ।

यहाँ एकाध पात्र वा मेरो व्यक्तिगत कुरा होइन । यहाँ त राज्यले अपनाउने शासन पद्धतिको कुरा हो । पूर्ण अधिकारसँग सम्बन्धित विषयको कुरा हो । अहिलेको शासन पद्धतिसँग दलाल, बिचौलिया, भ्रष्ट र राष्ट्रघातीबाहेक कुन चाहिं नागरिक सन्तुष्ट छन् ? देखाउनुस् । के यो सरकारले देखाउन सक्छ ? त्यसैले यातना त जनयुद्धकालमा पनि हिरासतको कुरा छोडौं सेनाको ब्यारेक–ब्यारेकमा चलाएका होइनन् ? तैपनि राजतन्त्र गयो । बचाउन सकेनन् त ।

० राज्यले गिरफ्तार नेता, कार्यकर्ताबाट वास्तवमा के चाहन्छ भन्ने केही छनक पाउनुभयो ?

सही प्रश्न । राज्य विद्रोहीसँगबाट असल सूचना प्राप्त गरेर विद्रोह र त्यसका नेतृत्वमाथि हमला गर्ने र क्रान्तिलाई सिध्याउने योजना पूरा गराउन चाहन्छ । म जस्तो सामान्य कार्यकर्ताले सजिलोसँग बुझ्ने विषय हो । त्यसमा गिरफ्तारी परेकामाथि दुईतीन रणनीति अपनाइएको पाइयो । उनीहरुमाथि एकथरि सूचना लिन अति उग्रस्तरबाट प्रस्तुत हुने धम्क्याउने, ज्यान लिनेसम्मको डर, त्रास देखाउने अनि त्यही स्तरको शारीरिक र मानसिक यातना दिने । मानवीयतालाई मेटाएर अघि बढ्ने ।

अर्कोथरि घरी नरम, घरी उग्र बनेर प्रस्तुत हुने र त्यही अनुपातमा यातना दिने । बढीजसो दमन गर्ने, पार्टी नीति र नेता (नेतृत्व)लाई होच्याउने र बद्नाम गराउने रणनीति लिएको पाइयो । कतिपय बेला निकट वा मित्रवत् व्यवहार देखाएर फकाउने र सूचना लिने कोसिस पनि गरे ।

अर्को रणनीति भनेको साह्रै नरम रुपमा प्रस्तुत हुने, अति मिल्ने साथी सरहको व्यवहारमा झर्ने । त्यसमा उग्र भाव कति हुँदैन । मानौं ऊ चाहिं प्रतिक्रियावादी शक्तिको आदेशपालक भइकन पनि विद्रोही पार्टीको विचार, नीति, कार्यक्रम, राजनीतिलाई मनभित्रैदेखि मन पराउने, उस्तै परे सरकारकै विरोधमा उभिने अभियानका पात्र हुन्छन् । सायद यही रणनीतिअन्तर्गत ‘तपाईहरु जस्तो क्रान्तिकारी, परिवर्तनकारीसँग भेट हुँदा गौरव लाग्छ’ भनेका थिए । यसै रणनीतिमा प्रलोभन पनि पर्छ । जागिरे बनाइदिने आश्वासन दिन्छन् ।
यी सबै रणनीतिमा सफल नहुने भएपछि म यो सरकारको चरम यातनाको शिकार बन्न म पनि विवश भएँ । निर्दोष नागरिकलाई यातना दिनेलाई दण्डित नगरेसम्म समृद्ध र सभ्य समाजको कल्पना बाहिरको विषय हो भन्ने कुरा यो घटनाले पुष्टि गर्छ । दुईदुई पटक मन्त्री भइसकेका व्यक्तित्व प्रवक्ता प्रकाण्डलाई हत्कडी र कालो पट्टीमै खानेकुरा खाना लगाउने, चार घण्टासम्म अप्ठ्यारो ठाउँमा राखेर एकनासले बसाएर चरम यातना दिने, आफैंविरुद्ध बोल्न बाध्य पार्ने विधि पनि कही ‘लोकतन्त्र’ हुन्छ ? समाजवाद उन्मुख व्यवस्थामा हुन्छ ? वाहियात कुरा हो यो । यसलाई नष्ट गर्नुको विकल्प छैन ।

० त्यहाँबाट फिर्ता आइन्छ जस्तो लाग्याथ्यो ?

अन्तिमसम्म पनि त्यो चाहिं लाग्थ्यो । किनभने अति नै गरे शरीरको केही अंग ड्यामेज (अंगभंग) गर्ला भन्ने लाग्थ्यो । कुनै न कुनै रुपले अपांग बनाउन सक्छन् भन्ने चाहिं सोचिन्थ्यो । तर अर्कोतर्फ देशभक्त र राष्ट्रवादी शक्तिसँग खराब राज्य व्यवस्था र त्यहाँ बसेर लुटेर खाने मान्छेहरुको केही सीप लाग्दैन भन्ने पनि लागिरहेकै थियो । उनीहरु एकदिन पराजय भएरै छाड्नेछन् ।

० त्यसरी यातना दिने ठाउँ कहाँ जस्तो लाग्छ ?

त्यो यातना गृह एयरपोर्ट वरिपरि हो जस्तो लाग्छ । किनकि त्यो ठाउँ (कोठा)बाट रातैभर प्लेन (हवाईजाहज) स्टार्ट भएको, उडेको र अवतरणको आवाज सजिलै सुनिन्थ्यो । उनीहरु यातनाको शृंखला चलाइरहँदा पनि मलाई त्यति कुरा चाहिं राम्ररी याद छ । अर्को कुरा, हामीलाई सिंहदरबार, सहिद गेट झिलीमिली क्षेत्र घुमाएर राति साढे १० बजेतिर त्यो ठाउँ (कोठा)मा लगिएको हो । त्यो कोठा लामो समय प्रयोग नहुने र यस्तै बेपत्ता र चरम यातना (उग्र) व्यवहार गर्नामा प्रयोग गर्नेजस्तो देखियो । त्यो ठाउँ कुनै प्रहरी हिरासत वा चौकी थियो भने मानिसको चहलपहल, आवाज वा रातको समयमा पनि केही न केहीको आवाज आउँथ्यो होला । त्यो केही पनि पाइनँ । त्यहाँ धेरै मान्छे थिए, तैपनि सुनिने गरी आपसमा कुरा गर्दैनथे ।

प्लेनको आवाज चाहिं प्रष्टसँग नजिकैजस्तो सुनिन्थ्यो । यसरी हेर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक हुनुपर्छ त्यो ठाउँ । मलाई राखेको कोठादेखि उतापट्टि चाहिं किचेन (भान्सा) जस्तो पनि, भाँडाकुडा पखाल्ने स्पेस जस्तो लाग्थ्यो । आवाज सुन्दा त्यो हो भन्ने अनुमान गर्न सकिन्थ्यो । बेलाबेलामा त्यहाँ पानीको धारा खोलेको र बन्द गरेकोजस्तो लाग्थ्यो । त्यसबाहेक उनीहरु आवातजावतको मात्र सुनिन्थ्यो । म भएको त्यो कोठामा झ्याल थिएन । सिर्फ एउटा ढोका, त्यो पनि सानो साइजको । बिहानीमा त्यो कोठामा उज्यालो आयो । त्यही एक गिलास चिसो पानी र एक पुरिया बिस्कुट (गोलाकारको) ल्याएर दियो । पछि तातो पानी मगाएर हत्कडी र पट्टीमै त्यहीबसेर खाएँ । खाने बेला भित्तापट्टि फर्कन लगायो । खाइसकेपछि जुत्ता लगाउन भने । त्यहाँबाट हत्कडी र पट्टीमै झण्डै २० पाइला हिँडाएर प्राङगणबाट गाडी चढाए । गाडीको कलर खुट्याउन सकिनँ । मलाई चढाएको केही छिनमै एकजनालाई मसँगै चढाए । उनी मनबहादुर नै रहेछन् ।

त्यसरी चढाएपछि बढीमा पौने घण्टाजति त्यो गाडी गुडेपछि सडकबाट ओरालो झरेपछि रोकियो । त्यसपछि हामी दुवै जनालाई गाडीबाट ओराल्यो । केही कदम हिँडाएपछि एकापट्टि फर्कन लगाएर आदेशात्मक भावमा सिधा अगाडि मात्र हेर्न भने । त्यो बेला पछाडिबाट हाम्रो आँखामा पट्टी खोलिदिए । त्यसपछि सिधै फलामको ढोका खोलेर भित्र छिराइयो । बल्ल थाहा भो त्यो ठाउँ कालिमाटी प्रहरी चौकीको हिरासत रहेछ । त्यहाँ हामीलाई सिधा अगाडि मात्र हेर्न भन्नुको कारण पट्टी खोल्ने मान्छे नचिनुन् भन्ने रहेछ ।

० त्यहाँबाट कहाँ लगियो ?

त्यसरी भित्र राखेको आधा घण्टा जतिपछि दुवैजनालाई बाहिर निकाले । हत्कडी त पहिल्यै थियो । त्यसपछि उनीहरु (चौकी) गाडीमा चढाएर दुवै जनालाई घेराभित्र राखेर टेकु प्रहरीमा ल्याए । त्यसबेला पट्टी चाहिं बाँधेको थिएन । टेकु ल्याइपुर्याउँदा बिहानको साढे नौ बजेको थियो । सरलाई हामीभन्दा पहिल्यै त्यहाँ (टेकु) पुर्याइसकेका थिए । राति छुटेदेखि उहाँसँग बल्ल त्यही भेट भएको हो । त्यहाँदेखि हामी तीनैजना सँगै भयौं । हामीबीच कुराकानी भयो । सरलाई पनि रातभर भोकै राखिएको रहेछ । चार–चार घण्टासम्म उहाँलाई अप्ठ्यारो ठाउँमा हत्कडी र आँखामा पट्टीमै बसाइएको बुझियो । प्रतिवाद गरेपछि मात्र उहाँलाई पट्टी मात्र खोलिदिएर हत्कडीमै बिस्कुट र पानी खान लगाएका रहेछन् ।

बिहान रातकै समयमा सरलाई उहाँको डेरा (सुकेधारा)मा लगेर सीआईबीकै टोलीले कोठा तलासी लिएछन् । त्यो बेला सर बाहिर गाडीमै बस्नुभएछ । टोलीले भित्र लैजान खोज्या त थियो रे । बाहिरबाट ल्याएर मलाई भित्र जानु छैन भनेर भनेपछि टोलीका केही मान्छे कोठामा पसेर मालसामन छरपष्ट पार्दै सुतिरहेका अन्य सदस्यहरुलाई आतंकित पार्ने र धम्क्याउने काम गरेछन् । तर, बाहिर गाडीमा सरलाई ल्याएको कुरा कसैले थाहा पाउनै पाएनछन् । लुकाइएको विषय थाहा पाउन सकिने कुरा पनि थिएन ।

यसबाट राज्यको चरित्र नागरिकलाई बेपत्ता पार्ने र गाउँसमाजलाई नै आतंकित तुल्याएर फासीवादी शासन चलाइराख्ने नै देखिन्छ । जसको शिकार म पनि भएँ । अझ कतिलाई बनाउने हुन् ? नेकपाले राजनीति र पूर्ण अधिकारको लागि लिइरहेको पहलकदमीबाट राज्य कतिसम्मन हतोत्साहित र आतंकित छ भन्ने सजिलै बुझ्न सकिन्छ । यसकारण मन्त्री भइसकेका, संविधान ड्राफ्ट गर्दाका बेला सभासद् भइसकेका व्यक्तिलाई सरकारले गर्ने व्यवहार यस्तो नीच स्तरको हुँदैन । गिरफ्तारपछि इन्काउन्टरको धम्की दिने मिल्छ ? नागरिकको अवस्थालाई अज्ञात बनाउन मिल्छ ? अँह, मिल्दैन । त्यसकारण अहिलेको राज्यसत्ता उनीहरुले नै भन्दै आएका ‘लोकतान्त्रिक’ छैन । क्रुर, अमानवीय र जंगली–फासीवादी छ । इमान्दार र राष्ट्रवादी शक्ति र नागरिक यसले चिन्दैन । संरक्षणको कुरै छोडौं । सरकार शाहीकालमा झैं अपहरण र बेपत्ता पारेर समाजमा आतंक फैलाउन उद्यत छ भन्ने यस घटनाबाट पुष्टि भएको छ । यस्तो घटना त अफगान, इराकतिर उग्रवादीहरुले गर्ने गरेको समाचारहरुमा सुनिन्थ्यो । अखबारहरुमा पढिन्थ्यो । तर यहाँ त पूर्वमन्त्रीनै अतिवादको शिकार बने । देशभित्रै भोगियो । सायद केपी–पिकेको समाजवादोन्मुख शासनको लक्षण हो यो । यसले उसैलाई खान्छ ।

० तपाईमाथि आरोप चाहिं के थियो ?

आरोपको कुरा गरेर के साध्य लाग्छ यहाँ । कुनै आरोप यस्तो थियो कि सपनामा देखिँदैन । कल्पना त कुरै छोड्नुस् । म कालिकोटको मान्छे । त्यही भएर होला, माथिल्लो (अप्पर) कर्णली जलविद्युत आयोजना स्थलमा बम हानेको, आयोजनाको ठेकेदार भारतीय कम्पनी जीएमआरको क्षेत्रीय कार्यालय सुर्खेतमा बम हानेर आगजनी गरेको जस्ता आधारहीन र कपोलकल्पित अभियोग लगाउन खोजे, प्रश्न गरे । जीएमआर कम्पनीले त्यहाँ सरकारलाई समेत झुक्याएर विद्युत उत्पादनमा राष्ट्र र जनतालाई ठूलो नोक्सान पुर्याउने सम्झौता गरेको कुरा सरकारकै प्रतिवेदनले बोलेको छ, स्थानीयले बोलेका छन्, नेकपाले भनिरहनु पर्दैन । त्यसो भएको हुँदा स्थानीयले आफ्नै देशको लगानीमा निर्माण गरिनुपर्छ भन्ने सुरुदेखि नै विरोध गरिरहेको घटना कसलाई थाहा छैन होला र । अनि त्यसको अपजस ममाथि थोपर्न मिल्छ ? हुने कुरा हो र यो ? त्यसकारण ती सबै आरोप मैले अस्वीकार गरेँ । यस्तो बेला हुन्थ्यो बढी यातना दिने काम । तैपनि अडान छोडिनँ । बढीभन्दा बढी दबाब अभियुक्तलाई आफंैविरुद्ध बोल्न लगाउने कोसिस राज्यबाट हुँदो रहेछ । जुन उनीहरुकै कानूनविरुद्ध छ । यातनाको तरिका यतिसम्मन कि निजी जीवनसँगै खेलवाड गर्ने किसिमबाट दिइन्थ्यो । जस्तो ‘अहिलेसम्म बिहे किन नगरेको ? अब खेर जाने भइस् के गर्छस् ? अन्तिम इच्छा के छ ? आमालाई भेट्ने इच्छा थियो होला, के गर्नु‘ ? अनि निकृष्ट शब्दमा गालीगालौज ।

त्यस्तै शारीरिक यातनामा घरी पालो त घरी एकैपटक घुँडा र र तीघ्रामाथि चढेर बुटले कुल्चने, हिर्काउने, दुवै गोडा तेस्र्याउन लगाएर पैदललाई मात्र दायाँबायाँ पल्टाएर बुटले किच्ने, लठ्ठीले जोडजोडले प्रहार गर्ने, त्यो खासमा जोर्नीको भागलाई खुस्काउने कोसिस गरे । त्यसबाट ठूलो घाउचोट नदेखिने तर अंगभंग (अपांग) हुनेगरी चलाखीपूर्ण गहिरो यातना दिँदा रहेछन् । केही भइहाल्यो भने बाहिर गएर पत्रकारसम्मेलन गरेर भण्डाफोर गरियो भने जागिर जाने, दण्डित हुनुपर्ने डर पनि अलिअलि देखिन्थ्यो । तर, पाखुरा, मुन्टो बटारिदिने जस्ता क्रुर यातना दिन्थे । सायद राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा मानवअधिकार हनन र युद्ध अपराधीबाट जोगिन यस्तो विधि अपनाएको देखिन्छ । बेलाबेलामा यस्तो यातना दिएको कुरा बाहिर गएर भनिस् भने‘‘ पनि भन्थे । चोटका कारण दुइटै खुट्टा र पाखुराका जोर्नीमा समस्या देखिएको छ । राम्ररी चलाउन समेत सकिरहेको छैन, उपचारमै छु ।

० टेकु परिसरमा पुर्याएपछि पनि यातना दिए ?

त्यहाँ पुर्याएपछि यातना रोकियो । त्यहाँ सर पनि हामीसँगै हुनुभएकोले होला । तीनैजनाको अभियोग पनि एउटै थियो । त्यसरी टेकु पुगेपछि साढे १० बजेतिर सामान्य दालभात खाना दियो । खायौं । अघिल्लो दिन दिउँसो कालो चियाबाहेक बिहानको पानी र बिस्कुट मात्र हो खान पाएको । हामी पुगेपछि त्यहाँका हिरासतमा भएका धेरै बन्दीहरुमाझ् हल्लीखल्ली नै भयो । धेरैले सरलाई चिन्दा रहेछन्, हात मिलायौं, धेरैसँग अभिवादन साटासाट भयो । त्यसपछि मध्यान्ह १२ बजेतिर अनसन्धानका लागि भन्दै म्याद थपको लागि काठमाडौँ जिल्ला अदालत लगियो । अदालतमा हामीलाई चन्दा अभियोगमा गिरफ्तार गरेको भन्दै प्रमाणको रुपमा हाम्रो साथबाट बरामद गरेको भनेर प्रहरीले आफ्नै पाइन्टको गोजीबाट एकाएक पार्टीकै नामको चन्दा रसिद एउटा सिङ्गै प्याड निकालेर न्यायाधीशलाई दियो । यो देखेर हामी छक्क पर्यौं । सरले त्यसको त्यही प्रतिवाद गर्नुभयो । त्यो कुरा न्यायाधीशले बुझे होलान् ।

त्यसपछि टेकु फर्काउने क्रममा केही छिन अदालतबाहिर सरले गिरफ्तारबारे र पार्टीको धारणा मिडियामा बोल्नुभयो । क्षणभरै विषय अन्तर्रा्ष्ट्रियकरण भयो । त्यहाँबाट जनता र मिडिया, मानवअधिकारवादीहरुले हाम्रो बारेमा राम्रोसँग बुझ्ने मौका पाए । भोलिपल्ट बयानका लागि भन्दै काठमाडौँ जिल्लाको सरकारी वकिलको कार्यालयमा लगियो । दुई दिनमा तीन जनाको बयान सकियो । त्यो बेला चन्दा अभियोगमा नेकपाका लोकेन्द्र दर्नाल ‘प्रमेश’लाई पनि बयानका क्रममा सँगै भेट भयो । उनलाई ललितपुरको सानेपाबाट साउन २६ मा गिरफ्तार गरेको रहेछ । उनलाई पनि चरम यातना दिइएको पाएँ । उनलाई उपचार समेत गराइएको थिएन । उनले त्यो गुनासो न्यायाधीश सामु राखे ।

हामीलाई चाहिं न्यायाधीशको आदेशपछि वीर अस्पतालमा लगेर सामान्य उपचार गराइयो । हामीसँगबाट लगेको सामान भनेको तीनैजनाको आ–आफ्नो मोवाइल, मेरो ल्यापटाप, पर्स (वालेट) र गाडी मात्र हो । तर, अदालतमा ‘चन्दा रसिद’को कुरा पो ल्यायो । कस्तो उदेक लाग्दो स्थिति । बयानमा पनि उल्टोपाल्टो साधेर हैरानी खेलाउने प्रयास भयो । तर, हामीले आफ्नो कुरा राख्यौं । बरु सरकारले कब्जा गरेको मेरो मोवाइल, ल्यापटाप, पर्स (वालेट) अहिलेसम्म दिएको छैन ।

० सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको कुरा थाहा पाउनु भएको थियो ?

इमान्दार र देशभक्त जनताले गरेका इमान्दार र सकारात्मक कदम थियो त्यो । त्यो कुरा बयान चलिरहेकै बेला हामी तीनैजनाको हकमा सरको छोरा नरेन्द्र विकले गिरफ्तार गैरकानूनी र गैरन्यायिक तरिकाले थुनामा राखेको भनेर रिहाईको मागसहित सर्वोच्च रिट दर्ता गरेछन् । पछि त्यही रिटमाथि हाम्रो पक्षबाट झण्डै तीन दर्जन विद्वान् वकिलहरुले बहस गरे । बहसपछि भदौ १ गते सर्वोच्चले गिरफ्तार र थुनामा राख्नुपर्ने सरकारको दाबी नपुग्ने देखेर रिहा गर्न आदेश दियो । हामी रिहा भयौं । म र मनबहादुर त्यही दिन साँझ ६ बजेतिर रिहा (थुनामुक्त) भयौं । तर सरलाई षड्यन्त्रपूर्वक स्वतन्त्र न्यायालय र मानवअधिकारको सामान्य मर्मसमेत ख्याल नराखी त्यसलाई कुल्चँदै त्यही राति ९ बजेर १० मिनेट जाँदा सर्वोच्च अदालत परिसरबाट राष्ट्रिय मानवअधिकार आयोगको गाडीबाट जबर्जस्त गिरफ्तार गर्यो । सरकारको त्यो हर्कत साहै्र तुच्छ र भत्र्सनायोग्य छ ।

काभ्रेमा अर्को ‘मुद्दा’ परेको निहुँमा गिरफ्तारलगत्तै राति नै काभ्रे सदरमुकामम धुलिखेल पुर्याइयो । त्यो गिरफ्तारविरुद्ध फेरि भदौ ३ गते बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दर्ता भयो । उक्त रिटमाथिको बहसपछि सर्वोच्चले रिहा गर्न भदौ ७ मा आदेश दियो । फेरि पनि नुवाकोट प्रहरीमा ‘मुद्दा’ परेको बहानामा अदालत परिसरबाटै गिरफ्तार गरेर सरलाई अहिले नुवाकोट विदुरस्थित जिप्रका हिरासतमा राखिएको छ । त्यसविरुद्ध पनि रिट परेको छ । सुनुवाई त बाँकी छ । उहाँबाट थुनामै राख्नुपर्ने अपराधिक गतिविधि भएजस्तो लाग्दैन । छिट्टै उहाँ स्वतन्त्र हुनुहुने विश्वास सबैमा छ । तैपनि उहाँमाथि सरकारले प्रतिशोधपूर्ण तरिकाले झुठा मुद्दाहरु लगाउने प्रयास गरिरहेको छ । धेरै जिल्लामा अभियोग लगाउँदैछन् भन्ने सुनिन्छ ।

० सरकारको व्यवहार हेर्दा कस्तो जस्तो लाग्यो ?

यो सरकार र सरकारले एउटा शान्तिपूर्ण राजनीति गर्ने नागरिकसँग व्यवहार र रवैया पञ्चायतीभन्दा पनि खराब छ । राणाकालीन व्यवस्थामा धेरै हुकुमी शासन चल्थ्यो र विरोधीहरुलाई झुठा आरोपका शिकार बनाइन्थ्यो भन्ने पढ्या शून्या विषय थियो । तर, अहिलेको ‘गणतन्त्र’मा प्रशासन र सत्ताको स्वाद लिएर बस्नेहरुबाट गर्ने व्यवहार त्योभन्दा फरक छैन, पाइनँ । विरोधीहरुलाई अहिले पनि भौतिक रुपमै सिध्याउने योजना यो सरकरसँग छ भन्नेमा दुई मत छैन । राजनीतिक प्रतिस्पर्धा गर्न सरकार तयार छैन । निरंकुश र फासीवादी शासन चलाउने योजनाबाट बढिरहेको छ । सरकार कम्युनिस्ट वा दलीय प्रतिस्पर्धाको भए पनि शासन प्रणाली र शासकहरुको चरित्र फासीवादी र दमनकारी छ । जनताले अधिकारको कुरा गर्नासाथ दमन र बन्दुक अगाडि तेस्र्याइहाल्छ । आफैँले बनाएको कानून मान्दैन । कर्मचारी र प्रशासनका उच्च अधिकारीहरु त झनै उग्र र अमानवीय छन् भन्दा पनि फरक पर्दैन । अर्थात शासक र प्रशासक वैज्ञानिक समाजवादको कुरा छाडौं, समाजवादकै विरुद्धमा छन् ।

कानूनमा नागरिकलाई गिरफ्तार गर्नु पहिले अभियोगपत्र थमाएर मात्र रिगफ्तार गर्ने अख्तियारी सुरक्षाकर्मीलाई दिइएको छ । तर, यहाँ उल्लंघन भइरहेको छ । सरकार आलोचना सुन्न चाहँदैन । आलोचक पक्षलाई गिरफ्तार गरेर सकेसम्म बेपत्ता पार्ने वा इन्काउन्टर गर्ने तहसम्मको हर्कत अपनाउन सक्छ अब यो सरकारले । नियन्त्रणमा लिइसकेपछि अभियुक्तलाई यातना त के आपूmविरुद्ध बोल्न लगाउन नमिल्ने कानून छ । यो मानवअधिकार घोषणापत्र र संविधानले गरेको व्यवस्था हो । नपत्याए यसबारे सूचना हरेक जिल्ला सरकारी वकिलको कार्यालय परिसरमा गएर सूचना हेरे हुन्छ । विश्व मानवअधिकार घोषणापत्र हेरे पुग्छ । सरकारले यो विधिलाई ठाडो कुल्चने काम गरेको छ । नागरिकमाथि पशुलाई गर्ने व्यवहार गरिराखेको छ ।

० यी सब के कारणले गर्दा भयो जस्तो लाग्छ ?

यी सबै मुठ्ठीभर दलाल पूँजीवादी र नियम–कानून केही पनि नमान्ने फासीवादी सरकार भएको कारणले हो । भ्रष्ट शासक र देश बेच्ने नेता जन्माउने दलाल संसदीय व्यवस्था कायम भएकैले हो यो । जनयुद्धले यस्तो राज्य व्यवस्थाको कल्पना गरेको थिएन । तर, नेतृत्वले गद्दार गरेपछाडिको परिणाम आज देशभक्त र परिवर्तनकामी नेपालीहरुले भोगिरहेका छन् । लाखौं युवा खाडी मुलुकहरु श्रम बेच्न भौँतारिरहेका छन् । यो जनयुद्धले कल्पना गरेको विषय थिएन ।

त्यसकारण नेकपाको कुरा भनेको यो चौतर्फी रुपले खराब दलाल व्यवस्थालाई क्रान्तिमार्फत् खरानी पारेर त्यसमाथि वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्नुपर्छ भन्ने रहेको छ । त्यसै निम्ति अगाडि जाने बाटोको रुपमा एकीकृत जनक्रान्ति देशमा चलिरहेको छ । हामी त्यसैको महाअभियानमा छौं । अभियान सफल नभएसम्म निरन्तर चल्छ । सफल नहुँदासम्म केही न केही रुपबाट प्रतिक्रियावादी दलाल राज्यबाट दुःख पाउने त भइनै हाल्यो । त्यो पनि राम्ररी बुझेका छौं ।

० सफल हुन्छ जस्तो लाग्छ ?

सफलताको समय सीमा फासीवादी सरकारको रवैया र व्यवहारमा भर पर्ने कुरा हो । उसले जति मात्रामा क्रान्ति र जनताको आन्दोलनमाथि दमन गर्छ त्यही अनुपातमा जनताको सत्ता निकट वा टाढा छ भन्ने देखाउँछ । अहिलेको सरकारको चरित्र र फासीवादी व्यवहारले परिवर्तन टाढा देखिँदैन । पार्टीका दर्जनौं नेता कार्यकर्ता अहिले जेल, हिरासत र यातनामै छन् । उनीहरुमाथि अमानवीय व्यवहार कायमै छ । अधिकार र न्यायको माग गर्दा सरकार टाउको र छातीमा गोली दाग्छ । दिनदाहाडै निर्दोष नागरिकको निर्मम हत्या गर्छ यो सरकार । बालात्कार र महिला हिंसाका घटना रोक्न सरकार असफल भएको छ । कहाँको क्रान्ति रोक्न सक्ने कुरा ? शासकको त्यही दमन, हत्या र अत्याचार देखेरै संसदीय फोहोरी शासन व्यवस्था भत्काएर जनताको राज्यसत्ता स्थापना गराउन विगतमा १० वर्ष जनयुद्ध चलेको थियो । त्यसैको बलमा अढाई सय वर्ष लामो सामन्ती राजतन्त्र समाप्त हुन पुग्यो ।

तर बिडम्वना, त्यो जनयुद्धका नेतृत्व प्रचण्ड र बादलहरु क्रान्तिलाई बीच बाटोमै अलपत्र छाडेर त्यही संसदीय फोहोरी खेलमा चुर्लुम्म डुब्न पुगे । क्षणिक स्वार्थ र पैसामा फसे । जनता अलपत्रमा छन् । त्यसैले अलपत्रमा पारिएको जनता, एजेण्डा र क्रान्तिलाई पूरा गर्न एकीकृत जनक्रान्तिमार्फत क्रान्ति र परिवर्तनको झण्डा उठाएका हौं । जसको नेतृत्व नेकपाले गरिराखेको छ ।

अहिले देशमा दलाल संसदीय व्यवस्थाका पक्षपाती र वैज्ञानिक समाजवादी व्यवस्थाका पक्षधरबीच भीषण संघर्ष चलिरहेको अवस्था हो । संघर्षमा सरकारबाट दमन, गिरफ्तार र झुठा अभियोगमा जेल पर्नु अस्वभाविक होइन । तर, शासक–प्रशासकबाट दमन र हस्तक्षेप नरोकेको खण्डमा अधिकार प्राप्तिको लागि जनता प्रतिरोध संघर्ष चलाउन बाध्य हुन्छन् र त्यो बेला शासक वर्ग कहाँ पुग्छन् इतिहासले बताउने विषय हो । तर, मेरो कुरा के मात्र हो भने, सरकारले कम्तीमा आफैंले बनाएको नियम कानूनको पालना गरिदिए हुन्थ्यो । नागरिकको राजनीतिक अधिकारमाथि बन्देज नलगाए हुन्थ्यो । विश्व मानवअधिकारको घोषणापत्र पढिदिए हुन्थ्यो भन्ने हो । ‘लोकतान्त्रिक’ चरित्र मात्र देखाइदिए पुग्थ्यो ।

आइत, भदौ १७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया